प्रचण्ड–ओलीको खटपट



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच खटपट शुरु भएका समाचारहरू आइरहेका छन्। पछिल्लो समय उनीहरूबीचको सम्बन्ध ठीक नभएको उनीहरूका अभिव्यक्तिहरूबाट पनि सजिलै बुझ्न सकिन्छ। प्रचण्डले आफूहरूबीचको सम्बन्ध ठीक भएको बताए पनि कुरा प्रस्टै छ।

उनीहरूबीच केही न केही त भएकै छ। पछिल्ला घटनाक्रमको सिलसिला मुख्यरुपमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण, हाल हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणपछि दुवै अध्यक्षबीच खटपट भएको देखिएको छ।

एकपछि अर्को गर्दै तत्कालीन माओवादीका नेताहरूलाई फसाउने षड्यन्त्र भएको दोस्रो तहका नेताहरूले प्रचण्डलाई ब्रिफ गरेपछि प्रचण्ड पनि प्रधानमन्त्रीसँग असन्तुष्ट बनेको भन्ने समाचारमै पढ्न र सुन्न पाइएको छ। प्रचण्डले पछिल्लोपटक भेनेजुएला प्रकरण, पार्टी एकताका समयमा भएको समझदारीलगायतका विषयमा अर्का अध्यक्ष ओलीको भन्दा फरक धारणा बाहिर ल्याएर नेकपामा सबै कुरा ठीक नभएको देख्न सकिन्छ। प्रचण्डले पनि आफू पार्टी अध्यक्ष भए तापनि समानरुपमा जिम्मेवारी नपाएको गुनासो गर्दै आइरहेका छन्।

यसले पनि उनीहरूबीच खटपट भएको देखाउँछ। विगतमा अनेकौं प्रकरणमा विवाद भए पनि पछिल्लोपटक प्रधानमन्त्रीले अमेरिकी एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) परियोजनाका बारेमा दिएको अभिव्यक्तिले प्रचण्ड सशंकित भएका हुन्।

प्रधानमन्त्रीले समाचारमाध्यममा दिएको अन्तर्वार्तामा यसबारे सभामुख महरालाई आरोपित गर्दै स्पष्टरुपमा महराले बेठीक काम गरेको बताएका थिए। प्रधानमन्त्री ओलीले एमसीसी संसद्बाट अनुमोदन किन हुन नसकेको ?

भन्ने प्रश्नको जवाफमा सो अन्तर्वार्तामा भनेका थिए– त्यसमा तत्कालीन सभामुख कृष्णबहादुर महराले बेठीक काम गर्नुभयो । सरकारले टेबुल गरिसकेपछि अन्यत्रका दृष्टिकोणहरूका आधारमा, छलफलका आधारमा त्यसलाई अनुमोदनका लागि प्रस्तुत नगर्नु कर्तव्यभन्दा परको, सभामुखको पदको हैसियतको अनुशासन पालना नगरेको हो । कसैले उहाँलाई भनिदियो, अलिकति विलम्ब गर्नुपर्छ । त्यसपछि विभिन्न नेताहरूका अभिव्यक्तिलाई लिएर पनि विचार गरौं भन्नेतर्फ उहाँ लाग्नुभयो । आउँदो अधिवेशनबाट पारित हुन्छ ।

त्यसमा एउटा ठूलो बहसको प्रश्न बनाएको भनेको ‘भारत जोडियो’ भन्ने हो । बुटवल–गोरखपुर ट्रान्समिसन लाइन बनाउँदा, अन्तर्राष्ट्रिय ग्रिडमा जोड्दा भारतको सिमानामा मात्र बिजुली पुर्याएर त जाँदैन । उताको ग्रिडसँग जोड्नुपर्यो । त्यसो हुँदा भारत मान्छ, मान्दैन भन्ने कुरा पहिले टुंगिनुपर्छ भन्ने थियो । अस्ति भारतसँग सम्झौता भयो ।

