ब्राउन सुगरसहित दुई पक्राउ



नेपाल समाचारपत्र, पोखरा।

कास्की प्रहरीले पोखरामा ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले ब्राउन सुगर नाप्ने डिजिटल मेसिन र ११ दशमलव ३४ ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा २५ वर्षीय अभिन गुरुङ र ३० वर्षीय सत्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताउनुभयो।

नेपालगन्जबाट पोखरा आएका सत्या चौधरीले रातो रंगको पुरानो टिसर्ट लगाएका थिए। बाँके घर भएका चौधरीले लगाएको टिसर्ट केही खुइलिएको जस्तो देखिन्थ्यो। उनले लगाएको टिसर्टमा रोमनमा हिन्दी भाषामा लेखिएको थियो– ‘समय होइन, मेरो त अपराध गर्ने जमाना हो।’

चौधरीलाई पोखरामा गाडीबाट झरेको केही समयमा नै जिल्ला प्रहरी कार्यालय कास्कीको विशेष टोलीले पक्राउ गर्न सफल भयो। चौधरीले पोखरा–८ सिमलचौर बस्दै आएका अभिनास गुरुङलाई नेपालगन्जदेखि लागूऔषध ल्याइदिएका हुन्। उनलाई लागूऔषध ओसार–पोसार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

चौधरीले बाँकेबाट उक्त परिमाणको लागूऔषध ल्याएको प्रवक्ता केसीले बताउनुभयो। चौधरीले ब्राउन सुगर १ ग्रामको लागभग ३ हजार ८ सय रूपैयाँमा कारोबार गर्दै आएको र अभिनास गुरुङले पोखरामा करिब ४० हजार रुपियाँमा बेच्ने गरेको प्रहरीले बताएको छ।

गुरुङ एकवर्ष अघिदेखि सिमलचौरमा भाडामा बस्दै आएका थिए। चौधरीसँग पोखरा आउने भाडा नभएको कारण गुरुङले आईएमईमार्फत भाडा पठाएर उनी पोखरा आएको प्रहरीको अनुसन्धानबाट खुल्दै आएको हो। सिमलचौरस्थित नवीन गुरुङको घरमा बस्दै आएका गुरुङले पोखरामा बसेर लागूऔषधको डिलरको काम गर्दै आएको प्रहरीको दाबी छ।

पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको प्रवक्ता केसीले जानकारी दिनुभयो। उक्त परिणामको लागूऔषध पोखरामा बढी मात्रामा रहेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताएका छन्।

हिउँको ढिस्कोले पुरिँदा एकको मृत्यु

यसैबीच फोटो खिच्ने क्रममा हिउँको ढिस्कोले पुरिँदा पोखराको अन्नपूर्ण गाउँपालिकामा एकको मृत्यु हुनाको साथै दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा फोटो खिच्ने क्रममा हिउँको ढिस्कोले पुरिएर पोखरा प्रस्याङ बस्दै आएका १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको छ भने पोखराकै १९ वर्षीय निरञ्जन कोइराला र सन्तोष बाँस्तोला घाइते भएका हुन्

कोइराला प्रस्याङ निवासी हुन भने बास्तोला फूलबारी निवासी हुन। घाइतेद्वय कोइराला र बास्तोलाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई हेलिकप्टर मार्फत पोखरा ल्याइएको हो।

उनीहरू सोमबार ट्रेकिङको लागि त्यसतर्फ गएका थिए। अन्नपूर्ण बेस क्याम्पमा ट्रेकिङमा गएका युवक बगरमा हिउँको ओडारमा बसी फोटो खिच्ने क्रममा हिउँको ढिस्को खसेको हो। सञ्जय पछाडि रहेकाले उनको मृत्यु भएको उनका साथीले प्रहरीलाई बताएका छन्।अन्नपूर्ण पदयात्राअन्तर्गत पर्ने हिमालय क्षेत्र अत्यन्तै जोखिमपूर्ण पदयात्राको रूपमा लिइन्छ। उक्त पदयात्रामा हिउँ पहिरो जाने र हिउँको ढिस्को खस्ने घटना भइरहन्छ।

प्रतिक्रिया दिनुहोस्