हामी पानीविनाको माछाजस्तै भयौं



पानी जिन्दगानी हो। पानी आधारभूत आवश्यकता मात्रै होइन। स्वच्छ पानी नागरिकको अधिकार हो। दुनियाँ आधारभूत आवश्यकता धेरै पहिले पूर्ति गरेर कहाँ–कहाँ पुगिसके। हामी भने खानेपानी, शौचालय, खुल्ला दिसामुक्त, खोपलगायतका कार्यक्रम, अभियान र समस्यामै गुजुल्टिएका छांै।

जहाँबाट अझै पनि सहजै निक्लिने सम्भावना कम देखिन्छ। कारण हामीमा हाम्रा आधारभूत आवश्यकता पूरा गर्ने पूर्वाधार, संरचना, यसको संरक्षण, संवद्र्धनमा नागरिक अपनत्व र दीर्घकालीन सोचको अभाव छ। काठमाडौं उपत्याकाको कुरा गर्दा, पानीको समस्या दिन–प्रतिदिन बढ्दो छ।

जनता पानी नभएर हैरान छन्। मेलम्चीको कुरा त कथाजस्तै बनेको छ। जलस्रोतको दोस्रो धनी देश भनेर नाक फुलाउने तर खानेपानीविना मर्ने। यो त पटक्कै भएन। एक जार पानीको पनि ५० रुपियाँ पुगिसक्यो। अझै कति पुग्ने हो, थाहा छैन। उपभोक्ताले गुनासो गर्नसम्म गरेर आजित भएको अवस्था छ।

सामान्यतः कसैलाई कसैको सहाराविना तड्पिनुपर्ने अवस्था आयो भने ‘पानीविनाको माछाजस्तो’ भन्छौं या यस्तै अनेकन उदाहरण दिन्छौं। जुन हामीले धेरै पटक धेरैलाई सुनाएका पनि हौँला। कैयन पटक फाइदा पनि पुगे होला। कैयौं पटक बेफाइदा पनि। तर, पुरानो त्यो उखान या उद्धरणको ठाउँमा पानीविनाको माछा होइन, मान्छे भयो भने ?

अथवा पानीको हाहाकार भएर पानीविनाको मान्छेजस्तो उदाहरण दिने अवस्था आयो भने ? कति उदेक लाग्दो अवस्था सिर्जना होला। नदी, तालतलैया र पोखरीबाट माछा छोपेर किनारमा छोडेपछिको माछाको जुन छटपटाहट हुन्छ, त्यो भन्दा बढी सकस, पीडादायक, कहाली लाग्दो क्षण त पानीविनाको मान्छेको हुन्छ नि !

अहिले काठमाडौं उपत्यकाको खानेपानीको हाहाकार परिवेशले पानीविनाको माछाजस्तो होइन, पानीविनाको मान्छेजस्तो भन्ने उखान चरितार्थ हुने खतरा बढ्दो छ। २० औं वर्ष भइसक्यो, हामी पानीविनाको माछाजस्तै भएको। पानी नहुँदा माछा जसरी छट्पटाउँछ, त्यसरी नै हामी छट्पटाइरहेका छौँ।

सरोकारवाला निकाय कहिलेदेखि खानेपानीको समस्या हो, कहिलेसम्म पानीको आपूर्ति सम्भव छ ? यस्तो अपरिहार्य विषयमा उपभोक्तालाई खबर दिन पनि कुन मुखले दिने अब ? यसका लागि खानेपानी मन्त्रालय सम्हालेर बस्नुभएकी माननीय मन्त्री बिना मगर बढी जिम्मेवार हुनुपर्ने हो। पानी झर्ने एटीएम उद्घाटन गर्ने तर त्यत्रो महत्वाकांक्षी परियोजना खै कहाँ आइपुग्यो ? अब त काठमाडौंवासी पनि थाकिसके। के अब मेलम्ची आउँदैन ? यतातिर सरकारको गम्भीर ध्यान जाओस्।

– गोविन्द मैनाली,
नयाँ बानेश्वर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्