प्रधानमन्त्रीको स्वास्थ्य ः चर्चा र चासो



विनोद नेपाल

लामो समयदेखि स्वास्थ्य समस्या झेल्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य केही समययता कमजोर भएको छ। सो कुरा उनको गत भदौ महिनामा सिंगापुरमा भएको उपचारबाटै प्रस्ट हुन्छ। दुईपटक सिंगापुर पुगी फर्किएयता उनी पहिलेको जस्तो सक्रिय छैनन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई लिएर विभिन्न किसिमका टीकाटिप्पणी र अनुमानहरू भइरहेका छन्। सरकार प्रमुखको स्वास्थ्यप्रतिको चासो र चर्चा अस्वाभाविक पनि होइन।

छिन्–छिन्मा चिकित्सको सहायता चाहिने, छिन्–छिन्मा अस्पताल धाउनुपर्ने व्यक्तिले मुलुकको सत्ता सम्हाल्ने अवस्था विकल्पहीन परिस्थितिमा स्वीकार्य हुन सक्दो हो तर नेकपाको आफ्नो प्रस्ट बुहमत भएको र त्यसमा देश र दललाई नेतृत्व दिन सक्षम ‘एक से एक’ नेता भएकाले पनि प्रधानमन्त्री ओलीले अब पनि सत्तामा जबर्जस्ती बसिरहनु उचित छैन।

हालै मात्र आकस्मिक जस्तै ढंगले उनलाई राजधानीको ग्रान्डी अस्पतालमा भर्ना गरिएपछि उनको स्वास्थ्यमा जटिल समस्या देखा परेको हो कि भन्ने अड्कल काटिएको हो। यसपछि विभिन्न किसिमका चर्चा भए। कारण थियो प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे समयमै सही सूचना उपलब्ध नगराइनु वा सूचना लुकाउन खोजिनु।

बालुवाटारले त प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारेको जनचासो रहने र सो विषयमा समयमै जानकारी गराउनुपर्ने कर्तव्य ठानेन। गजब त के भयो भने, सम्बन्धित चिकित्सकहरूले समेत यसलाई लुकाउन खोजेको जस्तो पनि देखियो।

व्यक्तिको गोपनीयतासँग जोडेर अस्पतालका निर्देशकले दिएको जानकारीले यही संकेत गर्दथ्यो। जबकि आफ्ना प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी पाउने हक हरेक नागरिकलाई छ। कारण उनी एकातिर सरकार प्रमुख र अर्कोतिर जनताले तिरेको करबाटै सबै सुविधा लिने र उपचार खर्चसम्म व्यहोरिने व्यक्ति हुन्।दुई दिन लगातार डायलासिस गराएपछि प्रधानमन्त्री बालुवाटार फर्काइएका हुन्।

त्यहाँ पुगे पनि उनलाई विश्रामको आवश्यकता रहेको चिकित्सकहरूको भनाइ थियो। आकस्मिक रूपमा जटिल समस्या उत्पन्न हुन सक्ने भएकाले प्रधानमन्त्री निवासमै आवश्यक चिकित्सकीय प्रबन्ध मिलाउने कि भन्नेसम्मको कुरा पनि उठेको बताइन्छ। तर उनै ओलीले अस्पतालबाट फर्केपछि ‘स्वास्थ्यमा गम्भीर अवस्था उत्पन्न भएर आफू सिकिस्त बिरामी नभएको’ बताए।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १६ कात्तिकमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै स्वास्थ्यमा केही समस्या देखा परेकाले चिकित्सकहरूले थप परीक्षण र अनुसन्धान गरिरहेको जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वास्थ्यको विषयमा अध्यक्षले बैठकमा जानकारी गराएको स्पष्ट गरे।

उनले प्रधानमन्त्रीको स्वास्थ्यमा गम्भीर अवस्था नभए पनि केही समस्या देखा परकोले चिकित्सकहरूले परीक्षण र अनुसन्धान गरिरहेको बताए। प्रधानमन्त्रीको स्वास्थ्यबारे रिपोर्ट आएपछि चिकित्सकको सल्लाहअनुसार उपचारको प्रक्रियाबारे आवश्यक निर्णय हुने पनि बताए। प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अहिले सामान्य रहेको पनि बताएका थिए।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण भएको थियो। गत भदौमा सिंगापुरमा प्लाज्माफेरेसिस प्रक्रियामार्फत रगतमा रहेको एन्टिबडी निष्कासन गरिएको थियो। अहिले उनको स्वास्थ्यमा समस्या देखिएपछि ग्रान्डी अस्पतालमा दुईपटक डायलासिस गरिएको हो।

केही समययता प्रधानमन्त्रीको स्वास्थ्य कमजोर छ भन्ने कुरा उनको व्यवहार र अनुहारबाटै पनि प्रस्ट हुँदै आएको हो। उनले सिंगापुर जानुअघि जसरी कार्यक्रमहरूमा सहभागिता जनाउने र बोल्ने गर्दै आएका थिए त्यो अवस्था त्यहाँबाट फर्केपछि थिएन। तर उनको स्वास्थ्यबारे हुने चर्चालाई खासै वास्ता नगरिएको बरु त्यसलाई भिन्नरूपमा व्याख्या गर्ने गरिएकोमा सबैलाई आश्चर्य लागिरहेको थियो।

