भ्रष्टाचारः सबैको लागि चिन्ताको बिषय



कृष्णमणि पराजुली
                                                                                             पूर्ब उपसचिब
                                                                                             नेपाल सरकार

नेपाली समाजमा भ्रष्टाचार नबुझ्ने र नसुन्ने सायदै कोही होलान् । साना साना बच्चाहरुले पनि बोली चालीमा यो शब्दको प्रयोग गरेका हुन्छन् । यहां सम्मकी केटाकेटीहरु खेल खेली रहेको समयमा कसैले गडबडी गरेको छ भने उ फलानाले भष्टाचार गर्यो भनेका हुन्छन् । आजकाल त बुढापाकाहरुले समेत यो शब्द बारम्बार प्रयोग गरेका पाईन्छन् । उद्योग धन्दा, कलकारखाना, सरकारी अड्डा अदालत, स्थानीय सरकार, प्रदेश सरकार, बिद्यालय, बिश्वबिद्यालय, कलेज, मन्त्रालय, अस्पाताल आदि सबै ठाउंमा यो शब्दले महत्व पाई आएको छ । भनाईको अर्थ यो शब्द जहां तही फैलिएको छ । यसरी भ्रष्टाचार मौलाउंदै जानु राज्यको अस्मीता माथि दाग लाग्नु र नेपाली जनतामा निराशा आउनु सिबाय अरु केही हुन सक्दैन । त्यसैले हामी स्वाभिमानी नेपाली जनताको लागि भष्टाचार एउटा चिन्ताको बिषय हुन पुगेको छ ।
आजकाल भ्रष्टाचारको बिषयलाई लिएर धेरै पत्रपत्रिकाहरुले लेखि आएका छन् । मन्त्री देखि लिएर सामान्य कर्मचारीहरुले सजाय पाई आएकै पनि छन् । धेरै जसो सरकारी निकायहरु भ्रष्टाचार मुक्त भएका पाईंदैनन् । यसरी भ्रष्टाचार छताछुल्ल भएर कारबाही भईरहेको अबस्थामा समेत भ्रष्टाचार गर्नु हुन्न र यसले आफैलाई खान्छ भन्ने कुरा जान्दा जान्दै पनि भ्रष्टाचार भईनै रहेको छ , यो यक्ष्य बिषय हो ।

हालै महालेखा परिक्षकको कार्यालयले प्रस्तुत गरेको ५६ औं प्रतिबेदनलाई मध्य नजर गर्दा ६ खर्ब भन्दा बढिको बेरुजु औंलाईएको छ । आ.ब. ०७४।०७५ को मात्र १ खर्ब भन्दा बढिको बेरुजु देखिएको छ । राष्ट्रिय बजेटको करीब आधा जस्तो बेरुजु आउनुले पनि देशको आर्थिक अनुशासन कुन दिशातिर गएको रहेछ भन्ने कुरा स्वतःअनुमान गर्न सकिन्छ । हुनत सबै बेरुजु भ्रष्टाचार नहुन सक्दछन् । तर भ्रष्टाचार सम्बन्धि सबै कारोबार बेरुजु हुन सक्दछन् । यसरी बर्षै पिच्छे महालेखाले बेरुजु उठाउंदै जाने, सरकारले भने त्यसलाई फर्छौट नगर्ने हो भने अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि कस्तो होला ? सबैले बुझ्नु पर्ने भएको छ ।
गत बर्षमा मात्र भएका केही घटनाहरुलाई हेर्ने हो भने पनि चिन्ता लिनु पर्ने हुन आउंछ । ज्याला मज्दुरी गर्ने उउटा श्रमिक, भोको पेटमा पटुका कसेर काम गर्ने कृषक, ऋणमा डुबेको उद्योगी, घाटामा परेको ब्यापारी, परिवार धान्न नसकेको राष्ट्रसेवक जस्ताले तिरेको करमा भएको भ्रष्टाचारले जो कोहीलाई चिन्ता लाग्नु स्वभाबिकै हो । अब प्रश्न उठ्छ , भ्रष्टाचार को बाट हुन्छत ?

