वार्ताका लागि असमान सर्त



ताजा विद्रोही नेकपाले पूर्वविद्रोही नेकपालाई राखेको सर्त देखेर धरहरा हेरेको हेर्यै भएको छ। नेत्रविक्रम चन्दले नेतृत्व गरेको ताजा विद्रोही नेकपाले भनेको छ, सरकारसँग वार्ता गर्न हामी तयार छौं तर सरकारले सर्त राख्न पाउन्न, यद्यपि हाम्रा सर्तहरूको भने पालना हुनुपर्छ।

त्यसमा कति देखिने सर्त छन्, कति नदेखिने। नदेखिने सर्त के छ भने ‘हाम्रो प्रभाव छेत्र जाजरकोटतिर पूर्वविद्रोही माओवादीका नेता–कार्यकर्ता आए भने चन्द पक्षले मुक्याउन पाउनुपर्छ, तर पूर्वविद्रोहीको नेतृत्वमा चलेको सरकारको प्रभावमा रहेको मुलुकको जुनसुकै कुनामा पनि ताजा विद्रोही पार्टीका कार्यकर्ता मजाले विचरण गर्न, चन्दा असुल्न र मन नपरेको मनुवाको थाप्लोमा लाठी बजार्न पाउनुपर्छ।’

नदेखिने सर्तका अगाडि चन्दका देखिने सर्तहरूको खासै प्रभाव छैन, जस्तो– पार्टीमाथि लागेको प्रतिबन्ध हटाउनुपर्ने, गिरफ्तारीमा परेका नेता–कार्यकर्ता छोडिनुपर्ने, सरकारले सर्त राख्न नपाउने आदि त केही पनि होइनन्।

कतिलाई लाग्नसक्छ, यो त वार्ताका लागि समान धरातल त भएन ! तर, धरहराको विश्वास के छ भने समान धरातल बनाएर वार्ता गर्ने नै होइन। किनभने समान धरातलमा उभिएर झगडा वा विवाद गरियो भने भाग्न मिल्दैन, जति भागे पनि को कहाँ पुग्यो, प्रस्ट देखिन्छ।

तर, उकालो–ओरालो, कान्लाकुन्ली र ढिस्को हेरेर वार्ता गर्यो भने भाग्न मिल्छ। वार्ताको कुरा गर्दागर्दै जसलाई भाग्नुछ, आफ्ना साथीहरू छुटाएर संगठन बलियो बनाउनुछ उसले असमान सर्तको वकालत गर्नैपर्छ।

प्रतिक्रिया दिनुहोस्