‘खुसी हुने भो, दोबिल्ला टु फलेबासमा सरसर गाडी चल्ने भो’



दुर्गाप्रसाद शर्मा ,पर्वत ।

‘खुसी हुने भो, दोबिल्ला टु फलेबासमा सरसर गाडी चल्ने भो’ फलेबासका भजन समुहले आइतबार गाएको भजनको एक टुक्का हो । बर्षो देखि पक्की सडकको प्रतिक्षा गरेका देबिस्थान स्थित तल्लो फलेबासका बासिन्दाहरुका लागि आइतबारको दिन महत्वपुर्ण थियो । आफ्नो ठाउँमा बन्न लागेको मल्याङ्गदी खोला देखि मुडिकुवा, फलेबास ढिक हुँदै चन्दनी पुग्ने कालोपत्रे सडकको शुभारम्भ कार्यक्रममा खुसीयालीमा भजन पनि बाटो र बिकासकै सन्दर्भमा गाएका हुन ।

जागाजा, झाँकी र भजन सहित उपस्थित भएका फलेबासबासीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्ग सहितका अतिथिलाई भब्य स्वागत गरे , खुसीयालीमा मज्जाले नाँचे र आफ्नो खुसी यसरी गीतबाट पनि पोखेका थिए । पर्वत लगायतका क्षेत्रमा चुड्का र भजन लोकप्रिय छ ।

बिकास र सम्बृद्धिका कुरा भजनबाटै ब्यक्त भएपछि मुख्यमन्त्री गुरुङ्ग, संघीय संसद प्रतिनिधीसभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेत, गण्डकी प्रदेशकै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल सहितका अतिथि फलेबास नगरबासीको मिठो स्वागतमा मुस्काई रहेको देखिन्थ्यो ।

२०५७ सालमा नै ट्रयाक ओपन भैसकेको र एक दशक अघि ग्राभेल भएको दोबिल्ला फलेबास सडकको कुस्मा नगरपालिकाको सिमाना मल्याङ्गीखोला सम्म कालोपत्रे भैसकेको छ । फलेबास शुरु भएपछि १ हजार ४ सय मिटर कालापत्रेका लागि तयारी भएपछि कार्यान्वयन गर्ने निकायको अन्यौलताका कारण ग्राभेल गरेर सडक त्यसै थन्एिको छ ।

यस बर्ष गण्डकी प्रदेश सरकारको रणनिती सडक अन्र्तगत मल्याङ्गदी देखि चन्दनी सम्मको झण्डै १० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य शुरु भएको छ । दुई बर्षमा काम सक्ने गरि २६ करोड ५१ लाख रुपैंयामा प्यासिफिक÷फेवा जेभीले सडक कालोपत्रे गर्ने जिम्मा लिएको छ । ८ मिटर चौडा सडक मध्ये ५.५ मिटर सडक कालोपत्रे हुने पुर्वाधार बिकास कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारीले बताउनुभयो ।

नगरपालिका घोषणा हुँदा १ किलोमिटर पनि कालोपत्रे सडक नभएको फलेबासमा पछिल्लो समय सडक कालोपत्रे गर्ने, चौडा गर्ने काम धमाधम भैरहेको छ । गएको बर्ष सम्म झण्डै १० किमी सडक कालोपत्रे भैसकेको छ भने यस बर्ष कालोपत्रेका धेरै योजनाहरु शुरु भएका छन । मल्याङ्गदी खोला देखि चन्दनी सम्मको सडक नगरपालिकाको सेन्टर चक्रपथ अन्र्तगतको सडक हो । यो सडक कालोपत्रे गरिएपछि फलेबासको एउटा महत्वपुर्ण सडक कालोपत्रे गर्ने योजना सफल भएको नगरप्रमुख पदमपाणी शर्माले बताउनुभयो ।

सडकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले शिलन्यास गर्नुभयो । उहाँले यो सडक महत्वपुर्ण सडक भएको बताउँदै समयमा नै गुणस्तरीय काम सक्न निर्माण ब्यबसायीलाई निर्देशन दिनुभयो । प्रदेशको राजधानी पोखराबाट हरेक स्थानिय तहमा पुग्ने सडक कालोपत्रे गर्ने, रणनितीक महत्वका सडकहरु निर्माण गर्ने र करिडोर र लोकमार्गहरु सम्पन्न गरेर पुर्वाधारमा सबैभन्दा अगाडी बनाउने योजना प्रदेश सरकारको रहेको पनि बताउनुभयो ।

संघीय संसद प्रतिनिधीसभाका सदस्य पदम गिरीले निर्वाचनमा आउँदा जनताले धुले सडकलाई कालोपत्रे गरिदिनुपर्ने प्रमुख माग राख्दै आएको र यस पटक जनताको चाहना पुरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको थियो । गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले पर्वत जिल्लामा मात्रै संघीय सरकारबाट ११ वटा र प्रदेश सरकारबाट ४१ वटा गरि ५२ वटा सडकमा बजेट बिनियोजन भएको बताउँदै पर्वत जिल्ला भौतिक पुर्वाधारमा अब्बल बन्छ भन्नुभयो ।

गण्डकी प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले दोबिल्ला फलेबास सडकको बाँकी खण्ड पनि कालोपत्रे भएपछि बर्षौ देखिको योजना र सपना पुरा भएको बताउँदै आफुँलाई तल्लो फलेबासमा बिकास गरेन भनेर लगाउँने आरोपबाट पनि मुक्ति पाएको भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्