कृषकलाई राहत वितरण



रत्ननगर ।पूर्वी चितवनको रत्ननगरस्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले वन्यजन्तुबाट बालीनाली क्षति भएका किसानलाई आजदेखि राहत वितरण शुरु गरेको छ । वन र वन्यजन्तुको संरक्षणमा स्थानीयवासीलाई अग्रसर गराउन राहत वितरण गर्न थालिएको हो ।

वनले यस वर्षदेखि जैविक विविधता, वन र वन्यजन्तुको संरक्षण गर्न उपभोक्तालाई थप अग्रसर गराउने उद्देश्यले बालीनाली क्षति राहत वितरण शुरु गरेको वन समूहका अध्यक्ष जीतु तामाङले जानकारी दिनुभयो । यस वर्ष वन्यजन्तुले ४८ कृषकको ४३ कट्ठामा रहेको बाली नष्ट गरेको थियो । प्रतिकट्ठा रु तीन हजारका दरले पीडितलाई राहत वितरण गर्न थालिएको छ ।

“पहिलो चरणमा ४८ कृषकलाई रु एक लाख २७ हजार राहत वितरण गरिएको छ । ‘हात्ती, गैँडा, बँदेल, चितुवा, भालुलगायत वन्यजन्तुले बाली क्षति गरेको तथ्याङ्क सङ्कलन गरी राहत वितरण गर्न थालेका छौँ । राहत वितरणले मानव र वन्यजन्तु बीचको द्वन्द्व कम गर्न सहयोग पुग्छ”, उहाँले भन्नुभयो । वनले यसअघि शारीरिक र भौतिक क्षति भएकालाई राहत रकम वितरण गरेको थियो । उक्त वनले पर्यापर्यटनबाट वार्षिक रु दुई करोडभन्दा बढी अम्दानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्