“कांग्रेसले आफूलाई वामपन्थी भन्न हिचकिचाउँदा ठूलो जनमत गुमायो”



मधुप्रसाद आचार्य 
नेता, नेपाली कांग्रेस
नेपाली कांग्रेसभित्र बौद्धिक नेताका रूपमा चिनिनुहुने  मधुप्रसाद आचार्य विद्रोही बाबुका विद्रोही छोराका रूपमा पनि परिचित हुनुहुन्छ। पञ्चायती व्यवस्था विरोधी पिता। ध्रुवप्रसाद आचार्य पूर्व १ नम्बर चौतारा जेलबाट छुटेलगत्तै पहिलो सन्तानका रूपमा उहाँको जन्म भएको थियो। शान्ति विद्या गृह र अमृत साइन्स क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमार्फत राजनीति शुरू गर्नुभएका आचार्य कोलम्बो प्लानमा इन्जिनियरिङ अध्ययनका लागि भारतको इलाहवाद पुगेपछि त्यहाँबाट प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थीहरूलाई संगठित गर्ने काममा थप सक्रिय भएर लाग्नुभएको थियो। इन्जिनियरिङ अध्ययन सकेपछि प्रजातन्त्र पुनर्बहाली नभएसम्म जागिर नखाने संकल्प गर्नुभएका आचार्य प्रजातन्त्र बहालीपछि पनि जागिरमा ध्यान नदिई काभ्रेको क्षेत्रीय सभापति जिल्ला सभापति हुँदै केन्द्रीय प्रचार–प्रसार विभागको सदस्यका रूपमा समेत सक्रिय हुनुभएको थियो। कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो कार्यकारी निर्देशकका रूपमा आचार्यले लामो दूरीको पदयात्राको राजनीतिलाई नेतृत्व गरेर बीपी विचार यात्रा, गणेशमान बलिदान अभियान जस्ता राष्ट्रियस्तरका कार्यक्रम गर्नुभएर चर्चामा आउनुभएको थियो। उहाँले कार्यकारी निर्देशक भएकै बेला पार्टीको स्थानीय तहसम्म प्रशिक्षण कार्यक्रम गरेर पार्टीलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका निभाउनुभएको थियो। पत्रकारका रूपमा समेत क्रियाशील रहेर कलरव, रिचा मासिक, समानता मासिक पत्रिकामार्फत प्रजातान्त्रिक समाजवादी विचारको प्रचार–प्रसार गरिरहनुभएका आचार्यको थुप्रै लेख तथा केही पुस्तकसमेत प्रकाशित छ। पार्टीको केन्द्रीय समितिमा चुनाव लड्ने परिचर्चा भइरहेका बेला एकाएक कांग्रेस काभ्रे जिल्ला सभापतिको जिम्मेवारी सम्हालेर जिल्लामा संगठन निर्माणमा होमिनुभएका आचार्यसँग समसामयिक राजनीति, कांग्रेसको आन्तरिक गतिविधिबारे नेपाल समाचारपत्रका लागि रामकृष्ण चापागाईंले गर्नुभएको कुराकानीको सारसंक्षेप  :

आजकल केमा व्यस्त हुनुहुन्छ ?

राजनीतिक प्राणी हुँ। बाहिरी वृत्तमा उभिएर मानिसहरूको दौडधुप हेरिरहेको छु।

दौडधुप कस्तो लागिराख्या छ त ?

उही चक्रपथको गाडीले फन्को लगाइरहेको जस्तो। न बाटो नयाँ छ, न गन्तव्य नयाँ। तैपनि सास नरोकिकन दौडिने क्रम जारी छ।

आजकाल ट्विटरलगायत सोसल मिडियामा खुब व्यंग्य कसिरहनुभएको छ नि ?

नेपालमा राजनैतिक क्रान्ति सोचेभन्दा बढी स्पिडमा भयो। यो स्वागतयोग्य कुरा हो। यो परिवर्तनले आर्थिक, सामाजिक क्रान्तितर्फ कनिकुथी सबैलाई धकेल्दै लगेको छ।

तर, यो तीनवटै क्रान्तिको सफलताका लागि चाहिने मुख्य साधन भनेको सांस्कृतिक क्रान्ति हो। यता ध्यान कम गएको छ। मैले यसतर्फ घचघच्याउने कोशिस गरेको मात्र हुँ।

कस्तो सांस्कृतिक क्रान्ति ?

