हेलिकोप्टरबाट गोली प्रहार गर्दा नौ जनाको मृत्यु



 

दमास्कस। सिरियाको एउटा गाउँमा हेलिकोप्टरबाट गोली प्रहार गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
आइतबार बिहानै भएको आक्रमणमा परी मृत्यु भएका सबैजना इस्लामिक स्टेट ९आईएस०सँग आबद्ध लडाकू रहेको अधिकारीहरुले जनाएका छन् ।

सिरियाको उत्तरपश्चिमी इड्लीब प्रान्तमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् ।

आइएस लडाकूहरुको समूह लुकेर बसेको भन्ने सूचनाका आधारमा सो गाउँमा अमेरिकी वायुसेनाले आक्रमण गरेको सरकारी अधिकारीहरुको भनाई छ ।

आइएस लडाकू रहेको घर र कारलाई लक्षित गरेर इड्लीब प्रान्तको बरिशा भन्ने गाउँमा आक्रमण भएको थियो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्ले आक्रमणमा परी आइएस लडाकूका नेता अबु बाकर अल बग्दादीको पनि मृत्यु भएको विश्वास गरिएको जनाएको छ ।

अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले गरेको आक्रमणमा परी अतिवादीहरुको समूहका केही नेता र सदस्यहरुको मृत्यु भएको जानकारी दिनुभयो ।

“बग्दादी मारिएका हुन् वा होइनन् भन्ने बारेमा पुष्टी गर्न सक्ने अवस्थामा छैनौं, तर उनी त्यही क्षेत्रमा लुकेर बसेको आशंका थियो,” उहाँले भन्नुभयो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्