भ्रष्टाचार मुलतःराजनीति नेतृत्व र कर्मचारी तन्त्र बाट भएको पाईन्छ । सबै राजनीति नेतृत्व र कर्मचारीलाई भ्रष्टाचारमा मुछ्न पनि सकिदैन । तर, नेपालमा जति पनि भ्रष्टाचारका घटना घटेका छन् , ती सबै नै उच्च राजनीति तह र उच्च तहका कर्मचारी बर्ग बाटै भई आएका छन् । यस सानो लेखमा भ्रष्टाचारको बिषयमा धेरै कुरा उल्लेख गर्न संभब नभएपनि प्रतिनिधि मूलक रुपमा केही घटनालाई उल्लेख गरीएको छ ।

पन्चायतकालमा धेरै भ्रष्टाचारका घटना भएपनि एक तन्त्रीय राजाको शासन भएको हुंदा तिनीहरु उपर खासै खोजबिन हुन सक्दैनथे । भ्रष्टाचार जस्तो जघन्य बिषय पनि राजाको ईच्छामा भर पर्ने गर्दथ्यो र धेरै जसो घटना गुप चुप हुने गर्दथे । राजाको अगाडि कस्ले बोल्ने । उच्च राजनीति बर्ग र उच्च प्रशासनिक तह सबैनै राजाको वरीपरी रहने भएकोले पनि एकातिर भ्रष्टाचार मौलाउंदै गएको थियो भने अर्को तिर भ्रष्टाचार बारे यदाकदा मात्र कारबाही चलेको हुन्थ्यो । अब राजाको शासनको अन्त्य भई सकेको, देशमा बहुदलीय शासन र त्यसपछि संघीय गणतन्त्रात्मक शासन ब्यबस्था आईसक्दा पनि के कारण बाट भ्रष्टाचार मौलाउंदै गएको हो खोजीको बिषय हुन गएको छ ।

सुक्ष्म रुपमा अध्ययन गर्ने हो भने बहुदलीय ब्यबस्थाको प्रादुर्भाब संगै देशमा भ्रष्टाचार मौलाउंदै गएको देखिन्छ । उच्च राजनीतिक तह बाट धमिजा र लाउडा जस्ता ठूला काण्डहरु भएकै हुन् । प्रहरी प्रशासन जसले जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने र भ्रष्टाचारजन्य घटनामा आबश्यक अनुसन्धान गरी मुद्दा दायर गर्नु पर्ने कर्तब्य भएका उच्च प्रहरी प्रमुखहरु आफैले भ्रष्टाचार गरेका कुरा अदालत बाट प्रमाणित भई सजाय भोगी रहेको अबस्थामा भ्रष्टाचार माथि बाटै भई आएको प्रष्टनै देखिन्छ ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग जसले भ्रष्टाचार सम्बन्धि कामको अनुसन्धान गरी मुद्दा दायर गर्ने दायित्व छ उसैका आयुक्त घुस प्रकरणमा परि मुद्दा खेपी रहेका छन् । यस बाट प्रष्ट हुन आउंछकि मुलतः भ्रष्टाचार माथि बाटै हुन्छ । यसरी भ्रष्टाचार सम्बन्धि गतिबिधि बढ्दै जानुमा राजनीतिले प्रशासनलाई थेग्नु र प्रशासनले राजनीतिलाई थेग्नुनै हो । अर्को शब्दमा भन्ने हो भने यी दुईले भ्रष्टाचार गर्ने मामलामा एक अर्कालाई सहयोगी भूमिका निर्बाह गरेका हुन्छन् ।

