पर्वतको कुश्मामा पहिलोपटक व्यावसायिक फुल खेती, माला बनाउने फुल किन्नेको घुँइचो



नेपाल समाचारपत्र ,पर्वत।

उज्यालो र फुलैफुलको पर्व दिपावलीमा लगाउने मालाका लागि छिमेकी मुलुक भारतवाट करोडौको फुल आयात भैरहेका बेला पर्वत सदरमुकाम कुश्माबजारमा पहिलोपटक परिक्षणका रुपमा थालिएको पुष्पखेती सफल भएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा यस वर्षदेखि पहिलोपटक गरिएको पुष्प खेती सफल भएको छ । पर्वतको कुश्मा नगरपालिका वार्ड नं ६ बगैचाचोक स्थित पर्वत उद्योग वाणिज्य संघमा कार्यरत कर्मचारीहरुद्धारा संचालित मिलिजुली बहुउद्धेश्यीय कृषि फर्ममा अहिले रङ्गीबिरङ्गी फुलहरु ढकमक्क फुलिरहेका छन् ।

तिहारमा बढि मात्रामा प्रयोगमा आउने मखमली, सयपत्री, गोदावरी लगायतका स्थानीय फुलहरु लगाईएको संचालक टंकनाथ पौडेलले जानकारी दिनुभयो ।यस बर्षको दिपावली, नेपाल संवत, छठ पर्व, एवं स्थानीय एवं छिमेकी जिल्लाहरुमा आयोजना गरिने मेला महोत्सव, धार्मिक समारोह हरुमा आवश्यक पर्ने फूलहरु बिदेशबाट आयात हुने गरेको अवस्थामा फुलमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्धेश्यले यस वर्षदेखि पुष्प खेती शुरु गरिएको पौडेलले बताउनुभयो ।

फुलमा अहिलेसम्म परनिर्भर रहदै आएको अबस्थालाई मध्यनजर गर्दै शुरु गरिएको फुल खेती सफल भएको र अहिले बगैचामा फुल खरिद गर्न आउनेको भिडनै लाग्न थालेको संचालक पौडेलले बताउनुभयो ।

पाँच रोपनी क्षेत्रफलमा रु ५ लाख रुपैया लगानी गरेर गरिएको पुष्प खेतीवाट पहिलो वर्षमै साविक धौलागिरि क्षेत्रको माग पुरा गर्न सकिने विश्वास सहकारीको छ । बाहिरवाट आयातित फुल भन्दा सस्तो र ताजा फुल प्रयोग गर्न सकिने भएपछि यस क्षेत्रका बासिन्दाहरुले अग्रिम बुकिङ समेत गरेको उहाँले बताउनुभयो ।

यतिवेला उक्त बगैचामा फुल किन्नका लागि विभिन्न क्षेत्रवाट ग्राहकहरु आउने गरेको फर्मका संचालक पौडेलले जानकारी दिनुभयो । विदेशी तथा आयातित र लामो समयदेखि टिपेर ओईलिईसकेका फुलहरु महङ्गो मुल्यमा किन्न बाध्य यस क्षेत्रका ग्राहकहरुलाई सहुलियतरुपमा फूल र माला समेत बनाएर बिक्रि भैरहेको उहाँले जानकारी दिनुभयो ।

पहिलो पटक गरिएको फुल खेतीवाट यस वर्ष लगानी उठ्ने र केहि नाफा आर्जन गर्न सकिने अपेक्षा गरिएको पौडेलले बताउनुभयो । आगामी दिनमा बर्षै भरी फुल र मालाहरु उत्पादन गर्ने योजना संचालकको रहेको छ । अहिले प्रति किलोग्राम फुलको मुल्य रु ४ सय रुपैया निर्धारण गएिको छ । भने मालाको मुल्य रु २ सय निर्धारण गरिएको छ ।

यस अघि आवश्यकता महसुस गरिएपनि पुष्प खेती यस क्षेत्रमा शुरुवात हुन नसकेको अवस्थामा मिलिजुली सहकारीले परिक्षणका रुपमा गरेको खेती सफल भएको पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बताउनुभयो ।

उहाँले यसलाई अब व्यावसायिक रुपमा विकास गर्न सकेमा वर्षेनी चाडपर्व लगायत जिल्लामा हुने महत्वपुर्ण सभा समारोहमा बाहिरवाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्