कहिले रोकिन्छ बालविवाह ?



नेपालका अझै पनि थुप्रै जिल्लाहरूमा बालविवाह एउटा समस्याका रूपमा रहिआएको पाइन्छ। न्युज अफ नेपालमा प्रकाशित ‘विराटनगरमा १३ देखि १४ वर्षसम्मका बालबालिका विवाह गर्ने बढी’ भन्ने समाचारले मलाई गम्भीर बनायो। यस्ता बालविवाहका समाचारहरू अन्य मिडियाहरूमा पनि थुप्रै प्रकाशित भइरहेका छन्।

नेपालमा जतिसुकै अभियान चलाउने गरिए पनि बालविवाह प्रचलन कुप्रथाका रूपमा कायम छ। सरकारले बालविवाह न्यूनीकरण गर्न ‘बिहेवारी २० वर्षपारि’ भन्ने अभियान सञ्चालन गरेको धेरै वर्ष बितिसक्यो। तर नेपालको विकट पहाडी क्षेत्र, तराईका जिल्ला तथा विपन्न समुदायमा यसको कार्यान्वयन हुन सकिरहेको छैन।

चितवनको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायमा गरिबी, अशिक्षा र चेतनाको कमीकै कारण कम उमेरमै बिहेवारी गर्ने प्रचलन यथावत् छ। अधिकांश चेपाङ युवतीको कलिलो उमेरमा बिहे गर्ने र परिपक्व नहुँदै बच्चा जन्माउने कारण आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा रहेको पाइन्छ।

चितवनका अधिकांश चेपाङ अभिभावकले १५ वर्ष पुग्न नपाउँदै किशोरीहरूको बिहे गरिदिने गर्छन्, जसका कारण किशोरी आमा र बच्चाको स्वास्थ्यमा गम्भीर प्रभाव पर्ने गरेको छ।
विपन्नता र परिवारको संख्या ठूलो भएकै कारण अभिभावकले उमेर नपुग्दै छोरीको विवाह गरिदिने गर्दछन्।

सरकारले ग्रामीण स्तरमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य स्वयंसेविका परिचालन गरे पनि खास उपलब्धि हुन सकेको छैन। स्वयंसेविकाहरूले स्वास्थ्यसम्बन्धी परामर्श दिँदै आए पनि चेतनाका कारण बालविवाह कायम रहिआएको छ।

चेपाङ किशोरीहरू कम उमेरमै बिहेवारी गर्दा पढ्नबाट पनि वञ्चित हुने गरेका छन्। अशिक्षाकै कारण मातृशिशु स्वास्थ्यसम्बन्धी ज्ञान हासिल गर्न नसक्दा अकालमै मृत्युवरण गर्नुपर्ने जोखिम रहँदै आएको छ। विश्व एक्काइसौँ शताब्दीमा फड्को मारिसक्दा पनि अझैसम्म शंकोच र लाजका कारण चेपाङ पुरुषहरूले बन्ध्याकरण नगर्ने प्रवृत्ति छ।

चेपाङ समुदायमा अझैसम्म परिवार नियोजनको कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। गरिबी, अशिक्षा र स्वास्थ्यसम्बन्धी चेतनाको अभावका कारण उनीहरूको जीवनशैलीमा परिवर्तन आउन सकेको छैन। वर्षैपिच्छे ईश्वरको कृपा मानेर सन्तान पाउने परिपाटी कायमै छ। शहरी क्षेत्रका किशोरीहरू विद्यालय जाँदा चेपाङ किशोरीहरू काखमा नानीबाबु बोकेर जीविकोपार्जनका लागि मेलापात गर्नुपर्ने नियति छ।

विकट पहाडी क्षेत्रमा खाद्यान्न अभावका कारण बर्सेनि अनिकालको सामना गर्नुपर्ने परिस्थिति अझैसम्म हट्न सकेको छैन। चेपाङका खोरिया–बारीमा वर्षको तीन–चार महिनालाई पनि नधान्ने खेतीबालीले अधिकांश समय ज्याला मजदुरीबाट जीवन धान्नुपर्ने नियति छ।

जंगली कन्दमूलबाट गुजारा गर्नुपर्दा कतिपय बालबालिकाले अकालमा ज्यान गुमाएका छन्। चेपाङ समुदायमा काम गर्ने विभिन्न एनजीओ⁄आईएनजीओले चेतना अभिवृद्धिका कार्यक्रमका नाममा करोडौँ खर्च गर्दै आए पनि डर लाग्दोरूपमा देखा परेको बालविवाह नियन्त्रण हुन सकेको छैन।

नेपालमा पछिल्लो तथ्यांकअनुसार करिब ७० हजारको हाराहारीमा चेपाङ जाति छन्। चितवनका काउले, दाहाखानी, चण्डीभन्ज्याङ, सिद्धि, कोराक, लोथर, शक्तिखोर, दारेचोक र कविलास गाविसलाई समेटेर बनाइएको इच्छाकामना गाउँपालिकामा मात्रै करिब २१ हजार चेपाङ बसोबास गर्दछन्, जसमध्ये लोथर, सिद्धि, कोराक र चण्डीभन्ज्याङका चेपाङ अति गरिबीको सूचीमा छन्।

यी गाउँहरू दैविप्रकोपका दृष्टिले पनि अति जोखिममा रहेको पाइएको छ। लैंगिक विभेद, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, खाद्यान्न अभावजस्ता समस्या झेल्दै आएको यी गाउँमा बालविवाहको समस्या झनै भयावह छ। सरोकारवाला निकायले प्राथमिकताका साथ बालविवाहविरुद्ध सचेतना बढाउनु अति आवश्यक देखिएको छ।
– भवीन्द्र गुरुङ, सिनामंगल, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्