आचरण, संस्कार, नैतिकता, इमानदारिता, आदर, परोपकार, त्याग, निष्ठा, प्रतिबद्धता यी सबै सांस्कृतिक गहना हुन्। तपार्इंले तपार्इंको मुखबाट निस्केको वाणीलाई तपाईंंले नै इज्जत गर्नुभएन भने अरू कसले गर्छ ?

तपाईंं अरूबाट जुन मान–मर्यादा खोज्नुहुन्छ त्यसको उदाहरण पहिला तपाईंं नै बन्नुपर्छ कि पर्दैन ? नेता पवित्र नभएसम्म राजनैतिक, आर्थिक, सामाजिक क्रान्ति सफल हुँदैन। उज्यालो परिणाम आउँदैन। क्रान्तिमध्ये पनि क्रान्ति नेताचाहि सांस्कृतिक क्रान्ति हो।

तपाईंले भनेका यी कुरा त धर्मसंग सम्वन्धित विषय होइनन र ?

तपाईंंं आस्तिक हुनुस् वा नास्तिक, यो तपाईंको निजी विचार हो। जे बन्दा पनि हुन्छ। खुलेर बन्नुस्, तर ढोगी र नौटंकीचाहिँ नबन्नुस्। त्यो अपराध हो। जहाँसम्म धर्मकर्म र सांस्कृतिक मूल्यको कुरा छ, यी एकै होइनन्।

सांस्कृतिक क्रान्तिले धर्मकर्म वा कर्मकाण्डको कुरा गर्दैन। यसले आध्यात्मिकताअर्थात् आध्यात्मिक मूल्य, चरित्र, व्यवहार र संस्कारलाई सर्वोपरी मान्दछ। यो बुझौं कि धर्मकर्म र आध्यात्मिक मूल्य फरक कुरा हुन्।

आध्यात्मिक मूल्य अनुकरण गर्ने कुरामा वर्तमान सरकार अनुदार छ भन्ने तपाईंको मान्यता हो ?

वर्तमान सरकार मात्र होइन, अरू पनि। राजनीतिक दल वा नेतामा खोई आध्यात्मिक प्रेरणाले काम गरेको ? के भ्रष्टाचार, बलात्कार, व्यक्ति हत्याविरुद्ध साझा प्रतिबद्धता देखिनुपर्ने होइन र ?

निर्वाचनमा मतदाताको महत्व घटेको छ।पैसा र पाखुरा निर्णायक बनेको छ। हाम्रो मौलिक सांस्कृतिले उल्लेख गरेको जनता जनार्दनलाई फेरि केन्द्रबिन्दुमा ल्याउन निर्वाचन प्रणालीमै सुधार गर्न सबै पार्टी लाग्नुपर्ने होइन र खोई यसमा कसैको ध्यान गएको ?

वर्तमान सरकारको डेढ वर्षको कार्यकालको समीक्षा गर्दा कस्तो देख्नुहुन्छ ?

म प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई यस अर्थमा तारिफ गर्छु कि उहाँले सपना देख्नुभएको छ। सपना गन्तव्य पनि हो। सपना नदेख्ने नेताहरू यथास्थितिकै चक्कर मारेर बस्छन्। उहाँको समस्या भनेको सपना कार्यान्वयनमा ल्याउने न कार्ययोजना छ न त गतिलो टिम।

उहाँको मुख त राम्रोसँग चल्छ तर हात, खुट्टा, आखा र कान चल्दैन। जहासम्म सरकारको कुरा छ यसले इतिहासमै कसैले नपाएको स्वर्णिम मौका पाएर पनि सदुपयोग गर्न सकेको देखिँदैन।

सरकारको त राम्रो काम गरिरहेको दाबी छ नि ?