नेकपाका अध्यक्ष ओली प्रधानमन्त्री पदमा आसीन भएको एक वर्ष नौ महिना भयो। प्रधानमन्त्री ओलीले आफ्ना लक्ष्यहरूबारे धेरै कुरा भनिसकेका छन्। मुलुकले विकासको बाटो खोजिरहेको छ। केही क्षेत्रमा सामान्य सुधार पनि भएका छन्। सरकारले बितेको पहिलो एक वर्षको अवधिमा विकास र समृद्धिका आधारहरू तयार भएको भन्दै आएको छ। अन्य कामहरू पनि भइरहेका छन्। यस्तो अवस्थामा स्वास्थ्य समस्या दोहोरिइरहेका प्रधानमन्त्रीलाई राज्यसत्ताको जिम्मेवारी दिइरहनु उनको आयु छोट्याउनु हुन सक्छ। किनकि हरेक जिम्मेवार व्यक्तिले तनाव झेल्नुपर्ने हुन्छ।

त्यसमा पनि सरकार प्रमुखजस्तो व्यक्तिका आफ्नै जिम्मेवारी र दायित्व हुन्छन्। उसले कतिपय अवस्थामा तत्कालै पनि निर्णयहरू लिनुपर्छ। उचित–अनुचित, ठीक–बेठीक भन्नुपर्छ। यस्तो अवस्थामा कमजोर स्वास्थ्यका प्रधानमन्त्रीलाई यस्ता काममा संलग्न गराइरहनु र यस्तो बोझ दिइरहनु उचित होइन।

पदको जिम्मेवारी लिने भन्दा पनि आराम गर्ने र अभिभावकको रूपमा सरसल्लाह दिनेतर्फ लाग्न सकेमा प्रधानमन्त्री ओलीमाथि तनाव र दबाब कम हुने अनि त्यसले उनलाई आगामी दिनहरू आरामपूर्वक बिताउन सहयोग पुग्न सक्छ।

वास्तवमा मानिसहरू ओहदाका भोगी र लोभी नै हुन्छन्। संसारभर देखिएको सत्य हो। अपवादबाहेक कसैले पनि म कमजोर भएँ, स्वास्थ्यले साथ दिएन, आराम गर्छु, यहाँहरूले चलाउनुहोस् भनेर उत्तराधिकारी चयनका लागि मार्गप्रशस्त गरेको उदाहरण विश्वराजनीतिमै दुर्लभ छ। हामीकहाँ त झन् यो अभ्यास छँदै छैन। बरु यस्तो प्रवृत्तिले पार्टीभित्र विभाजन ल्याएको इतिहास छ।

यस सन्दर्भमा मुलुकमा लोकतान्त्रिक व्यवस्थाको स्थापना र संघीय प्रणाली संस्थागत गर्नका लागि समेत ठूलो योगदान गरेका स्पष्ट विचार राख्ने क्षमता भएका केपी शर्मा ओलीले खुशीले सत्ता परित्याग गरी आफूलाई उदाहरण बनाउन सकेमा त्यसले उनको अर्को नौलो इतिहास पनि लेखिनेछ। यसैले प्रधानमन्त्री स्वयंले यस कुरालाई ध्यानमा राख्नु बेस हुनेछ।

जहाँसम्म स्वास्थ्यको कुरा हो, जोसुकैको जतिखेर पनि बिग्रन सक्छ। बिग्राइ र समस्या कस्तो हो भन्ने कुरालाई हेर्नुपर्छ। प्रधानमन्त्री ओलीको हकमा उनी मृगौला प्रत्यारोपणजस्तो उपचार गरिसकेका व्यक्ति हुन्। यसैले उनलाई सामान्य स्वास्थ्य समस्या भएको व्यक्तिको रूपमा लिन मिल्दैन।

बरु यस्तो हुँदाहुँदै पनि जे–जति गरे, हालसम्म जसरी सरकार हाँके, पार्टीलाई नेतृत्व दिए, त्यसको लागि उनलाई धन्यवाद दिँदै अब आराम र उपचारको चाँजोपाँजो मिलाउन सकेमा उनको आयु बढ्ने र उनकै अभिभावकत्वमा मुलुकले सही दिशा र गति लिन सक्ने अपेक्षा गर्न सकिन्छ। वास्तवमा यो सक्रिय र निरन्तर खट्न सक्ने नेतृत्वकै आवश्यकता पर्ने समय हो।

प्रधानमन्त्रीको रूपमा ओलीको खटाइ सोही अनुरूप रहेको थियो। तर पछिल्लो समय जसरी उनी शारीरिकरूपमा कमजोर भइरहेका छन् त्यसलाई हेर्दा अब उनीबाट त्यसरी नेतृत्व प्रदान हुन सक्ने अवस्था देखिँदैन। यसैले पार्टीले, पार्टी पंक्तिले र आमसमर्थकले पनि प्रधानमन्त्री ओलीको सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्दै सकारको नेतृत्वका लागि सक्रिय र स्वस्थ विकल्प पहिचान गर्नु उचति हुनेछ।

