पूर्णरूपमा खुल्ला दिसामुक्त हुन सकेन



नेपाललाई अहिले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। तर, विभिन्न जिल्लाका विकट बस्तीमा अझैसम्म शौचालयको सुविधा पुगेको छैन। अझै पनि विकट क्षेत्रका अधिकांशले कान्ला, खोल्सा, झाडी, जंगल र खोलालाई शौचालय बनाइरहेका छन्, जसका कारण जंगली जनावरको आक्रमणमा परेका, सर्पले डसेका, खोलाले बगाएका र शौच गर्न बाहिर निस्कँदा यौनहिंसामा परेकाजस्ता दुःखद खबरहरू सार्वजनिक हुने गरेका छन्।

देशभर निकै उत्साहका साथ खुल्ला दिसामुक्त गरियो। विडम्बना, विकट क्षेत्रका समुदाय आज पनि खुला आकाशमुनि शौच गर्दै आइरहेका छन्। प्रशस्त पानीको सुविधा र सरसफाइसम्बन्धी ज्ञान नभएकाले शौचालय बनाएकाले पनि प्रयोग गर्न सकेका छैनन्। कतिपयले शौचालय बनाएको ठाउँमा अन्नपात राख्ने गोदामघर बनाएका छन्।

नेपालले सन् २०३० सम्म सबैका लागि खानेपानी र सरसफाइको व्यवस्थापन गर्ने दिगो विकासको लक्ष्य राखेको छ, जसअनुसार सिंगो देशलाई खुला दिसामुक्त क्षेत्र घोषणाको तयारी पनि गरिँदै छ। हरेक टोलदेखि स्थानीय तहसम्म खुल्ला दिसामुक्त बनाउने अभियान चलेको दुई दशक भइसकेको छ।

खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको चितवनमा सडकमा गधाले दिसा गर्दै टाँगा दौडिरहेको पाइन्छ। सभ्य मानिएकाहरू आफू शौचालयमा दिसा गर्छन् र कुकुरलाई दिसा गर्न सडकमा दौडाउने प्रवृत्ति छ। शौचालय नहुनेहरू बाध्य भएर खोल्साखोल्सी र खोलाकिनारमा दौडनुपरेको छ।

नेपालमा २०६७ सालदेखि चर्पी बनाउने क्रम बढेको छ। सरसफाइमा मानिस सचेत पनि हुँदै गएका छन्। सोही कारण झाडापखालाको प्रकोप पनि १४ प्रतिशतबाट ८ प्रतिशतमा झरेको छ। अस्थायी चर्पी बनाएरै भए पनि ७७ जिल्लामध्ये ६० जिल्ला खुल्ला दिसामुक्त घोषित भएका छन्।

खुल्ला दिसामुक्तको कार्यान्वयन भने आधाजसो पनि भएको छैन। मानवको मलमूत्र व्यवस्थापन हुँदैमा पनि खुल्ला दिसामुक्त क्षेत्र भनिहाल्न सकिँदैन। एक तथ्यांकअनुसार कुकुरको एक ग्राम दिसाबराबर २ करोड ३० लाखवटा कोलिफर्म ब्याक्टेरिया रहेको हुन्छ, जसको संक्रमणबाट मानिसलाई झाडापखाला, आन्द्राको समस्या र मिर्गौलासम्बन्धी रोग निम्त्याउँछ।

राजधानी काठमाडौँ र पोखरामा मात्रै २५ हजारको संख्यामा सामुदायिक कुकुर रहेको तथ्यांक छ। यति विघ्न कुकुरले उत्सर्जन गर्ने दिसाबाट मानवजीवनलाई जोखिममा पारिरहेको छ। हावामा पनि केही प्रतिशत ब्याक्टेरिया कुकुरकै दिसाबाट फैलिरहेको हुन्छ। कुकुर मानिसको अभिन्न अंग बनिसकेको स्थितिमा देशलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने हो भने कुकुरका सौखिनहरूले सडकमा दिसा गराउने प्रवृत्ति रोक्नुपर्छ।

सरकारले आगामी तीन वर्षभित्र घर–घरमा खानेपानी पुर्याउने लक्ष्य राखेको छ। ‘एक घर एक शौचालय’ अभियान सफल पार्न पनि सर्वप्रथम पानीको व्यवस्था गरिनुपर्छ। अहिले राप्ती नगरपालिकाका अधिकांश चेपाङ बस्तीमा पानीको अभावमा शौचालय हुनेहरू पनि खुला आकाशमुनि शौच गर्दै आइरहेका छन्।

८५ घरधुरी भएको श्यामराङमा विद्यालयसहित जम्मा तीनवटा घरमा मात्रै शौचालय हुनुले पनि खुल्ला दिसामुक्त क्षेत्रको पटाक्षेप गरेको छ। तसर्थ, खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हतारिनुभन्दा सार्वजनिक शौचालय व्यवस्थित गर्ने, आवश्यक ठाउँमा शौचालयहरू थप्ने, गाउँबस्तीमा शौचालय बनाउन अनुदान दिने, पानी र चर्पी अभियान सञ्चालन गर्नेजस्ता गतिविधितर्फ स्थानीय निकायले ध्यान दिनु जरुरी देखिएको छ।

– सविता ओझा, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्