त्यही दाबी पनि नगरे त झण्डा र डण्डा बुझाएर हिँड्नुपर्छ अनि के गरुन् त ? म यसो २०१६/०१७ सरकार र अहिलेको सरकारको तुलना गर्छु। अहिलेको सरकारलाई २०७२ को संविधानको अथाह अधिकार छ। ८० प्रतिशतभन्दा साक्षर जनसंख्याको विश्वास छ।

दुई तिहाइ स्थानीय सरकार, संघीय संसद् र शतप्रतिशत प्रदेश सरकारको समर्थन छ।खराब नियत नराखी काम गर्छु भन्ने हो भने सहयोगी दाता, सक्षम र उत्साही प्राइभेट सेक्टर, गैरसरकारी, सामाजिक संघ–संस्थाहरू छन्।

तर पनि प्रधानमन्त्री ओली आफैंले देखेको सपना पूरा गर्न असफल हुनुभएको छ।प्रधानमन्त्री ओलीमाथि धेरैको विश्वास छ। तर, उहाँले कसैलाई विश्वास गर्न सक्नुभएन।

यी सबै अवस्था उतिसारो नरहँदा पनि बीपीले उतिखेर सपना पनि देखे र त्यो सपनालाई कार्यान्वयन पनि गरेर देखाउने प्रयास गर्नुभएको थियो।

नेपाली कांग्रेसले पनि त आफ्नो उपस्थिति देखाउन सकेन भन्ने चर्चा छ नि ?

मैले अघि भन्न छुटाएछु। वर्तमान सरकारले अरू त अरू प्रमुख प्रतिपक्ष दलसमेत सहयोगी पाएको छ। प्रतिपक्ष भन्दैमा जथाभावी विरोध गरेर हिँड्दैन। तोडफोड, आगजनी गर्दैन।

कांग्रेस भनेको जे भए पनि लोकतान्त्रिक पहिचानमाथि हिलो लाग्ला कि भनेर डराउने पार्टी हो। कांग्रेसले मर्यादा नाघेर केही गर्दैन र गर्नु पनि हुँदैन।

तपाईंको कुरा सुन्दा त कांग्रेस र नेकपा परिपूरक पार्टी हुन् त ?

ठीक शब्द ल्याउनुभयो तपाईंले। हामी परिपूरक नै हौं। नेकपा वास्तवमा कम्युनिस्ट पार्टी होइन। हामी पनि पुँजीवादी पार्टी होइनौं। नेकपाले आफूलाई लोकतन्त्रवादी भन्छ। हामी पनि आफूलाई वामपन्थी भन्छौं। म थोरै प्रस्ट पारिहालुँ, कम्युनिस्ट भन्नु र वामपन्थी भन्नु एउटै होइन।

धेरै अन्तर छ।वामपन्थी हुनुभनेको यथास्थितिवादविरुद्ध विद्रोह गर्नु हो। नेपालमा राणा, पञ्चायत, राजा सबैका विरुद्ध विद्रोह गर्ने नाइके कांग्रेस नै थियो।

अर्को कुरा, केही समस्या नेकपाभित्र पनि छ र हामीभित्र पनि छ। उसले कम्युनिस्ट शब्द च्यापेर दुनियाँलाई बेबकुफ बनाइरहेको छ भने हामीले वामपन्थी भन्न हिचकिचाएर ठूलो जनमत गुमाइरहेका छौं।

यो त अलि सैद्धान्तिक कुरा मात्र भएन र ?

त्यसो होइन। नेपाली कांग्रेस र नेकपाको उद्भवकालदेखिकै राजनीतिक घटनाक्रम हेर्नुहोस्। व्यावहारिक तहमै यिनीहरू परिपूरक छन्। २००७ साल आसपासका नेकपाका लगभग सबै नेता कुनै न कुनैरूपमा कांग्रेसमा काम गरेका कार्यकर्ता थिए।

२०१७ सालको घटनापछि केही समय नेकपा पार्टी कन्फ्युजनमा रहे पनि पछि नेपाली कांग्रेसको पदचापमा साथ दिँदै आएको हो।जनमत संग्रहमा गल्ती गरेर झण्डै जनस्तरमा विश्वास गुमाएका केही घटकलाई २०४६ सालमा वाममोर्चा गठनमा कांग्रेसले सघाउ पुर्याएर साख जोगाइदिएको हो।

२०४६ सालको जनआन्दोलन र २०४७ सालको संविधान निर्माणमा यिनीहरूबीच एक–अर्काको साथ सहयोग रह्यो।माओवादी द्वन्द्वसँग जुध्न र द्वन्द्व समाधान गर्न एमाले र कांग्रेस सँगै उभिएकै हो।

अहिले पनि नेकपाविरुद्ध नेपाली कांग्रेस उत्तेजित ढंगले प्रस्तुत हुने पक्षमा छैन। नेकपालाई लोकतन्त्रप्रति व्यवहारतः इमानदार बन्न र नेपाली जनता हेरेर परिणामदायी काम गर्न हाम्रो सुझाव छ। हामी असफल नेकपा हैन सुधारिएको नेकपा चाहिरहेका छौं।

यही हिसाबले नेकपाले समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल पार्न सक्ला त ?

