क्यान्सर पिडित बालिकालाई पर्वत सेवा समाज स्पेनद्धारा आर्थिक सहयोग



दुर्गा प्रसाद शर्मा ,पर्वत।

बोन क्यान्सबाट पिडित पर्वतको कुश्मा नगरपालिका वडा नं। ८ चुवाकी पन्ध्र वर्षिया बालिका सुस्मिता शर्माको उपचारका लागि पर्वत समाज स्पेन र स्पेनमा रहनुभएका पर्वतको खुर्कोटका दिनेशराज रेग्मीको पहलमा संकलित रकम शनिवार हस्तान्तरण गरिएको छ ।

१ लाख २३ हजार ७ सय ५३ रुपैया शनिवार एक कार्यक्रमको आयोजना गरी पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडीले पिडित बालिकालाई घरमै पुगेर हस्तान्तरण गरिएको हो ।पिडित बालिकाको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक संकलनका वारेमा दिनेका बाबु तथा नेकपाका नेता शेषराज रेग्मीले जानकारी गराउनुभएको थियो । यस अघि चुवाका कृष्ण गिरी र खुमनाथ पोखरेलको सक्रियतामा संकलन भएको रु १ लाख ११ हजार रुपैया सहयोग गरिएको थियो ।

हड्डीको (बोन) क्यासर रोग लागेपछि विगत एक वर्षदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेकी सुस्मितालाई ठुलो धनराशि आवश्यक पर्ने भएकाले पर्वत सेवा समाज स्पेनले सहयोग संकलन गरेर पठाएको हो ।

अहिलेसम्म रु १० लाख रुपैया भन्दा बढि खर्च भैसकेको सुस्मिताका बाबु राजेन्द्र भुँवाजीले गुनासो गर्नुभयो । अझै कति समय र कति खर्च लाग्छ भन्ने अनिश्चित रहेको छ ।

शल्यक्रिया र किमो चढाउँदा एकैदिन लाखौ रकम खर्च हुने गरेको बताउँदै घरमा भएको सवै नगद सकिएकाले कसैले आर्थिक सहयोग गरिदिएमा मात्र उपचार सम्भव हुने बताउनुभयो ।

आर्थिक अवस्था ज्यादै न्यून रहेको उक्त परिवारमा छोरीको उपचारका लागि धेरै आर्थिक समस्या रहेको छ । कक्षा ९ मा अध्यययनरत बालिका एक्कासी बिरामी परेपछि परिवार पनि समस्यामा परेको छ भने बालिकाको भविष्य समेत अन्यौलमा परेको छ । उनको गत साता पहिलो शल्यक्रिया समेत गरिएको थियो । उनको दाहिने खुट्टाको हड्डीका क्यान्सर देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्