ओभरलोड नियन्त्रण गर्न माग



नेपाल समाचारपत्र, बुटवल।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले भारतीय ओभरलोडका मालबाहक गाडी निर्वाध रुपमा नेपालमा सञ्चालन गरिँदा नेपाली व्यवसायीको लगानी असुरक्षित बन्दै गएको ठहर गरेको छ। महासंघको शनिबार रुपन्देहीमा बसेको बैठकले तौलपुल कार्यविधिअनुसार नेपाली तथा भारतीय गाडीहरू सञ्चालन गर्ने वातावरण मिलाउन सरकारसंँग माग गरेको छ।

भारतीय गाडी निर्वाध रुपमा ओभरलोड बोकेर नेपाल प्रवेश गर्दा नेपाली सडक पनि बिग्रिदै जाँने र नेपाली व्यवसायीले पनि काम बिहीन हुने स्थिति आएकाले महासंघले सरकारको ध्यानाकर्षण गराएको हो।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं दुर्घटना न्यूनीकरण तथा पार्किङ व्यवस्थापन समितिका संयोजक लोकराज पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सहभागी पदाधिकारी तथा सदस्यले भारतीय ओभरलोड गाडीका कारण नेपाली व्यवसायीको पेशा संकटमा परेको बताउँदै ओभरलोड नियन्त्रणका लागि महासंघले पहलकदमी उठाउनुपर्ने सुझाव पेश गरेका थिए।

बैठकमा नेपाल सरकारले तय गरेको भाडा कार्यान्वयन गर्नुपर्ने, क्षमता अनुसार भारबहन हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो। बैठकले यहि कात्तिक २२ गते हेटौडामा बस्ने बैठकले थप कार्यविधि तय गर्ने र सोही कार्यविधि अनुसार महासंघ अंगाडी बड्ने निर्णय भएको महासचिव राजेन्द्रविक्रम बानियाले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्