एकदम सक्दैन। ऊ जताततै अल्मलिएको छ। को सुखी छ भन्नुस् त ? कर्मचारी व्यवस्थापन गर्ने सामान्य क्षमता पनि दखिएन। शिक्षक, प्राध्यापकमाथि प्रतिशोध साध्ने काम मात्र भएको छ।

किसान उपेक्षित छन्। मिडियाकर्मी, उद्योगी, व्यपारीले व्यावसायिक वातावरण खोजिरहेका छन्। वर्तमान सरकार यसमा गम्भीर छैन।महँगी, भ्रष्टाचार बढेको छ। उपभोक्ता आतंकित छन्।

जनताको आयस्रोत बढाउने योजना छैन। कर मात्र बढाएर के गर्न खोज्या ? हिजो गैरसरकारी संघ–संस्थाको आडमा फलेफुलेका नेकपा संगठन आज तिनैमाथि वैरीले झैं झम्टिएर बस्या छन्।

पर्यटन वर्षको कार्यक्रम घोषणा गरेको छ तर पर्यटन व्यवसायीलाई विश्वासमा लिएर अघि बढ्ने इच्छाशक्ति देखाएको देखिँदैन। यसरी कहाँ हुन्छ ? जनतालाई निरास र अत्यासमा राखेर कसरी बन्छ समृद्ध नेपाल ?

हिजो सबै कांग्रेसले लथालि·, भताभु· पारेको थियो। त्यसलाई ठीक ठाउँमा ल्याउन नै समय लाग्यो भन्ने भनाइ छ नि त सरकार पक्षको ?

केही क्षेत्र हिजो सुमधुर नभएको पक्कै हो। तर, कांग्रेस एक्लैले लथालि·, भताभु· पारेको होइन। २०४६ साल पछिको २५ वर्ष सत्ता साझेदारीका हिसाबले नेपाली कांग्रेस र एमालेको बराबरी हिस्सेदारी रह्यो। माओवादीले त घोषितरूपमै क्षत–विक्षत बनाएकै हो।

त्यसैले विगतका कमी–कमजोरीका लागि एकलरूपमा कांग्रेसलाई दोष दिएर उम्कन खोज्नुभनेको आफ्नो नालायकीलाई छिपाउन खोज्नु मात्र हो।

त्यो प्रयत्न बेक्कार छ। अब आरोप–प्रत्यारोप वा गालीको राजनीतिको अर्थ छैन। जसको हातमा जनताले जनमत सुम्पेका छन् उसले कबुलअनुरूपमको काम गरेर देखाउनुपर्छ।

अहिले देशभरि उपनिर्वाचनको माहौल तात्दै छ। जनताको बीच सबैले फेरि एकपटक परीक्षा दिने त होला नि? कांग्रेसमा उम्मेदवार छनोट कसरी हँुदै छ ?

 उम्मेदवार छनोट सम्बन्धमा मेरोचाहिँ अलि छुट्टै राय छ। हामीले परम्परागत विधि, प्रक्रियामा अल्झनुहँुदैन। पार्टीमा भोट जसले जम्मा गर्ने हो उम्मेदवार छनोट गर्न पनि उनीहरूलाई नै जिम्मेवारी दिनुपर्छ। यसको शुरूआत कमसेकम कांग्रेसले गर्नुपर्छ।

जनस्तरमा ठ्याक्कै को बढी लोकप्रिय छ भन्ने कुरा माथिका नेतालाई के थाहा ?घात–अन्तरघात कम गर्ने र जनताले रुचाएको व्यक्तिलाई टिकट दिने हो भने सम्बन्धित क्षेत्रभित्रका क्रियाशील सदस्यहरूको मतदानबाट उमेदवार छनोट गर्नुपर्छ।

लोकतन्त्रवादी कांग्रेसले निर्णय प्रक्रियामा थप लोकतान्त्रिक बनाउँदै अरू दलका लागि समेत उदाहरण बन्नुपर्छ।

त्यस्तो वातावरण बन्ने सम्भावना छ त कांग्रेसभित्र ?

