भाऊ



नुरेश्वर अधिकारी
मेरो केको भाऊ
लाखौंको हात हातमा छु
करोडौंको भागमा पर्छु
आँखामै छु
त्यसैले सस्तो छु
तिमी त महँगो छौ
त्यसैले आकलझुकल मात्रै देखिन्छौ
आखिर सुन न ठहरियौ
म त फलाम हुँ फलाम नै रहन्छु
मैले गर्ने काम तिमीले गर्ने भए तिमी सुगन्धित हुन्थ्यौ
आडम्बर गर्न
धाक जमाउन र नखरा पार्न किन तम्सिन्थ्यौ
म त जमिनको गर्भमा पुगेर
दाल, भात र खुराक खोस्रन्छु
तिमीलाई देख्दा साधुको मन पनि डोलाउँछ
मृत्युको रूप अघि सर्छ
तिमी लुछिएका पनि छौ
चुसिएका पनि छौ
त्यसैले तिम्रो विशेष भाऊ छ
तिमी इज्जतिलो पनि छौ
इज्जत फालेरै भए पनि
म गरिबीको आँगनमा बाँच्ने साधन बनेर नाच्छु
तिमी अहंकारमा नाच्दै जाऊ
मलाई कुनै डर छैन
तर तिमीलाई साह्रै डर छ
तिमीलाई बाँच्न बन्द कोठरीमा लुक्नुपर्छ
त्यसैले तिम्रो भाऊ छ
तर म सबैतिर छु जतासुकै छु
त्यसैले मेरो कुनै भाऊ छैन
बजार तिम्रै छ
मेरो छैन
भाऊ भएकैले तिमी डराएका छौ
मेरो भाऊ छैन
त्यसैले डराउदिनँ

प्रतिक्रिया दिनुहोस्