तिहारमा ६ जनाको मृत्यु, ११ जनाद्वारा आत्महत्या



सरोज यादव, विराटनगर।

प्रदेश प्रहरी कार्यालय विराटनगरले लागू गरेको विशेष सुरक्षा योजनाको परिणामस्वरूप कुनै ठूला अपराधको घटना नघटी यस वर्षको दीपावली सम्पन्न भएको दाबी गरेको छ।
चाडपर्वका अवसरमा हुने जुवातास, झैझगडा, चोरी लुटपाटजस्ता सामाजिक अपराधमा अघिल्लो वर्षको तुलनामा यस वर्ष निकै कमी आएको छ।

सुनसरीको धरान एरियामा घरेलु हात हतियारहरू देखाई धाकधम्की दिई लुटपाट गर्न खोज्ने वा ज्यान मार्ने धम्कीसमेत दिने ५ जनालाई हतियारसहित पक्राउ गरिएको छ।त्यस्तै ठूलो रकमको बाजी राखी जुवातास खेल्ने र खेलाउने ५८ जना जुवाडेलाई नियन्त्रणमा लिइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत एवं प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाले बताउनुभयो।

जुवा खालबाट ३० बुक तास, १६ थान कौडा र नगद ८ लाख ४३ हजार ५ सय ८२ रुपियाँसमेत फेला पारी बरामद गरिएको थियो। यस्तै दीपावलीभरिमा १ लाख १८ हजार बराबरको पटाका र पटाका ओसार पसारमा संग्लग्न २ जनालाई नियन्त्रणमा लिइएको छ।

यस वर्षको दीपावली अवधिभर १ नम्बर प्रदेशमा ४१ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ७ माइक्रोबस १, कार जिप १, ट्र्याक्टर १, ट्याम्पो ३, मोटरसाइकल २६ र साइकल २ वटा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

सो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने ५३ जना घाइते भएका छन्। यसै गरी दीपावलीभरिमा प्रदेशका विभिन्न स्थानमा ११ जनाले झुन्डिएर र ३ जनाले विषादी सेवन गरेर आत्महत्या गरेका छन् भने झुन्डिएर आत्महत्या गर्ने क्रममा २ जना र विषादी सेवनबाट १४ जना घाइते भएका छन्।

यस्तै विभिन्न स्थानबाट लडेर ४ जनाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरी कुटपिट तथा झैझगडा हुँदा १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। दीपावली गर्ने क्रममा ५ घरमा आगलागी हुँदा ४२ लाख बराबरको क्षति भएको छ।

यस्तै विद्युत् सर्ट भएर १० घरमा आगलागी भएको र अन्दाजी १ करोड ४५ लाख बराबरको क्षति भएको छ। आगलागीमा परी २ जनाको मृत्यु र ३ जना घाइते भएका छन्। अत्यधिक मादक पदार्थ सेवनका कारण १ जनाको मृत्यु भएको छ। यसै गरी पानीमा डुबेर १ बालकको मृत्यु भएको छ।

दीपावालीकै समयमा मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा भई खुकुरी हानाहान हुँदा ४ जना घाइते भएका छन्। यस्तै ४ वटा जबरजस्ती करणीका घटना भएका छन् भने नदीले बगाउँदा १ जना बेपत्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्