त्रिवि नेतृत्वमाथि चुनौतीका चाङ



मुलुकको सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालयको रूपमा चिनिएको भित्रुवन विश्वविद्यालयले नयाँ नेतृत्व पाएको छ। नयाँ नेतृत्वको आगमनसँगै नेतृत्वमाथि चुनौतीको चाङ थपिएको छ। १९ औं उपकुलपतिको रूपमा आउनुभएका डा. धर्मकान्त बास्कोटामाथि उपकुलपतिको साख जोगाउन हम्मेहम्मे पर्ने अवस्था देखिएको छ।

राजनीतिक अखडाको रूपमा विकसित हुँदै गएको त्रिविले मुलुकका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने हो तर त्यसबाट विमुख हुँदै गएको देखिन्छ। राजनीतिक नेता तथा विद्यार्थीको राजनीतिका कारण जरजर बन्दै गएको त्रिविलाई पुरानै अवस्थामा फिर्ता ल्याउन डा. बास्कोटालाई हम्मे पर्ने देखिन्छ।

लामो समयदेखि त्रिविअन्तर्गतका विभिन्न संकायका डिन, सहायक डिन र क्याम्पस प्रमुखहरू नियुक्त हुन सकेका छैनन्। हरेक क्षेत्रमा विज्ञ व्यक्तिभन्दा पनि राजनीतिक नेतृत्वले चेपेका व्यक्तिलाई ती पदमा विराजमान गराउनुपर्ने भएकाले उपकुलपति बास्कोटालाई राजनीतिक भागवण्डा गरेर ती निकायमा प्रमुख तोक्नुपर्ने पहिलो बाध्यता रहेको छ।

उहाँले पदबहाली गरेकै दिन त्रिविलाई राजनीति गर्ने थलोबाट परिवर्तन गर्ने घोषणा गरे पनि कार्यान्वयनमा भने चुनौतीका अजंगका भारी देखिएका छन्।

त्रिविमा स्थायी जागिर भएका कतिपय प्राध्यापकहरू त्रिविमा एक पिरियड पठाउने र बाँकी समय दलका नेताको आडमा निजी कलेजमा समय बिताउने प्रचलनलाई अन्त्य गर्न उहांँमाथि ठूलो चुनौती देखिएको छ।

त्रिविसँग आबद्ध प्राध्यापक, कर्मचारी इमानदार नहुँदा संस्थाको साख गिर्दै गएकाले उनीहरूलाई इमानदारीको बाटोमा ल्याउन उपकुलपति बास्कोटामाथि ठूलो चुनौती थपिएको छ।

एउटा स्वायत्त निकायको रूपमा रहेको त्रिवि आफैंमा सक्षम हुन नसक्नु र सधैँ सरकारको नै मुख ताक्नुपर्ने अवस्था अत्यका लागि उपकुलपति बास्कोटाका लागि अर्को एउटा ठूलो चुनौती अगाडि देखिएको छ।

लामो समयसम्म त्रिविले शुल्क बढाउन सकेको छैन। शुल्क बढाउन नपाउँदा उसले सरकारको मुख ताक्नुपर्ने र नेताले जे भन्यो त्यही मान्नुपर्ने अवस्था अन्त्यका लागि उपकुलपति बास्कोटा जोडदाररूपमा अगाडि बढ्नुको विकल्प देखिँदैन।

उहाँले यी तमाम समस्यासँग जुट्दै त्रिविलाई साँच्चिकै भरपर्दो शैक्षिक संस्थाको रूपमा विकास गर्न अग्रसर हुनुपर्ने देखिन्छ। होइन भने उहाँ पनि यसअघि नियुक्त भएका उपकुलपतिले जस्तै फोटो झुन्ड्याउने र आफ्नो कार्यकाल पूरा गरेर जानेबाहेक अन्य केही देखिँदैन।

केही गरौं भन्ने भावना बोकेर हिँड्नुभएका उपकुलपति बास्कोटाले दलका नेतालाई ‘कन्भिस’ गरेर त्रिविको खस्कँदो साखलाई जोगाउँदै विश्व शैक्षिक क्षेत्रमा त्रिविको छुट्टै पहिचान छ भन्ने मान्यतालाई निरन्तरता दिनुपर्ने देखिन्छ।

त्यसो गर्न सके मात्रै उहाँको कार्यकाल नेपालको शैक्षिक इतिहासमा स्वर्णकालको रूपमा भविष्यपर्यन्त रहनेछ। होइन भने उहाँ पनि एउटा दलको कार्यकर्ताभन्दा फरक देखिनुहुने छैन। यसतर्फ उपकुलपतिको ध्यान जान जरुरी छ।

प्रतिक्रिया दिनुहोस्