यिनीहरुको आपसी सहयोगी भूमिकानै भ्रष्टाचार मौलाउनु हो भन्दा अत्युक्ति नहोला । गर्न सक्नु पर्दछ, जे गरेपनि हुन्छ भन्ने प्रबृत्तिको बिकास हुंदै गएको पाईन्छ ।
संघीय लोकतान्त्रीक गणतन्त्रात्मक ब्यबस्थालाई राज्यले अंगिकार गरी सकेको हालको अबस्थामा निश्चयनै भ्रष्टाचार घट्दै जानेछ भनी जनताले आशा गरेका थिए । तर घट्दै जानुका सट्टा बढ्दै गएकोले झन् जनतामा निराशा बढ्न गएको छ । यसरी निराशा बढ्दै जाने हो भने हाम्रो शासकीय प्रणालीमा समेत प्रश्न आउन सक्नेछ । तसर्थ हामी सबै सतर्क हुनु पर्ने स्थिति देखा नपरेको भन्न सकिदैन ।

नेपाल एक अल्प बिकसित देश हो । जहां शिक्षा, स्वास्थ्य, खानेपानी, बिकास एबं निर्माणका पूर्बाधारहरु , रोजगारी आदिको बिकास हुन नसकेको कारण बाट हामी बिश्वका गरीब देशहरुमा परेका छौ । हुनत प्रधानमन्त्रीले अब हाम्रो अल्प बिकसित अर्थात यल् ( ीभबकत) हट्छ भने पनि यो हटाउन अझ धेरै बर्ष कुर्नु पर्नेनै हुन्छ । भन्दैमा सबै कुरा आउंदैनन् ।

आउने भएको भए मेलम्चीको पानी धेरै बर्ष पहिलेनै आउने थियो , शिक्षा स्वास्थ्यमा हामी धेरै अगाडि पुगि सक्थ्यौं होला, कृषिमा आधुनिकिकरण भई निर्यातमुखी हुन्थ्यो होला, दैनिक १५०० भन्दा बढिका दरले खाडी मुलुक छिर्दै गरेका युवाहरुले आफ्नै देशमा रोजगारी पाई मनग्गे आय आर्जन गर्न सकेका हुन्थे होलान् । खैत बिकास ? त्यसकारण नेताका बोली र भाषणले मात्र बिकास हुदों रहेनछ भन्ने कुरा बुझनु पर्ने रहेछ । आफु निर्बाचित हुनको लागि जनताको आंखामा छारो हाली भ्रमको खेती श्रृजना गर्नु बाहेक हालको राजनिती नेतृत्वले केही गर्न नसकेको कुरा छर्लङ्ग हुंदै आएको कसैबाट छिपेको छैन ।

अझै भन्ने हो भने हालका बर्षहरुमा ठूला ठूला भ्रष्टाचारले निकै तीब्ररुप लिएको देखिन्छ । ३३ किलो सुनकाण्ड, चुडामणि शर्मा संग सम्बन्धित कर फर्छौट आयोगले फर्छौट गरेको ठूलो धनराशीको रकम, वाईडबडि खरीद प्रकरण, आयल निगमले खरीद गरेको जग्गा काण्ड, एनसेलको पूंजिगत लाभकर, तारागाउंको जग्गा काण्ड र हालै बालुवाटारको जग्गाको स्वामित्व हस्तान्तरण जस्ता ठूला र देशकै आर्थिक अबस्था डुवाउने जस्ता जघन्य काण्डहरु चर्चामा आएका छन् । तत्काल कारबाही गर्ने जस्तो बाहना सरकारले देखाए पनि हाल यी सबै काण्डहरु सेलाउंदै गएको अबस्था छ ।

उच्च तहले भ्रष्टाचार गर्ने र उच्च तह बाटै कारबाही चलाउने हुंदा यी सबै काण्डहरु अन्ततोगत्वा सेलाउंदै जाने परिपाटीले प्रशय पनि पाउंदै आएको सन्दर्भमा भ्रष्टाचार सम्बन्धि कारबाही केवल औपचारीकतामा मात्र सिमित हुन गएको छ । यी केही प्रतिनिधिमूलक काण्डहरुको मात्र भएपनि सरकारले मुद्दा चलाई कारबाहीलाई टुंगोमा पुर्याउन सके पनि सरकार प्रति जनताको बिश्वास बढ्न जाने थियो ।

