म्हः पूजा र भाई टीका एकै दिन,नेवार समुदाय अलमलमा



 

काठमाडौं । म्हः पूजा कहिले गर्ने भन्नेमा नेवार समुदाय विभाजित भएका छन् । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै आत्मपूजा गरी मंगलबार भाइटीका लगाउने तयारी गरेका छन् । तर यस वर्ष नेपाल पञ्चांग निर्णायक समितिले भने भाइटीकाको दिन मंगलबार म्हः पूजा गर्नुपर्ने निर्णय गरेको छ ।

म्हःको शाब्दिक अर्थ देह या शरीर हो । यसअर्थमा म्हः पूजाको अर्थ आफ्नो देहको पूजा हो । शरीरमा शान्ति नभइकन सर्वत्र शान्ति नहुने विश्वास अनुरुप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाइन्छ ।

हिन्दु तथा बौद्ध दुवै समुदायका नेवार समुदायले म्हः पूजा भाइटीकाको अघिल्लो दिन मनाउने गर्दथे । तर, यस वर्ष तिथि घटबढका कारण भाइटीका र म्हः पूजा एकै दिन परेको छ । त्यसैले काठमाडौं उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायमा म्हः पूजामा अलमल छ ।

प्रतिक्रिया दिनुहोस्