वातावरण त बनाउने हो। परिस्थितिको गाम्भीर्यता अब पनि नबुझेर हुन्छ ? कांग्रेस केन्द्रीकरणमा विश्वास गर्ने पार्टी होइन।
विकेन्द्रीकरणमा जानै पर्छ। कम्युनिस्टचाहिँ लोकतान्त्रिक बन्दै आउने अनि हामीचाहिँ निरंकुश बन्दै जाने हुन सक्दैन।
कांग्रेसको भावी महाधिवेशन र नेतृत्व छनोटलाई कसरी हेर्नुभएको छ ?

एउटा गल्ती हामीले गरिसक्यौं। अहिलेसम्म जिल्ला र प्रदेशको अधिवेशन टुंगाइसक्नुपर्ने थियो। यतिखेर पार्टीको भावी नीति कार्यक्रममाथि हामीभित्र बहस हुनुपथ्र्यो।
जहाँसम्म आउँदो महाधिवेशनबाट नेतृत्व छनोटको कुरा छ, वर्तमान सभापति शेरबहादुर देउवाबाट नै नेतृत्व परिवर्तनको प्रस्ताव आउनुपर्छ भन्ने मलाई लाग्छ।राजनीति गर्नेले नेपालमा पद प्राप्तिकै हिसाबले पनि लक्ष्य राख्ने के हो ?
पार्टीभित्र सभापति बन्ने, मुलुकभित्र प्रधानमन्त्री बन्ने होइन र ? हाम्रा सभापति शेरबहादुर देउवाले यी दुवै प्राप्त गरिसक्नुभएको छ। अब उहाँले थप लालशा देखाउनुहँुदैन।

नभए उहाँ र पार्टी दुवैलाई थप क्षति हुन्छ।अन्यथा निर्वाचनबाट भए पनि नेतृत्व परिवर्तन गर्नुपर्छ। सभापतिमा रामचन्द्र पौडेलदेखि गगन थापासम्म जो बन्दा पनि हुन्छ।

मुख्य कुरा कांग्रेसका लागि नेतृत्व परिवर्तन प्रमुख आवश्यक हो। मुलुकमा सबै प्रमुख परिवर्तनको नेतृत्व गर्ने कांग्रेस अब आफैंभित्र परिवर्तित हुन आवश्यक छ। परिवर्तनको अगुवाइ सभापति आफैंले गर्नुपर्छ।

  •  प्रधानमन्त्री ओलीको मुख त राम्रोसँग चल्छ तर हातखुट्टा, आँखा र कान चल्दैन। यसले इतिहासमै कसैले नपाएको स्वर्णिम मौका पाएर पनि सदुपयोग गर्न सकेनन्। 
  • क्रान्तिमध्ये पनि क्रान्ति नेताचाहिँ सांस्कृतिक क्रान्ति हो। नेता पवित्र नभएसम्म राजनैतिक, आर्थिक, सामाजिक क्रान्ति सफल हँुदैन।
  • वास्तवमा नेकपा कम्युनिस्ट पार्टी होइन र कांग्रेस पनि पनि पुँजीवादी पार्टी होइन। नेकपाले कम्युनिस्ट शब्द च्यापेर दुनियाँलाई बेबकुफ बनाइरहेको छ।
  • निर्वाचनमा मतदाताको महत्व घटेको छ। पैसा र पाखुरा निर्णायक बनेको छ।
  • कांग्रेस भनेको जे भए पनि लोकतान्त्रिक पहिचानमाथि हिलो लाग्ला कि भनेर डराउने पार्टी हो।
  • नेकपालाई लोकतन्त्रप्रति व्यवहारतः इमानदार बन्न र नेपाली जनता हेरेर परिणामदायी काम गर्न हाम्रो सुझाव छ। हामी असफल नेकपा हैन सुधारिएको नेकपा चाहिरहेका छौं।  
  • अब आरोप–प्रत्यारोप वा गालीको राजनीतिको अर्थ छैन। जसको हातमा जनताले जनमत सुम्पेका छन् उसले कबुलअनुरूपमको काम गरेर देखाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्