तिहारको मौलिकतामाथि आधुनिकताको प्रहार

प्राकृतिक फूलको सट्टा कृत्रिम फूल र दियोको साटो बिजुली बत्ती



अनिल खत्री, गुल्मी।

नेपालीहरूको दोस्रो महान् पर्वको रूपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढेको छ। तिहार पर्वका लागि चाहिने सामान किनमेलसँगै पर्वलाई लक्षित गरी फूलमाला, टीकालगायतका विभिन्न समानले सजिएका पसलले पनि रौनक थपेका छन्।पछिल्लो समय तिहार पनि आधुनिकताले आक्रान्त बन्न थालेको छ। तिहार पर्वमा दियो, पाला मात्र होइन, प्राकृतिक फूलका मालाको सट्टा बजारमा रहेका कृत्रिम माला प्रयोग गर्ने क्रम बढ्न थालेको छ।

गाउँघरमा प्रशस्त मात्रामा फूल नपाउनुसँगै फूलको खेतीसमेत नहुनुले अहिले बजारमा रहेका कृत्रिम मालाको प्रयोग बढेको व्यवसायीको तर्क रहेको छ। कृषकले फुलको खेती पनि नगर्नु र केही आफंै उम्रेका फूलको भरमा उपभोक्ताले चाडपर्व टार्नुपर्ने भएको कारण पनि फूलको सट्टा कृत्रिम फूलमा आश्रित हुनु परेको हो।

गाउँमा फूलखेती गर्न चासो नहुनु र देखासिकी गरेर पनि कृत्रिम माला प्रयोग गर्ने क्रम बढेको तम्घासका व्यवसायी चेतनारायण पाण्डेयले बताउनुभयो। गाउँमा स्थानीय तहले नै प्रत्येक घर छेउमा फूल रोप्न अनिवार्य गर्नुपर्ने उहाँको सुझाब छ। अहिले तम्घास बजारमा ३० रुपियाँदेखि २ सय रुपियाँ मूल्यसम्मका कृत्रिम माला बिक्रीका लागि राखिएको पाएको उहाँले बताउनुभयो।

जिल्लाका केही स्थानीय तहमा कृत्रिम फूलका माला निषेध गरेकोले अघिल्लो वर्षको तुलनामा कृत्रिम माला बिक्री नभएको व्यापारीको तर्क छ। भाइटीकाको दिन टीकासँगै फूलका माला लगाउने प्रचलन रहिआएको छ।

गाउँमा फूल नपाइनाले गर्जो टार्नलाई उपभोक्ता आ–आफ्नो क्षमताअनुसार कृत्रिम फूलका माला किन्ने गर्दछन्। हेर्दा झपक्क देखिने र टीका लगाइसकेपछि फूलका मालाको हुनाले पनि उपभोक्ता कृत्रिम माला भए पनि किनेर लगाउने गर्दछन्।यसै गरी तिहारको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकताले प्रभावित बनाएको छ। अहिले दियोको सट्टा बिजुली बत्तीले झिलिमिली बनाउन थालिएको छ।

पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने चलन भए पनि पछिल्लो समय बिजुली बत्ती पुगेको ठाउँमा पालाको बत्ती बाल्ने चलन विस्थापित नै भएको छ। गाउँमा पनि विद्युतको पहुँच बढेसँगै दियो र पालाहरूमा बत्ती बाल्ने प्रचलन बिस्तारै हराउँदै गएको हो। तिहारका अवसरमा खेलिने देउसी भैलोमा समेत आधुनिकता मिसिएको छ।

प्रतिक्रिया दिनुहोस्