भेनेजुएला प्रकरणपछि अमेरिकासँग बिग्रिएको प्रचण्डको सम्बन्ध पछिल्लोपटक एमसीसी प्रकरणले फेरि बिग्रिने स्तरमा आएको बुझिएको छ। तत्कालीन सभामुख महराले प्रचण्डकै इशारामा एमसीसीको प्रस्ताव संसद्बाट पारित नभएको व्याख्या गरिएपछि प्रचण्डलाई अप्ठ्यारो परेको हो। यति मात्र होइन, सभामुख पद खालि भएपछि सो ठाउँमा अब तत्कालीन माओवादीका नेताहरूलाई आउन नदिन भएका छलफल र विकसित घटनाक्रमले पनि प्रचण्डको छटपटी बढाएको छ।

प्रधानमन्त्री उपसभामुखलाई नै सभामुख बनाउने पक्षमा देखिएपछि प्रचण्ड असन्तुष्ट बनेका छन्। प्रचण्ड सभामुख तत्कालीन माओवादी पक्षले नै पाउनुपर्ने पक्षमा छन्। प्रचण्ड देव गुरुङ या जनार्दन शर्मालाई सभामुख बनाउने पक्षमा रहेको बुझिएको छ।

तर तत्कालीन एमाले पक्ष भने माओवादी पक्षलाई दिनुभन्दा उपसभामुखलाई नै प्रमोसन दिने पक्षमा देखिएका छन्। प्रचण्डले आफ्नो असन्तुष्टि नेकपाका वरिष्ठ नेता माधव नेपाल र संघठन विभाग प्रमुख ईश्वर पोखरेललाई भेटेर नै पोखिसकेका छन्।

अहिलेको खटपटको अर्को कारण चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विषय पनि रहेको छ। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक रहेको र भ्रमण सफल भएकोमा कुनै शंका छैन तर भ्रमणका क्रममा भएका घटनाले नेकपाभित्र भने ठूलो खाडल खनेको छ। प्रचण्डको सचिवालयले प्रचण्ड र राष्ट्रपति सीको एक्लाएक्लै भेट भयो भनेर निकालेको विज्ञप्तिको मिडियामा आलोचना भयो। कतिपयले प्रचण्ड र सीको एक्लाएक्लै भेट भएन भने।

तर प्रचण्डले नेकपाको पार्टी प्रतिनिधिको नेतृत्व गर्दै राष्ट्रपति सीलाई भेटे। नेकपाभित्रको एउटा शक्ति प्रचण्ड र राष्ट्रपति सीको भेट हुन नदिन प्रयास गरेको पनि त्यति बेला बताइएको थियो। अहिले यी सबै पछिल्ला घटनाक्रमले प्रचण्डको छटपटी बढेको छ।

चिनियाँ राष्ट्रपति स्वदेश फर्किएको दिनमा प्रचण्डले कांग्रेसको चियापानमा गएर कांग्रेससँग सहकार्य आवश्यक भएको र दुई तिहाइको कुरा नगर्न आग्रह गरेबाटै नेकपाभित्रको खटपटको अनुमान गरिएको थियो। त्यसपछिका प्रचण्डका अभिव्यक्तिले प्रचण्ड असन्तुष्ट छन् भन्ने सजिलै बुझ्न सकिन्छ। उनले केही दिनअघि धनगढी पुगेर फेरि आन्दोलन गर्न मन लागेको अभिव्यक्ति दिए। आफू अप्ठ्यारोमा परेको बेला छटपटी देखाउने प्रचण्डको पुरानो बानी फेरि अहिले देखाएका छन्।

अहिले प्रचण्डले एकताका प्रक्रिया समयमा नटुंग्याएको, तत्कालीन माओवादी पक्षका नेताहरूलाई निशाना बनाइएको भन्दै आफ्नो नयाँ रणनीति बनाउन लागेको उनी निकट नेताहरूले बताएका छन् तर अहिलेको परिस्थितिमा प्रचण्डसँग त्यति धेरै विकल्प देखिँदैनन्।

किनकि उनी अहिले प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन पनि सक्दैनन्, आफू सजिलै सत्तामा जाने अन्य विकल्प पनि छैन। प्रचण्ड पार्टी फुटाएर अगाडि बढ्ने विकल्प भए पनि कुरा त्यहाँसम्म भने अझै पुगिसकेको देखिँदैन। तर शीर्ष नेताहरूको दूरी बढ्दा सरकार र पार्टीका गतिविधिलाई भने ठूलो असर पर्ने देखिन्छ।

– रेशमप्रसाद खनाल, जोरपाटी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्