लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्ती : काव्यसागरका जलदेवतालाई सम्झँदा



????????????????????????????????????

यदुप्रसाद भट्ट

[email protected]

लक्ष्मीप्रसाद देवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा थिए। उनी डिल्लीबजार, धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए। १९६६ साल कात्तिक २७ गते गाईतिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो।

यसै सन्दर्भमा नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटालाई सम्झँदै ११ जना कविले कविता वाचन गरी १११औं जन्मजयन्ती मनाएको छ। ११ जनाले सुमधुर स्वरमा कविता वाचन गरेका थिए। उनलाई सम्झनेहरू थिए– भुवनहरि सिग्देल, वासुदेव अधिकारी, फूलमान बल, जितेन्द्र श्रेष्ठ, कल्पना काफ्ले, अमृता स्मृति, रञ्जु दाहाल, टीका चाम्लिङ, शोभा दुलाल, सुरेन्द्र लिम्बु र लोचन भट्टराई। उनीहरूले आफ्ना कवितामार्फत देवकोटा सम्झिए।


देवकोटालाई सम्झने प्रयासस्वरूप उनको १११औं जन्मजयन्ती मनाइएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताउनुभयो। उहाँले कार्यक्रमा नेपाल प्रज्ञा प्रतिष्ठान शैक्षिक तथा प्राज्ञिक व्यवस्थापनमा जुटेको बताउनुभयो। एक वर्षभित्र पूर्वाधार तयार गरी देवकोटाको सम्पत्ति सरकारीकरण गर्ने उहाँको भनाइ थियो। १२ आना क्षेत्रफलमा फैलिएको उनको निवासलाई ५ करोड रुपियाँमा खरिद गर्ने तयारी भइरहेको तथा कानुनी झन्झटका कारण ढिलाइ भएको उप्रेतीको भनाइ थियो।

त्यस्तै कार्यक्रमका अर्का वक्ता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले देवकोटाका विविध आयामका बारे चर्चा गर्दै देवकोटाको चीनको डायरी आफूले थाहा नपाएको तथा उहाँ चीन भ्रमणमा हुँदा लेखिएको हुँदा चर्चा नभएको बताउनुभयो। उहाँले प्रज्ञा प्रतिष्ठानले विभिन्न कवि तथा साहित्यकारको चर्चा–परिचर्चा गर्ने कामको थालनी गरेको र यसै सन्दर्भमा देवकोटाको जन्मजयन्ती पारेर कविता वाचन कार्यक्रम राखिएको बताउनुभयो।

कार्यक्रममा बोल्ने वक्ता सबैले देवकोटाका बारे चर्चा गरेका थिए। देवकोटा १४ भाषाका ज्ञाता थिए। उनका कृतिहरू ९ भाषामा छापिएका छन्। यस्ता बहुप्रतिभाका खानी देवकोटाका बारेमा भारतीय महापण्डित डा. राहुल साङ्कृत्यानले भनेका थिए– ‘मैले देवकोटालाई बुद्धपछिका सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु।’ उनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि सूर्यकान्त त्रिपाठी निराला, जयशंकर प्रसाद र सुमित्रानन्दन पन्त बराबर एक जना देवकोटा हुन् भनेका थिए।

देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो। उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्दा, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए। बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे। उनको बाँचुञ्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो। लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए।

लक्ष्मीप्रसाद देवकोटा बहुमुखी प्रतिभाका धनी एवं असाधारण लेखक थिए जसले आफ्नो १० वर्षको उमेरदेखि कविता लेखनको शुरूआत गरी छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, खण्डकाव्य, लामा वर्णनात्मक कविता, निबन्ध, कथा, नाटक, गीत र समालोचना लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निबन्ध शैली र विषयवस्तुका लागि एकदमै प्रशंसायोग्य छन्।

यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि साझा प्रकाशनद्वारा अत्यधिक बिक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे। यिनी एकपटक विसं २०१३ मा नेपालको शिक्षामन्त्रीसम्म भएका थिए। यिनैका पालामा नेपालको ठूलो अनि पहिलो त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्ने अद्वितीय प्रतिभा थियो। उनले शाकुन्तल महाकाव्य तीन महिनामा, सुलोचना महाकाव्य १० दिनमा र कुञ्जिनी एकै रातमा लेखे। उनले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्याए। प्रचलित लोकभाका अर्थात् झ्याउरे छन्दमा लेखिएको कृति मुनामदनले नेपाली साहित्यमा संस्कृतको प्रभावको अन्त्य गर्यो। ‘पागल’ कविता उनको अर्को महान् सिर्जना हो जुन कवितामा उनले आफूलाई पागल भन्नेहरूलाई नै कवितात्मक शैलीमा जवाफ दिएका छन्।

नेपाली भाषा साहित्यलाई अंग्रेजी भाषा साहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्याउने काम पनि देवकोटाबाट नै भएको थियो।देवकोटा जन्मिँदा, देशमा राणा शासन थियो, अहिले गणतन्त्र छ। राणाहरू चाहन्थे जनताले शिक्षा नपाउन् तर धेरैचोटिको प्रयत्नपछि देवकोटाको परिवारले उनलाई काठमाडौं उपत्यकाको एक मात्र विद्यालय दरबार हाई स्कुलमा भर्ना गरिदिए।

देवकोटा दरबार हाई स्कुलमा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे। उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे। यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए। यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’ को दर्जा दिए।

सन् १९२५ मा देवकोटा त्रिचन्द्र कलेजमा विज्ञान विषयमा भर्ना भए। विज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी संकायमा सरे। सन् १९२९ मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१ मा छात्रवृत्ति लिएर अंग्र्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अंग्र्रेजी विषयमा स्थान नपाएपछि उनले कानुन पढे।

 

प्रतिक्रिया दिनुहोस्