अध्यक्ष तिमिल्सिनाद्वारा निर्माणाधिन एसियाकै लामो पुल स्थलगत अनुगमन , समय अगावै काम सक्न निर्देशन



दुर्गाप्रसाद शर्मा,पर्वत ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधिन एसियाकै लामो झोलुङ्गे पुल दाबी गरिएको पर्वतको पाङ्ग र बागलुङ्गबजार जोड्ने झोलुङ्गेपुल र पर्वत जिल्ला अस्पताल भवनको स्थलगत निरीक्षण गर्नुभएको छ ।

गृह जिल्ला पर्वत आइपुग्नुभएका अध्यक्ष तिमिल्सिनाले स्थलगत अनुगमन गर्दै आफुँले शिलन्यास गरेका संरचनाको निर्माण कार्यको प्रगति लिनुभएको हो । पुलको बागलुङ्ग बाङ्गेचौर पुगेर भौतिक संरचनाको अवलोकन गर्दै अध्यक्ष तिमिल्सीनाले निर्माण कम्पनीले पाएको समय भन्दा अगावै पुल सम्पन्न गर्नेगरी काम गरेको भन्दै त्यसको प्रशंसा गर्नुभएको थियो ।

पर्वत बागलुङका जनतालाई सहज हुनेगरी निर्माण थालिएको उक्त पुलको दुवैतर्फ भौतिक संरचना निर्माणको काम लगभग सकिएको र लठ्ठा तान्ने काम सुरु भएको भन्दै अध्यक्ष तिमिल्सीनाले नेपालमा पनि तोकिएको समय अगावै काम सम्पन्न हुन्छ भन्ने उदाहरण निर्माण कम्पनीले देखाएको बताउनुभयो ।

अध्यक्ष तिमिल्सीनाले झोलुङ्गेपुल र अस्पताल भवनको निर्माण कार्यमा समयमा नै सम्पन्न गर्न सबैले लागि धेरै ठाउँबाट दवाव तथा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा निर्माण कम्पनीले ढिलासुस्ती गरेको भन्दै निर्माण ब्यबसायीलाई बोलाएर तत्काल काम सुचारु गराउन पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई निर्देशन पनि दिनुभयो ।

 

उहाँले कालीगण्डकी लोकमार्गको फलेबास देखि अर्मादीको खण्ड समयमा सकेमा अर्को बर्ष रानीपानी देखि अर्मादी सम्म नै कालोपत्रेका लागि टेण्डर आब्हान गर्न सकिने भएकाले जति सक्दो काम छिटो सक्नुपर्नेमा जोड दिनुभयो । करिडोरकै पर्वतको मालढुंगा देखि वारीबेनी सम्मको खण्डको सडक स्तरोउन्नती गर्न झण्डै १ अर्बको ठेक्का आब्हान हुने जानकारी पनि दिनुभयो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले पुल निर्माणका लागि आवश्यक लठ्ठा तान्ने मेसिन आइसकेकाले छोटो समयमै निर्माणको काम सम्पन्न हुने जानकारी गराउँनुभएको थियो । पौडेलले दुवैतर्फ भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगी लठ्ठा तान्न बाँकी रहेको भन्दै करिब ६० लाख रुपैयााँको लागतमा लठ्ठा तान्ने मेसिन आइसकेकाले कामले तिव्रता पाएको बताउनुभयो ।

उक्त अवसरमा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल तथा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले दुवै नगरपालिका मिलेर उक्त पुललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नगरप्रमुखद्धयले उक्त पुललाई आकर्षक बनाउँनका लागि बत्ति जडानदेखि सम्पूर्ण कामहरु दुवै नगरपालिका मिलेर गर्ने जनाउनुभएको थियो ।

यस्तै पर्वतको कुस्मा स्थित पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक सुबिधा सम्पन्न भवन निर्माण भैरहेको छ। १५ शैयाको अस्पताललाई स्तरबृद्धि गर्दै ५० शैयाको बनाउन नयाँ भवन निर्माण शुरु भएको हो । अस्पतालको नयाँ भवन २१ करोड १३ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न गरिने शहरी बिकास तथा भवन निर्माण बिभाग, संघीय आयोजना कार्यालय पोखराले जनाएको छ ।

नयाँ भवन २०७७ पौष महिना भित्र सम्पन्न हुने भवनको अहिले सम्म २७ प्रतिशत प्रगति भएको छ । भवनमा ५० शैयाको इन्डोर, आवासगृह देखि अत्याधुनिक सुबिधाहरु रहनेछन ।

यस्तै अध्यक्ष तिमिल्सिना, प्रतिनिधीसभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल, संबिधानसभा सदस्य कल्पना चापागाई,फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, उपप्रमुख मञ्जु अधिकारी, मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेल, कास्कीको माछापुच्छे गाउँपालिकाका प्रमुख सहितका नेता कार्यकर्ताहरुले कुस्मा नगरपालिका नगर कमिटीका सचिब ढाकाराम सुबेदी तथा फलेबास नगरपालिका वडा नं २ का अध्यक्ष गंगानारायण श्रेष्ठकी माता नरमाया श्रेष्ठको दुःखद निधन भएकोमा घरमै पुगेर समवेदना ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्