श्रीमानको घाँटी रेटि र श्रीमतीको टाउकोमा प्रहार गरी हत्या



मोतीराम तिमल्सिना, काभ्रे ।
नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा एक दम्पतीको निर्मम र अमानविय तरिकाबाट हत्या भएको छ । सोमबार राति ८ बजेसम्म स्थानीयसँग कुरा गरी सुतेको उक्त परिवार मंगलबार विहान ढिलोसम्म नउठेपछि स्थानीयले हत्या भएको आंशका गरी प्रहरीलाई खवर गरेका थिए ।

नमोबुद्ध नगरपालिका वडा नम्वर ८ घर भई सामान्य किराना, चिया र घरेलु मदिरा समेत विक्री गर्दै आएका अन्दाजी ५५ बर्सिय श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी अन्दाजी ५० बर्सिया रुकुमाया श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिनु भयो । एक छोरा र एक छोरी रहेका श्रेष्ठ दम्पती मात्रै गाउँमा बस्दै आएका थिए ।

छोरा र बुहारी तिहारका लागि घरमा आएको केहि दिन अघि मात्रै काठमाडौ फर्किएका थिए । उक्त क्षेत्रमा हाल विद्यालयको पुर्ननिर्माण र सडक निर्माण कार्य भईरहेको छ । उक्त कार्यका लागि ठेकेदारहरुले विभिन्न क्षेत्रबाट काम गर्ने कामदारहरु ल्याएका छन् । उक्त पसलमा स्थानीय स्तरमै उत्पादन हुने गाँजा समेत सहज रुपमा उपलब्ध हुने गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । घरेलु रक्सि र गाँजाको सेवन पसलमै हुने गरेको अध्ययनले देखाएको प्रहरीले जानकारी दिएको छ ।

‘घटनास्थलमा श्रेष्ठ दम्पतीको निर्ममतापुर्वक हत्या गरिएको भेटियो’–प्रहरी प्रमुख एसपी सापकोटाले भन्नुभयो–‘घरको भित्ताभरी रगतको छिटा, श्रीमानको घाँटी रेटिएको र श्रीमतीको टाउकोमा प्रहार गरी हातका औला समेत काटिएको रहेछ ।’ घटनास्थल वरपर सुर्तिको धुलो, विएरका सिसीका फुटको टुक्राहरु लगायतका सामाग्री फेला परेका छन् । हत्या पश्चात सिरकले छोपेर हत्याराहरु फरार भएको देखिएको छ ।

रक्सि पिएर राखिएका दुईवटा गिलास र अन्य सामानहरु पनि प्रहरीले बरामद गरेको छ । हत्याराले हत्या पश्चात पनि नगद र महत्वपूर्ण अन्य सामानहरुको खोजी गरेको देखिन्छ । प्रहरीले अनुसन्धानका लागि केहि ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । दम्पती दुवैको शब पोस्टमार्टमका लागि शिर मेमोरियल अस्पताल बनेपामा ल्याईएको छ । श्रीमती रुकुमाया स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट महिला वडा सदस्यमा उठेर पराजित भएकी थिईन् ।

प्रहरीले अनुसन्धानका लागि काठमाडौबाट दुईवटा कुकुर समेत झिकाएको थियो । गत वर्ष विजया दशमीको दिन नमोबुद्ध नगरपालिकाकै कानपुरमा एक्लै बस्दै आएका एक जना बृद्धको त्यस्तै अमानविय तरिकाबाट हत्या भएको थियो । उक्त हत्यामा संलग्नको अझै पहिचान हुन सकेको छैन । अवसर र रोजारका लागि सन्तान शहर वा बैदेशिक रोजगारीमा जाने र ग्रामिण भेगमा अभिभावक एक्लै बस्दै आएको अवस्थामा थोरै नगद र सुनका लागि अपराध हुने क्रम बढ्न थालेको छ । गाउँ रित्तो भएसँगै अपराध फस्टाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्