सामान्य नागरिकको बुझाईमा उच्च पदस्थ राजनीति कर्मि तथा कर्मचारीहरुले देशको बिकास गर्नेनै हुन् भन्ने बुझाई रहेको हुन्छ र यिनीहरु बाट अनैतिक कार्य हुंदैनन् भन्ने बिश्वास पनि रहेको हुन्छ । तर यो बुझाई बिपरित हुन गएको छ । माथि उल्लेख गरीएका केही घटनाहरुले पनि देशलाई बदनामी र आर्थिक धक्का पुर्याउने भ्रष्टाचारहरु माथि बाटै हुंदो रहेछ भन्ने प्रष्ट भएको देखिन्छ । भ्रष्टाचार निबारण गर्नको लागि जसले जिम्मेवारी पाएको छ उ नै भ्रष्टाचारमा मुछिन पुग्दछ भने भ्रष्टाचार कसरी उन्मुलन गर्न सकिन्छ । प्रश्न पेचिलो बन्नु स्वभाबिकै हो ।

                                              भ्रष्टाचारका कारक तत्वहरु

नेपालमा जतिनै भ्रष्टाचारका घटना घटेका देखिन्छन् मुलतः तिनीहरु सबैनै राजनीति र प्रशासनिक क्षेत्र बाटनै हुने गरेका छन् । यदि भ्रष्टाचारलाई न्यूनिकरण गर्ने हो भने माथिल्लो तह बाटै अनुसन्धान एबं छानबिन गरीनु पर्दछ । पानीको मुहान नै धमिलो भएपछि तल बग्ने पानी धमिलो हुनु स्वभाबिक पनि हो । नेपालमा भ्रष्टाचार बढ्दै जानुमा दण्डहीनता पनि एक कारण हो । जति भ्रष्टाचार गरे पनि राजनीति संरक्षण हुने प्रबृत्तिको बिकासले गर्दा पनि भ्रष्टाचार फैलिंदै गएको छ । हालै गठन भएका स्थानीय तहहरुमा समेत भ्रष्टाचार हुनुले जनता निराश भई रहेका छन् भने अर्कोतिर सीमित साधन र श्रोतको समेत हदै सम्मको लापरबाही भएको छ ।

जब जब निर्बाचनको मिति नगिज हुंदै आउंछ तब तब भ्रष्टाचारले फड्को मारेको पाईन्छ । हाम्रो निर्बाचन प्रणाली ज्यादै खर्चिलो र महंगो भएको कारणले गर्दा पनि नेता तथा कार्यकर्ताहरु भ्रष्टाचारजन्य गतिबिधिमा लागेका पाईन्छन् । कुण्डले मुण्डलेको प्रयोग, बिचौलियासंग सांठगांठ, चन्दा आतंक, ठेक्कापट्टासंग सरोकार आदि जस्ता अनैतिक गतिबिधि बाट पनि भष्टाचारले मलजल पाएको छ ।

निर्बाचनको समयमा अन्धाधुन्ध गरेका खर्चलाई राजनीतिज्ञहरुले निर्बाचन पछिको समयमा आफूले गरेको खर्च उठाउनको लागि बिभिन्न उपाय एबं छिद्रहरु खोजी गरेकै हुन्छन् , परिणामस्वरुप देश भ्रष्टाचारमा फस्न गएको छ ।

