त्यो नाम, यो नाम



दरबारका ज्ञानेन्द्र सर्वसाधारणसरह घरबासमा सरेको १३ वर्ष पुगिसक्यो। नागार्जुन र निर्मल निवासमा खुम्चिएसी उनको जयजयकार गर्नेहरू पनि घट्या छन्। पुत्र पारससमेत सोमरस र अन्य काण्डमा मुछिएसी दरबारका यी चर्चित पात्रको ओज घट्या छ।

राज खानदानका बाउछोराको चर्चा घट्दैमा के भो र, झनै चर्चामा छन् जनताका छोरा पारस र ज्ञानेन्द्र। दरबारका पारसले घरबार बिगारेको चर्चा भइराख्या बेला क्रिकेटका पारसले मुलुकको शान र मान उँचो बनाएर गद्दी (कप्तानी) त्याग्या छन्। ज्ञानेन्द्रलाई गद्दी सुम्पिएका छन्।

गद्दी त्यागेका पारस र गद्दी सम्हालेका ज्ञानेन्द्रले खेलप्रेमीबाट हाईहाई बटुली राख्या बेला पूर्वयुवराज पारसचाहिँ कता हाईहाई काट्दै छन् कुन्नि? जे होस् यो मुलुकमा पारस र ज्ञानेन्द्र नामको खडेरी नपर्ने भो। धरहरा चाहन्छ– नेपाली क्रिकेटको अवस्था दरबारजस्तो लथालिंग नहोस् अनि क्रिकेटका पारस र ज्ञानेन्द्रको घरबार युवराज पारसको जस्तो नहोस्।

प्रतिक्रिया दिनुहोस्