पर्यटन प्रवद्र्धनका लागि व्यास ऋषि तीर्थस्थल संरचना निर्माण



जाजरकोट । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित डोल्पाको काईके गाउँपालिका वडा नं ६ र ७ बीचमा रहेको वन खाडास्थित व्यास ऋषि तीर्थस्थलमा संरचना निर्माण गरिएको छ ।

सो स्थानमा रु ३० लाखका संरचना निर्माण गरिएको छ भने १०८ धाराका साथै सडक निर्माण गर्न बाँकी रहेको छ । सदरमुकाम दुनैबाट छ घण्टा पैदल दूरीमा रहेको उक्त तीर्थस्थलमा जाजरकोट र रुकुमबाट समेत तीर्थयात्रुहरु जाने गरेका छन् ।

व्यास ऋषि तीर्थस्थलमा रु १० लाखमा मन्दिर र रु २० लाखमा बास बस्नका लागि घर निर्माण गरिएको हो । सङ्घीय र कर्णाली प्रदेश सरकारले संयुक्तरूपमा मन्दिर र बासस्थल निर्माणका लागि सहयोग गरेसँगै यहाँ आउन र जान सहज भएको छ । मन्दिर र आवास निर्माणले तीर्थालुलाई बास र पूजाआजाका लागि सहज भएको काइके गाउँपालिका–७ का वडाध्यक्ष रामचन्द्र रोकायले जानकारी दिनुभयो ।

निर्माण गरिएका ती संरचनाहरुको हेलिकोप्टरमा तीर्थस्थल पुगेर अनुगमन गरेका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संरचना राम्रो भएको प्रतिक्रिया दिनुभयो ।

परापूर्व कालदेखि नै हिन्दूहरुको पवित्र धार्मिक तथा तीर्थस्थलका रूपमा परिचित हुँदै आएको व्यास ऋषि तीर्थस्थलमा एक कोठाको मन्दिर निर्माण गरिएको छ भने भक्तजनलाई बास बस्नलाई सहज होस् भनी पाँच कोठाको आवास निर्माण गरिएको छ । यो व्यास ऋषि तीर्थस्थल डोल्पाको ऐतिहासिक महत्व बोकेको तीर्थस्थल हो ।
रासस

प्रतिक्रिया दिनुहोस्