“अहिलेको बीमा बजारले विद्यमान कम्पनीलाई धान्न सक्दैन”




रमेशकुमार भट्टराई

कामु प्रमुख कार्यकारी अधिकृत, युनाइटेड इन्स्योरेन्स

बीमा कम्पनी मर्जरमा जानुपर्ने बहस पछिल्लो समय निकै हुँदै गएको छ। बीमा कम्पनीको संख्या, पुँजी र क्षमतालगायतका विषयमा चर्चा चलेको लामो समय नै भयो। साथसाथै नेपाल राष्ट्र बैंकले बैंकस्योरेन्समा कडाई समेत गरिदिएको छ। यसबाट बीमा व्यवसायलाई कस्तो असर पर्छ भन्नेलगायतका बिषयमा नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँग कुराकानी।

अहिले बीमा बजारको अवस्था कस्तो छ ?

तेस्रो त्रैमासिकको समीक्षाअनुसार बीमाको साढे ५ देखि ६ अर्बको व्यवसाय छ। यसैअनुसार भए चालू आर्थिक वर्षमा २४ अर्ब हाराहारीको व्यवसाय हुने मेरो अनुमान हो। गत वर्ष पनि २४ अर्ब हाराहारीमा नै व्यवसाय नै रहेको थियो।

बीमा बजारमा खासै व्यवसाय बढेको देखिँदैन। ३/४ वर्ष अगाडि २५–३० प्रतिशतसम्म बढेको थियो। सवारी साधनमा तेस्रो पक्षको बीमा गर्ने बेला बढेको हो। पछि त्यही अनुपातमा बढ्न सकेन। यो आर्थिक वर्षभित्र सरकारले बीमासम्बन्धी अनिवार्य नीति लिएमा यो अनुपात बढ्न पनि सक्छ। यद्यपि, सरकारले केही गरिहाल्छ भन्ने जस्तो देखिएको छैन।

बीमा कम्पनीबीच मर्जरको आवश्यकताबारे पनि बहस हुन थालेको छ, के त्यो आवश्यक छ ?

मैले भन्दै आएको कुरा २५/२६ सय करोडको व्यवसायलाई २० वटा कम्पनीले धान्दैन। अहिले सबै कम्पनीको पुँजी एक अर्ब पुगिसकेको छ। ५०–६० करोडको व्यवसाय कर्मचारी पाल्न नै लाग्छ। अहिले ७० करोडको व्यवसाय गर्यो भने पनि नाफा हुने अवस्था छैन। सबै बीमा कम्पनीमा ‘अन्डरराइटिङ लस’ छ।

यसको मतलब, बीमा पोलिसी बेचेर हुने नाफा कम छ। कम्पनीले आफ्नो लगानी र बैंकको ब्याज जोडेर आएको रकम मात्रै नाफा पाउँछन्। पोलिसी अन्डरराइटिङ गरेर आएको नाफा पो नाफा।अहिले यस्तो नाफा छैन। मानिसले एउटा पोलिसी लिनका लागि खर्च गरेर व्यवसाय उठाएको छ।

त्यसैकारण अबको ६०–७० करोडको व्यवसाय भनेको कर्मचारी पाल्नका लागि मात्रै पुग्छ। कम्तिमा पनि क्रसहोल्ड भएका कम्पनी एकआपसमा मर्ज नगरी उपाय नै छैन। नेपालमा ६/७ वटा कम्पनीभन्दा बढीको आवश्यकता नै छैन। अरू कम्पनी टिक्ने अवस्था नै छैन।

बीमा समितिले बाध्यकारी नभएर स्वेच्छिक मर्जरको नीति लिएको छ, यसको सम्भावना कस्तो छ ?

वास्तवमा मर्जर हुनुपर्ने नै स्वेच्छिा हो। किनकी यसमा समुदायको पैसा छ। सरकारको कम्पनी भएको भए आपसमा गाभ्नलाई कुनै समस्या हुँदैन। मर्जरको मोडालिटी चाहिँ के हो भने क्रसहोल्ड हुन दिनुभएन। यसलाई नियन्त्रण मात्रै गर्ने हो भने यसले पनि बाध्यात्मक मर्जरमा ल्याउँछ। त्यस्तै कम्पनीमा घाटा हुन थालेपछि समयले आफैं जनाउँछ मर्जर गर्ने भन्ने।

अहिले अलि–अलि नाफा आउन्जेलसम्म कम्पनीले मर्जरको आवश्यकता देख्दैनन्। कम्पनी घाटामा जान थालेपछि प्रशासनिक खर्च, कर्मचारीको खर्चलगायतका खर्च धान्नै गाह्रो हुन्छ। त्यसपछि मर्जर नगरी उपाय नै रहन्न। त्यसपछि नियमक निकायले तिमीहरू मर्जरमा जाउ भन्नै पर्दैन।

पछिल्लो समय बैंकस्योरेन्सको निकै चर्चा छ, यसबाट बीमा कम्पनीहरू सशंकित भएका हुन् ?

