निर्वाचनलाई स्वच्छ बनाऊ



निर्वाचन आयोगले कात्तिक ८ गतेदेखि लागू हुने गरी आगामी मंसिर १४ गते उपनिर्वाचन हुने जिल्लामा आचार संहिता जारी गरेको छ । आयोगले आयोग ऐन–२०७३ को दफा २२ बमोजिम संघ, प्रदेश र स्थानीय तह तथा सरोकारवाला निकाय एवं व्यक्तिले पालना गर्नुपर्ने आचार संहिता जारी गरेको छ । त्यसमा निर्वाचन आचार संहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता–२०७३ रहेका छन् ।

प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहका प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडाध्यक्ष–४३ गरी कुल ५२ पदका लागि मंसिर १४ गते ३७ जिल्लाका विभिन्न क्षेत्रमा उपनिर्वाचन हुँदै छ । विगतका निर्वाचनझैं उपनिर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आचार संहिता लागू गरिएको आयोगले जनाएको छ । आयोगको अपिलपश्चात् निर्वाचन सम्पन्न नभएसम्म प्रचार–प्रसारमा संलग्न नहुने, नयाँ कार्यक्रम गर्न नहुने, भवन, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने, पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन मिल्दैन ।

त्यसै गरी कर्मचारी सरुवा, बढुवा गर्न वा काज खटाउन नहुने, तटस्थ र निष्पक्ष रहनुपर्ने, विदेश भ्रमणमा जान नहुने र निर्वाचनसम्बन्धी जिम्मेवारी दिन नहुनेसम्बन्धी विषय लागू गरिएको छ । राजनीतिक दलको हकमा निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म सामान्य आचरण र विषयगत आचरणका विषय लागू गरिएको छ ।

उम्मेदवारको हकमा निर्वाचनको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म सामान्य आचरण र विषयगत आचरण रहेका छन् । त्यसअन्तर्गत जुलुस, आमसभा, र्याली, बैठक, सवारीसाधन प्रयोग, प्रचार–प्रसारमा सञ्चारमाध्यमको प्रयोग, निर्वाचन खर्च, मौन अवधि, मतदानको दिन र अन्य आचरणसम्बन्धी विषय लागू गरिएको छ ।

आम सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था तथा पर्यवेक्षकका हकमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्राप्त नभएसम्म पालना गर्नुपर्ने आचरणसम्बन्धी विषय लागू गरिएको छ ।

कर्मचारीसम्बन्धी आचरणका सम्बन्धमा भने उपनिर्वाचन हुने जिल्लामा र स्थानीय तहको उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहका कर्मचारीको सम्बन्धमा मात्र लागू हुनेछ । आचार संहिता संघ र प्रदेशका मन्त्री, स्थानीय तहका पदाधिकारी, चारवटै सुरक्षा निकायका अधिकारी र निर्वाचनको काममा संलग्न कर्मचारीमा समेत लागू हुने आयोगले जनाएको छ ।

आचार संहिताको व्यहोरा प्रस्ट भए पनि राजनीतिक दल र अन्य समूह र व्यक्तिले सोझै वा घुमाउरो ढंगबाट आयोगको अपिललाई उल्लंघन गर्दै आएका छन् । तोकिएको मितिपश्चात् सभा–सम्मेलन नभए पनि पछिल्ला वर्षमा सामाजिक सञ्जाल, मोबाइल फोन जस्ता सञ्चार साधनमार्फत निर्वाचनको माहोललाई असर पुर्याउने क्रियाकलाप हुने गरेका छन् । निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सघाउनु दलहरूको पनि जिम्मेवारी र दायित्व हो । कुनै दलको क्षणिक स्वार्थले निर्वाचनको वातावरणलाई धमिल्याउने गतिविधि हुनुहुँदैन ।

लेखकहरूलाई अनुरोध

१२०० शब्दसम्मका उत्कृष्ट लेख–रचना एवम् छोटा पाठक–पत्रहरू
निम्न ठेगानामा पठाउनुहुन अनुरोध गरिन्छ।

email : [email protected], [email protected]

प्रतिक्रिया दिनुहोस्