खोलालाई मुद्दा हालेर आउँदै घामड शेरे



गत कात्तिक ८ गतेका लागि रिलिज डेट तोकिएको फिल्म घामड शेरे आगामी शुक्रबार मात्र रिलिजमा आउने भएको छ। मल्टिप्लेक्स हलले थोरै सोज दिएका कारण या फिल्म आगामी शुक्रबार मात्र रिलिज गर्न लागिएको हो।

हेमराज बिसीको निर्माण एवं निर्देशन रहेको फिल्ममा अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेतृ स्वस्तिमा खड्का साली–भिनाजुको भूमिकामा छन्। यसमा निश्चल घामड पात्रका रूपमा प्रस्तुत भएका छन्।

उनी कतिसम्म घामड पात्र भएर देखिएका छन् भने खोलालाई समेत मुद्दा हाल्न पुग्छन्। फिल्मको रिलिज डेट सरेपछि यसको निर्माण समूहले फिल्मको ट्रेलरलाई समेत फरबदल गरी फेरि सार्वजनिक गरेको छ। ‘हामीले हाम्रो फिल्मबाट जति आशा गरेका थियौं।

सोज संख्याले त्यो परिपूर्ति नगर्ने देखियो। अनि मिहेनत खेर जाने देखेर पछाडि सरेको हौं।’ हालै राजधानीमा आयोजित पत्रकार भेटघाटमा यसका निर्देशक हेमराज बिसीले प्रस्ट पारे।

आफ्नो फिल्मलाई कम सोजमा सीमित गरेपछि आक्रोशमा आएका अभिनेता निश्चल बस्नेतले आफू समस्यामा पर्दा आफैंले आवाज उठाउनुपर्ने बताए।

‘यस्तो मैले पहिले नै भोगेको छु। त्यसैले अहिले अलि कम बोल्न थालेको छु। यहाँ एक्लैले आवाज उठाएर केही हुँदैन। र, आवाज पनि स्वयंले मात्र उठाउनुपर्छ।’ –उनले बताए। यसअघि उनले सोजको विषयमा आक्रोश पोख्दै फेसबुकमा स्ट्याटस लेखेका थिए– ‘अनुरोध।

कृपया मेरो अगाडि चैं नेपाली फिल्मको प्रगतिका लागि हामी काम गरिरहेछौं भन्ने शब्द चैं अहिलेका डिस्ट्रिब्युटर, हलवाला साहुहरूले र मसँग राम्रो चिनजान भएका केही चलचित्रकर्मीले नगर्नु होला।

मेबी वीह्याभ फेल्ड द मुभी इभन बिफोर इट्स रिलिज। उहाँहरूको नजरमा यो फिल्म के रैछ, स्पष्ट भयो। इट्स टाइम आई सिरियस्ली थिंक हाउ आई रिलिज माई मुभी इन फ्युचर।’

पत्रकार भेटघाटमा भने उनले भने– ‘यहाँ हामी एक–एक जनाले भन्दा पनि निर्माता संघले आवाज उठाउनुपर्ने हो। उसले एक्सन लिनलाई हामीले उजुरी गर्नैपर्छ। यतिकै देखेर केही गर्दैन संघले।

त्यसैले आफूलाई पर्दा आफैंले मात्र बोल्नुपर्ने अवस्था सिर्जना भएको छ।’ भेटघाटमा अभिनेतृ स्वस्तिमा खड्काले घामड शेरेलाई लिएर आफू उत्साहित रहेको बताइन्।

 

प्रतिक्रिया दिनुहोस्