बैंकस्योरेन्स आफैंमा खराब चिज होइन। यसलाई प्रयोग मात्रै गर्न नजानेको हो। कहिले काहिँं गुलियो पनि बढी खाएपछि तितो हुन्छ। बैंकस्योरेन्स राम्रो पोलिसी हो। तर, यसलाई चाहिनेभन्दा बढी प्रयोग गरियो। यसले गर्दा समस्या निम्तियो। यसमा सबैभन्दा बढी अप्ठ्यारो जीवन बीमा कम्पनीलाई भयो। यसले बैंकलाई तीन किसिमको फाइदा थियो।

एउटा जीवन बीमा कम्पनीले त्यसबाट ठूलो मात्रामा ग्राहक पाउथ्यो। बैंकमा डिपोजिट भएका नम्बर अफ क्लाइन्टस् त्यही जीवन बीमाको लागि ग्राहक, सम्पत्ति थिए। अर्काे बैंकबाट आएका ग्राहकबीचमा सेरेन्डआवट, स्यारेन्ड गर्नेको संख्या एकदमै बढी हुन्छ, किनभने यसमा बैंकले नै पैसा हालिदिन्छ।

एउटा जीवन बीमाको ठूलो रकम बैंकले डिपोजिट पाउथ्यो। अर्काे, जीवन बीमा गर्दाको शुरुको २५ प्रतिशत बैंकले इनकमको रुपमा लिन पाउथ्यो। यसले गर्दा बैकको कमाइ पनि एकदम राम्रो र डिपोजिट पनि राम्रो हुन्थ्यो।

तर, यसमा घाटा एजेन्टलाई थियो। एजेन्टको रोजीरोटी गुम्ने भयो। एजेन्टको व्यवसाय नै चौपट हुने भयो भनेर उनीहरूले विरोध गरेका हुन्। यसलाई व्यवस्थित रुपले गरेको भए खराब होइन।

पछिल्लो समय दाबी भुक्तानी बढेको देखिन्छ, यो कसरी भयो ?

जुन व्यवसाय जति फस्टाउँदै जान्छ, त्यहाँ बाधा अवरोध बढ्दै जान्छन्, त्यो स्वभाविक हो। फर्जी दावी त आउँछन्, त्यसलाई कन्ट्रोल गर्नुपर्छ। सामान्यतया फर्जी क्लेम औषधिउपचारको क्रममा आउँछ अर्थात इन्स्योरेन्सबाट पैसा आउँछ भनेपछि नचाहिएको औषधिको पनि बिल बनाइदिएर खर्च धेरै देखाउने गर्छन्। कुनै यातायातले नक्कली घाइते खडा गरेर पैसा लिन खोज्ने आदि जस्ता समस्या बेला–बेलामा आइरहन्छन्।

यस्तो समस्या बीमासम्बन्धी ज्ञान नभएर आएको हो कि ठगी गर्ने मानसिकताले ?

बीमासम्बन्धी ज्ञान नभएर त आउँदैन। चाहिनेभन्दा बढी बुझेर आउँछ।

कम्पनीलाई पनि दाबी भुक्तानी गर्न आनाकानी गर्छन् भन्ने आरोप लागेको हुन्छ नि ?

अहिलेको समयमा कुनै इन्स्योरेन्स कम्पनी बिजनेस माग्न जान्छ भने उसले क्लेमलाई बलियो नबनाइकन बजार पाउने अवस्था छैन। अबको विजिनेस नै क्लेममा अडिएको छ। जसले समय मै क्लेम दिन्छ उसले नै विजिनेस उठाउछ। इन्स्योरेन्सले क्लेम नदिने भन्ने पनि होइन, सामान्य प्रक्रिया पूरा गर्नुपर्छ।

प्रक्रिया नै पूरा नगरेर क्लेम दिने कुरा पनि आउँदैन। प्रक्रिया पूरा गर्दा कागजात नपुगेको खण्डमा केही ढिला हुनसक्छ, यसलाई नै क्लेम दिएन भन्ने कुरा हुँदैन। म के भन्छु भने इन्स्योरेन्स गर्दा बुझेर गर्नुहोस्। कसैले गाडीको इन्स्योरेन्स गर्नुहुन्छ भने सही मूल्यको गरौं, कसैले घरको इन्स्योरेन्स गर्नु हुन्छ भने सही मूल्यांकन गरौं, अनि मात्र सही क्लेम आउँछ।

पछिल्लो समय निर्जीवन बीमा गर्नेको संख्यामा कत्तिको वृद्धि भएको छ ?

