दुई महिनाको व्यापारघाटा २११ अर्ब, शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले वचत



नेपाल समाचारपत्र, काठमाडौं।

चालू आर्थिक वर्षको दुई महिनामा २२९ अर्ब ५० करोडको आयात हुँदा १८ अर्ब ५० करोडको मात्रै निर्यात भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७६/७७ को दुई महिनाको तथ्यांकमा सो तथ्य उल्लेख छ।

नेपाल राष्ट्र बंैकका अनुसार यस अवधिमा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ ४६ प्रतिशत र अन्य मुलुकतर्फ ०.६ प्रतिशतले निर्यात वृद्धि भएको छ।

त्यस्तै चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोशाक, पश्मिनालगायतका वस्तुको निर्यात घटेको छ। चालू आर्थिक वर्षको दुई महिनामा कुल वस्तु आयात १.२ प्रतिशतले घटेर २२९ अर्ब ५० करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २ प्रतिशत र १९.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९.२ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा तयारी पोशाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, रासायनिक मललगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एमएस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ।

चालू आर्थिक वर्षको दुई महिनासम्ममा कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले संकुचन भई २११ अर्ब रुपियाँ कायम भएको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत रहेको थियो।

भन्सार नाकाका आधारमा निर्याततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ।

आयाततर्फ भने वीरगन्ज भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाबाट भएको आयात वृद्धि भएको छ।

समीक्षा अवधिमा चालू खाता घाटा २१ अर्ब ७९ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३५ अर्ब १६ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको दुई महिनासम्ममा ३१ करोड ६६ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा रु.१९ करोड २५ लाख कायम भएकोछ। समीक्षा अवधिमा शोधनान्तर स्थिति ८ अर्ब ८३ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दुई महिनासम्ममा २३ करोड ९ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ७ करोड ८५ लाखले बचतमा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.२ अर्ब ९६ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ९८ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ८० करोड र प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २३ करोड रहेको थियो।

प्रतिक्रिया दिनुहोस्