स्वास्थ्य अवस्थाले व्यक्तिका क्रियाकलाप प्रभावित हुन्छन्। अझ भनौं व्यक्तिको क्रियाकलाप स्वास्थ्य अवस्थाले निर्धारण गर्छ। कामकाज स्वास्थ्य अवस्थाबाटै प्रभावित हुन्छन्। उत्तेजना, आवेश, आक्रोश, क्रोध आदि कमजोर स्वास्थ्यको परिणाम हुन्।

कतिपय अवस्थामा हामीले हाम्रा प्रधानमन्त्रीमा यस्ता व्यवहार पनि महसुस गरेकै छौं। अस्वस्थ मानिसको मानसिक अवस्था पनि अस्वस्थ नै हुन्छ। यस दृष्टिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान जिम्मेवारी थप दिइराख्नु उचित नहुने हो कि ?

दिनदिनै डायलासिस गर्नुपर्ने वा मृगौला प्रत्यारोपण गर्नुपर्ने भन्ने चिकित्सकको अनुमानका सन्दर्भमा त्यस्तो अवस्थाको स्वास्थ्यलाई सामान्य मान्न नसकिने र असामान्य अवस्थालाई सामान्य भन्दै जिम्मेवारी बहन गरिराख्ने प्रयासले दुर्घटना निम्त्याउन सक्ने भएकाले यस्ता प्रयासबाट पछि हट्दा नै उचित हुन्छ।

यस किसिमको सुझाव प्रधानमन्त्री ओलीलाई दिँदा उचित नै हुने लाग्छ, खासगरी नजिकका विश्वासपात्र र सल्लाहकारहरू जसले उनलाई घेरिराखेका छन् तिनले।हालसम्म प्रधानमन्त्रीको उपचार पद्धति के हुने भन्ने निर्णय भइसकेको छैन। नियमित डायलासिस वा प्रत्यारोपण दुई मात्र विकल्प छन्। उमेरको कारण पनि प्रत्यारोपणभन्दा डायलासिस उपयुक्त हुने हो कि भन्ने कुराहरू आएको तर त्यसो गर्दा आरामको धेरै आवश्यकता पर्ने चिकित्सकहरूको धारणा सार्वजनिक भएको छ।

तर जेसुकै भए पनि उनले भागदौड गर्ने, तनाव लिने अवस्था अब देखिँदैन। उनलाई विश्रामकै आवश्यकता छ। छिन्–छिन्मा चिकित्सको सहायता चाहिने, छिन्–छिन्मा अस्पताल धाउनुपर्ने व्यक्तिले मुलुकको सत्ता सम्हाल्ने अवस्था विकल्पहीन परिस्थितिमा स्वीकार्य हुन सक्दो हो तर नेकपाको आफ्नो प्रस्ट बुहमत भएको र त्यसमा देश र दललाई नेतृत्व दिन सक्षम ‘एक से एक’ नेता भएकाले पनि प्रधानमन्त्री ओलीले अब पनि सत्तामा जबर्जस्ती बसिरहनु उचित छैन।

निश्चय नै सत्ता भनेको शक्ति हो। यो सहजै छाड्ने/त्याग्ने चाहना कसैमा हुँदैन तर आफ्नो स्वास्थ्यभन्दा ठूलो केही नहुने भएकाले पनि प्रधानमन्त्री ओलीले गम्भीर भएर आफ्नो स्वास्थ्यलाई दृष्टिगत गर्दै उचित निर्णय लिनु बेस हुनेछ। यसो गर्दा राम्रो उपचारको लागि विदेश जाने र लामै समय उतै बस्नमा पनि सहज हुन्छ।

हिजो जस्तो भिडियो कन्फ्रेन्सिङबाट मन्त्रिपरिषद् बैठक बस्ने र गोप्यता भंगको कुरा गर्दा त्यसको बचाउ गर्दै ‘होइन, नमस्ते आदानप्रदान मात्रै भएको हो’ भनेर बचाउ गर्नुपर्ने अवस्था आउँदैन। प्रधानमन्त्रीको स्वास्थ्यका कारण मुलुकको स्वास्थ्यसमेत प्रभावित हुने अवस्था आउनु कदापि उचित हुँदैन। यो कुराप्रति पार्टी नेतृत्व र स्वयं प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण हुनु जरुरी छ।

प्रधानमन्त्रीले अस्वस्थताकै बीच कात्तिक १७ गते मन्त्रिपरिषद्को बैठक बोलाए। बैठकले प्रदेश प्रमुखहरूको बर्खास्तीदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति र मेडिकल काउन्सिलको अध्यक्ष नियुक्तिलगायतका निर्णयहरू गर्यो। गर्नुपर्ने, दिनुपर्ने, भन्नुपर्ने, मिलाउनुपर्ने धेरै कुरा हुन सक्छन्। त्यस खालका बाँकी सबै कुरा मिलाएर मार्गप्रशस्त गरिदिँदा मुलुक नयाँ ढंगमा अघि बढ्न सहज हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्