यो वर्षको टे«न्ड हेर्दा नम्बर अफ पोलिसी बढेको छ। तर, प्रिमियमको साइज बढेको छैन। यसमा २/३ वटा कारण छन्। पहिलो कारण हालसालै बीमा कम्पनीले सम्पत्ति बीमामा केही हेरफेर गरेको छ। अहिलेको अग्नी बीमालाई सम्पत्ति बीमा भनेको छ। पहिलेको हाउस वड बीमालाई अहिले घर बीमा भनेको छ।

घर बीमामा पहिलेभन्दा अहिले ६० प्रतिशत सस्तो बनाएको छ। थोरै पुँजी भएका यसमा समेटिउन भनेर यस्तो बनाइएको हो। उता प्रोपर्टीमा केही फिगर बढेको छ। यि विविध कारणले होला नम्बर अफ पोलिसी बढेको छ। तर, जुन नम्बर अफ पोलिसी बढेको छ त्यही अनुपातले प्रिमियम बढ्नुपर्ने त्यो बढेको छैन।

तपाईंले निक्कै जोडतोडका साथ उठाउँदै आएको क्रस होल्डिङको विषयमा सोचे जति प्रगति भयो कि भएन ?

नियमक निकायले केही सोचेको होला। राष्ट्र बैंकले कुन–कुन बैंकमा क –कसको खातामा के कति रकम छ त्यो स्पष्ट खुलाउनु भनेर मागेको पनि छ। त्यही प्रक्रिया इन्स्योरेन्स कम्पनीमा पनि आउने दिनमा होला। एउटा कुरा के हो भने यदी कम्पनीमा घाटा हुँदै गएपछि र कम्पनीको सञ्चालन खर्च उच्च हुँदै गएपछि कसैले पनि कम्पनी चलाउन सक्दैन, त्यतिबेला त्यसको विकल्प मर्जभन्दा अरू हुँदैन।

निर्जीवन बीमाका चुनौती चाहिँ के छ ?

सबैभन्दा ठुलो चुनौती भनेको दक्ष जनशक्ति यो क्षेत्रमा छैनन्। पढेलेखेका व्यक्ति इन्स्योरेन्सको मार्केटिङमा छैनन्। अर्काे कुरा कम्पनी धेरै छन्, साइज सानो छ। कतिपय कम्पनीले अन्धाधुन्ध खर्च गरेर बिजनेस उठाएका छन्, अनि साना कम्पनीले चाहिँ अरूले बिजनेस कसरी उठाए त्यो हेरेर बसेका छन्।

किनभने साना कम्पनीले कम्पनीको साइज अनुसार त्यस्तो, धेरै खर्च गर्न सक्दैनन्। प्रतिस्पर्धा भनेको ग्राहकलाई छिटोछरितो सेवा दिएर गर्ने हो, समयमै क्लेम दिएर, ग्राहकको मन जितेर हुनुपथ्र्याे। तर, अहिले अन्धाधुन्धा पैसा बाडेर बिजनेस भइरहेको छ।

त्यसपछिको चुनौती भनेको जनचेतनाको अभाव। इन्स्योरेन्सबाट आफूलाई नै फाइदा हुन्छ भन्ने कुरा जनताले बुझेका छैनन्। इन्स्योरेन्स बैंकको लागि गर्नुपर्छ भन्ने बुझे। इन्स्योरेन्स हाम्रो लागि अत्यावश्यक हो भन्ने कुरा बुझेका छैनन्।

चुनौतीको समाधानको उपाय के–के छन् ?

इन्स्योरेन्स अहिले पिलो भएको छ। पाकेर खिल निस्किएपछि जस्तो आनन्द आउँछ नि हो। पछिसम्म टिक्न सके पछि राम्रो हुन्छ, पहिले टिक्न सक्नु पर्यो। अर्थात खर्च गरेर मात्र त कम्पनी सधैं टिक्न सक्दैन्। त्यसैले कुन कम्पनीले सेवाग्राहीलाई कस्तो सेवा दिएर अगाडि बढेको छ, कुन–कुन कम्पनी मिलेर बजारमा प्रस्तुत हुने, त्यसले बजार लिन्छ।

तपाईंको आफ्नो कम्पनीका बारेमा पनि छोटकरीमा बताइदिनुहोस् ?

यस कम्पनीमा म आइसकेपछि व्यापक परिवर्तन भएको छ। जनमानसमा जुनसुकै बेला पनि क्लेम दिन सक्छ भनेर विश्वास बढेको छ। जुन ठूलो उपलब्धि हो।

हाम्रो ३० करोड २४ लाखको पुँजी थियो। अहिले १ अर्ब २ करोडको पुगेको छ। गत वर्ष र यो वर्षको बिजनेसमा ४४ प्रतिशतको वृद्धि भएको छ। यसले गर्दा हामी सशक्त रुपमा अगाडि बढिरहेका छौं।

मर्जरको विषयमा के सोच्नुभएको छ ?

मर्जरसम्बन्धी सकरात्मक सोचाइ छ मेरो। कार्तिक २६ गते हाम्रो २५औं वार्षिक साधारण सभा छ, त्यसमा हामीले मर्जर सम्बन्धी नीति प्रस्ताव लिएर जाने छौं। उपयुक्त कुनै संस्था भेटियो भने हामी मर्जरमा जान्छौं

प्रतिक्रिया दिनुहोस्