भ्रष्टाचारकै कारण बाट देशका अधिकांश आर्थिक उत्पादनका क्षेत्रहरु लथालिंग भएका छन् । कतिपय औद्योगिक कलकारखानाहरु बन्द भई सकेका छन् भने कतिपय रुग्ण अबस्थामा रहेका छन् । त्यस्तै गरी केही राम्रा उद्योगहरुले पनि क्षमतामा चलाउन सकि रहेका छैनन् । हाम्रा औद्योगिक ब्यबसायहरु पनि निर्यातमुखी हुन सकेका छैनन् भने अर्को तर्फ आन्तरिक रुपमा पनि महंगो हुन गएकोले खपत गर्न पनि सजिलो देखिदैन । यसकारणले गर्दा पनि हाम्रा उत्पादन महंगा हुंदै गएको परिणामस्वरुप निर्बाचन पनि खर्चिलो हुन गएको छ ।

जीवनशैलीमा आएको परिबर्तनले पनि भ्रष्टाचारलाई बढावा दिएको छ । आयातित आधुनिक संस्कृति को अनुकरणले पनि हाम्रो नैतिकतामा प्रश्न चिन्ह खडा गरेको छ । महंगा सामाजिक तथा सांस्कृतिक ब्यबहारले पनि भ्रष्टाचार उन्मुख भएको छ ।

                                                                       नीतिगत भ्रष्टाचार

अन्य भ्रष्टाचार भन्दा नीतिगत भ्रष्टाचार ज्यादै डरलाग्दो हुन्छ । यो सानो आकारको हुंदैन । उच्च तह बाट हुने नीतिगत निर्णय ले ठूला ठूला भ्रष्टाचारका काण्डहरु हुने गर्दछन् । नीतिगत भ्रष्टाचार भन्नुनै उच्च ओहोदाका ठूलाबडा बिच सांठगांठ बाट हुने हुंदा सर्ब साधारण नागरिकले थाहा पाउन सक्दैनन् र भित्र भित्र मौलाउंदै गएको हुन्छ । धमिराले जसरी भित्र भित्रै घरलाई कमजोर बनाएको हुन्छ । त्यसरीनै भ्रष्टाचारले देशलाई कमजोर बनाएको हुन्छ ।

जब सरकारले आगामि बर्षको बजेट पेश गर्ने समय आउंछ, अनि उद्योगी ब्यापारीहरु आफ्नो अनूकुलको निर्णय गराउन राजनीतिज्ञहरु प्रति आर्थिक चलखेल गराउने तर्फ लागि परेका हुन्छन् । आफूसंग भएका बस्तुको मूल्य बृध्दि गराई आर्थिक लाभ लिन को लागि पनि मिलेमतो गरेकै हुन्छन् । यस प्रकारले अदृश्य रुपबाट चलखेल गरी भ्रष्टाचारले प्रसय पाएको हुन्छ । ठूला ठूला ठेक्का पट्टाको सम्बन्धमात कसरी आर्थिक चलखेल हुन्छ भन्ने बारेमात सर्बबिदितै छ ।

    भ्रष्टाचार उन्मुख गतिबिधि

भ्रष्टाचार उन्मुख क्रियाकलाप अन्तर्गत मानिसका चालचलन, रहनसहन, लवाईखवाई, भोजभतेर, सामाजिक चाडपर्ब आदि पर्दछन् । यिनीहरुको खर्चमा भएको बृध्दिले पनि भ्रष्टाचारलाई निम्त्याउने गरेको हुन्छ । नेता, कार्यकर्ता एबं उच्च कर्मचारीको पहिलेको र अहिलेको आर्थिक अबस्थाको तुलनात्मक अध्ययन गर्दा पनि सहजै अनुमान लगाउन सकिन्छकि राजनीति र सरकारी जागिर बाट मात्र कसरी यत्रो आर्थिक सम्पन्नता आउन सक्यो ?

