झमकको जीवन काँडा कि फूलमा किन छैन पूरानो अनुहार ?



मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित कृति जीवन काँडा कि फूललाई लिएर त्यही नाममा बनेको फिल्म आगामी कात्तिक २२ गते रिलिजमा आउने भएको छ। पत्रकार भेटघाटमा बोल्दै फिल्मका निर्माता तथा निर्देशक विनोद विष्टले झमक घिमिरेजस्तो प्रतिभाशाली साहित्यकारको जीवनीमा फिल्म निर्माण गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए।

‘हुबहु झमकको जीवनमा बनाएको फिल्म दर्शकले हेर्नुहुन्छ भन्ने विश्वास छ। जीवन काँडा कि फूल नेपालमा बढी बिक्री भएको किताब हो भने नेपाली मात्र नभएर विभिन्न भाषामा यो किताब छापिएको छ। यसरी हेर्दा झमकका बारे धेरैको चासो रहेको पाइन्छ’, उनले भने– ‘त्यसकारण यो फिल्मलाई सबैले रुचाउनुहुन्छ भन्ने विश्वास छ।

यो फिल्म चलेन भने झमक घिमिरेलाई बाहिरबाट मात्र तारिफ गर्ने रहेछन्। माया गर्दारहेनछन् भन्ने पुष्टि हुन्छ भन्ने लाग्छ।’ झमकको घर धनकुटामै गएर उनी र उनकै परिवारका सामु छायांकन गरिएको फिल्ममा झमक सानो हँुदाको भूमिकामा सिलुगढीकी अवस्था थापा र ठूलोको भूमिकामा रोजिता बुद्धाचार्यले अभिनय गरेका छन्।

‘फेस भ्यालुको कुरा गर्दा यसमा अहिलेको सेलिब्रेटीलाई पनि लिन सकिन्थ्यो। तर झमकको शारीरिक अवस्थाअनुसारको अभिनय चलेका कलाकारले गर्न सक्दैनन् र अफर गरेको भए पनि अस्वीकार गर्थे। यसका लागि आर्टिस्टिक कलाकार चाहिने भएकाले अवस्था र रंगमञ्चकी कलाकार रोजितालाई लिइएको हो।

यस कारण यसको कथावस्तु, अभिनय र मेकिङमा कुनै कमी गरेका छैनौं।’ –उनले भने।फिल्ममा झमककी बहिनीका रूपमा देखिएकी नायिका सारीका घिमिरेले यो फिल्ममा अभिनय गर्न पाउनु आप्mना लागि खुसीको कुरा भएको बताइन्। ‘यस्तो फिल्ममा सानो भूमिका मात्र पाएको भए पनि म निकै खुसी हुन्थें।

झमककी बहिनीकै भूमिकामा खेल्न पाउँदा पनि निकै खुसी छु। मलाई निर्देशकले बहिनीको भूमिकामा अफर गर्नुभयो। यसमा जोडिन पाउनु नै ठूलो कुरा हो। झमककै भूमिकामा अफर गर्नुभएको भए अभिनय गर्न सक्निथें। बहिनीको भूमिका गर्दा पनि झमकलाई बहिनीले बोकेजसरी बोक्न मैले सकिनँ।

उहाँको अर्की बहिनीले पटक पटक सिकाउनु भएपछि बल्ल बोक्न सकें,’ सारिकाले भनिन्– ‘झमकको पात्रलाई उहाँकी बहिनी बनेर बोक्नै २१ टेक खाएँ।’फिल्ममा झमककी आमाका रूपमा अभिनय गरेकी नायिका उमा गिरीले आफूले हालसम्म काम गरेको फिल्ममध्ये चित्त बुझ्दो फिल्म नै जीवन काँडा कि फूल भएको बताइन्। ‘फिल्ममा म १५/१६ वर्षको युवतीदेखि चार जना बच्चाका आमाको भूमिकामा देखिएको छु।

४० वर्षअघिको महिलाको भूमिकामा देखिनु भनेको मेरा लागि चुनौतीको साथै खुसीको कुरा पनि हो। फिल्मको कतिपय दृश्य छायांकन गर्दा रोएको पनि छु।’ –उमाले सुनाइन्। आफूले फिल्ममा अभिनय गर्नुअघि पात्रलाई थप न्याय दिनका लागि झमक घिमिरेकी आमासँग थुप्रै विषयमा कुराकानी गरेको उमाले बताइन्।

फिल्ममा झमकको बुबाका रूपमा भने किसन सुनारले अभिनय गरेका छन्। झमकको बुबाका रूपमा अभिनय गर्न आफ्ना लागि गाह्रो भएको तर भाग्यमानी सावित भएको किसनले बताए। ‘झमकलाई दशैंको टीका लगाइदिने बेलामा तँ हामीभन्दा छिट्टै मरेस् भनेर आशीर्वाद दिँदाको पल एकदम पीडादायी थियो।

त्यो झमकभन्दा अगाडि बाबुआमाको निधन भए झमकलाई कसले स्यहार गर्छ भन्ने प्रसंगको आशीर्वाद थियो। माया भएर पनि क्रूरता देखाउँदाको क्षण निकै गाह्रो थियो।’ –उनले भने। झमक घिमिरेको कथा र मुक्ति उपाध्याय बरालको पटकथा रहेको फिल्ममा बाल कलाकार स्वीकृति शर्मा, मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ।

फिल्ममा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ भने प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर र मीना निरौलाको स्वर रहेको छ। त्यसै गरी कमल राईको नृत्य निर्देशन, शिव ढकालको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्