उनीहरुको स्वामित्वमा रहेका ठूला ठूला महंगा भवनलाई मात्र उदाहरणको रुपमा लिएपनि यथेष्ट प्रमाण हुन सक्दछ । हालका गतिबिधिहरुलाई हेर्दा पनि राजनीतिलाई ब्यापारिक पेशाको रुपमा लिएको देखिएको छ । निर्बाचनमा आफूले गरेको खर्चलाई जसरी भएपनि उठाउने उद्देश्यले उनीहरुको ध्यान बिकास निर्माण तीर भन्दा कहां बाट सम्पत्ति आर्जन गर्न सकिन्छ , त्यस तर्फ केन्द्रीत भएको छ ।

देशमा भ्रष्टाचार बढ्दै गएको छ भन्ने यथार्थलाई कसैले पनि ईन्कार गर्न सक्दैन । हालै सम्पन्न भएको लगानी सम्मेलनमा अमेरीकी लगानीकर्ताको न्यून सहभागिताले पनि हामीलाई झस्काएको छ । यसै सन्दर्भमा अमेरीकी राजदुतले नेपालमा भ्रष्टाचार छ भने अमेरीकी लगानी आउंदैन भनेको कुराले पनि अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि धमिलिएको देखिन आउंछ । आबश्यक मात्रामा अन्तर्राष्ट्रिय लगानी भित्रिन नसक्नुमा एक प्रमुख कारण भ्रष्टाचारनै भएको शंका उब्जनु देशको लागि ठूलो दुर्भाग्य हो ।

देशमा भ्रष्टाचार मौलाउंदै जानु निश्चयनै राम्रो संकेत होईन । यसले आफ्नो देशलाई मात्र होईन, अन्य देशलाई समेत असर पारेको हुन्छ । त्यसैले भ्रष्टाचारीलाई कानूनको दायरमा ल्याउन अन्तर्राष्ट्रिय जगतले समेत सहयोग पुर्याएका हुन्छन् ।

आजका दिनमा भ्रष्टाचार सबैको लागि चिन्ताको बिषय बन्न गएको छ । राज्यका प्रमुख अंगहरु कार्यपालीका, न्यायपालीका ब्यबस्थापिका र राज्यको चौथो अंगले भ्रष्टाचार निर्मूल गर्न बचनबध्द भएपनि यथार्थमा हुन सकेको देखिदैन । त्यसैले जनता जनार्दन देखि लिएर राज्यका प्रमुख अंगहरुले प्रतिबध्दता जनाए पनि देशमा भष्टाचार मौलाउंदै जानु निश्चयनै सबैको लागि चिन्ताको बिषय बन्न गएको छ ।
                                             

                                                                                          अबको बाटो

भ्रष्टाचारलाई निर्मुल गर्न नसकिए पनि यसलाई न्यूनिकरण गर्ने तर्फ सरकार प्रतिबध्द हुनु पर्दछ र तदनुरुप कार्य अगाडि बढाउनु पर्दछ । हालै प्रधानमन्त्रिले म पनि भ्रष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न भन्ने जुन प्रतिबध्दता सार्बजनिक गर्नु भएको छ , त्यसलाई मूर्तरुप दिन सक्नु भयो भने निश्चयनै बोलीको सार्थकता हुनेछ । अन्यथा बोली बोलीमानै सीमित रहने छ । भ्रष्टाचार निबारण गर्न कानूनले मात्र हुंदो रहेनछ भन्ने कुरा हामीले बुझि सकेका छौ । कानून त अनगिन्ती बनेकै छन् । मुख्य कुरो भनेको तिनीहरुको कार्यान्वयन हो ।

भ्रष्टाचारको शाब्दिक अर्थ हुन्छ भ्रष्ट आचरण । भ्रष्ट आचरण नहुनको लागि नैतिकताको बिकास गरीनु पर्दछ । भ्रष्टाचार गर्नु भनेको जघन्य अपराध गर्नु हो र यस बाट टाढै रहनु पर्दछ भन्ने सन्देश प्रबाह गर्नु पनि त्यतिकै महत्व हुन्छ । त्यसरीनै भ्रष्टाचार सम्बन्धि कानूनहरुलाई कडाईका साथ लागु गरीनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्