सही कार्यदिशा बोकेर इमानको बाटो खोजौं



सरकार सधैँ शक्तिशाली नै हुन्छ। त्यसमा पनि अहिलेको सरकार दुई तिहाइ बहुमत आर्जेको शक्तिशाली मानिएको छ। अल्पमतको क्षणिक सत्तास्वादको सेरोफेरोमा अल्झिने सरकार र असफलताका बाहना पस्कनेभन्दा दुई तिहाइको बहुमत प्राप्त सरकारप्रतिको आशा, अपेक्षा र भरोसा बढी नै देखिन्थ्यो। तर, पाँच बर्षको आयुसहितको शक्तिशाली सरकारको योजना, कार्यशैली र व्यवहार उति धेरै सन्तोषजनक लागेको छैन।

जनताको अपेक्षाअनुरूप काम गरिरहेको पनि देखिएको छैन। आशाअनुरूप मात्रै नभएको होइन, कतिपय घटनाक्रमले सरकार, बागडोर सम्हाल्ने नेता र कार्यकर्ताका कारण लाजको घुम्टो ओढ्ने अवस्थामा पुगेको छ। त्यो लाज छोप्ने व्यवस्थामाथिको खतरा, जिदेशी षड्यन्त्र यावत विषय र बाहनाको सहारा लिएर कनिकुथी सरकार गलत नभएको दलिल पेस गर्नुपरेको छ। आखिर किन ?

वर्तमान सरकारले केही नगरेको, गर्न नखोजेको होइन। करिब दुई दशक जनप्रतिनिधिविहीन अवस्थामा अस्तव्यस्तजस्तो बनेको विकास संरचना, प्रणालीमा सुधार ल्याउनु, व्यवस्थित गर्नु र छलाङ मार्नु सामान्य विषय होइन र छैन पनि। अझ त्यो भन्दा पनि संघीयता कार्यन्यनको विषय पनि उत्तिकै जटिल थियो।

नयाँ संघीय संरचनापश्चात् बनेका तीन तहको सरकार आएपछि उल्लेख्य भौतिक पूर्वाधार विकास निर्माणलगायतका कार्य भएका छन्। वर्षौंदेखि अलपत्र बनेका योजना, कामले गति लिएको छ। कतिपय प्रणालीगत सुधार भएका छन्। तर, समाजमा विगतको यथास्थितिमा रमाउने पात्र, सोच, प्रवृत्ति र संस्कार बलियो रूपमा स्थापित छ। जुन बदल्न कुनै एक–दुई व्यक्तिका कारण सम्भव भने छैन।

त्यो चाहे गुठी विधेयक ल्याउँदा होस् या स्वास्थ्य। सिन्डिकेट तोड्दा होस् या खरिद बिक्रीसम्बन्धी व्यवस्था गर्दा होस्। सरकार थर्कमान हुन्छ। यद्यपि यो कुनै ९/१० महिने सरकार होइन। दुई तिहाइ हुनुको अर्थ, सार्थकता जनताले व्यवस्था बदल्दा खेलेको भूमिकाका कारण अवस्था पनि बदल्न सक्लान् भन्ने अभिमत र विश्वास हो। तर देश बदल्न गएकाहरू आफैं बदलिएर कुरूप अनुहार देखाइरहेका छन्। दशकौंको राजनीतिक भविष्य क्षणभरमै ध्वस्त बनाएर एकपछि अर्को पतीत भइरहेका छन्।

पछिल्लो ताजा उदाहरणमा सभामुख कृष्णबहादुर महराको जुन नियति देखियो, यसले महरा मात्र होइन, सरकार र त्यसको नेतृत्वकर्ता दल नेकपा पनि चौतर्फी बदनाम भयो। सरकारका प्रधानमन्त्री शून्य सहनशीलतामा अडिग देखिन्छन्। इमानको जगमा मुलुकको समृद्धिको खाका कोरिरहेजस्तो लाग्छ। एक व्यक्ति राम्रो हुनुले अर्थ राख्दैन।

प्रधानमन्त्रीले खराब प्रवृत्ति रोकेर कस्तो संस्कार, पद्धति बसाउँछन् ? माथिदेखि तलसम्म कति प्रभावशाली कार्यशैली अपनाउन निर्देशित गर्छन् र त्यो कति कार्यान्वयन हुन्छ ? परीक्षा यही हो।
विडम्बना, प्रधानमन्त्रीकै निकट घेरा र आसपासको जञ्जालका कारण सरकार विवादमा परिरहन्छ।

त्यसको केही बाहिर सरकारका मन्त्रीहरूको परिणाम र उपलब्धि जनताको कसीमा हेर्दा उत्साहजनक नभएको अर्को यथार्थ हो। सरकारको सुखी नेपाली, समृद्ध नेपालको लोकप्रिय नारा र लक्ष्य छ। त्यो गन्तव्यमा पुग्ने बाटो भने अलोकप्रियताको छ। अलोकप्रियता भनेको मन्त्री, सत्ता आसीन व्यक्तिहरू एकपछि अर्को खराब काम, निर्णयबाट पतीत हुँदै गएका छन्।

जुन पथबाट सरकारले लोकप्रिय लक्ष्य नपुग्ने, नभेटिने निश्चित छ। यसका लागि कम्युनिस्ट पार्टीको नेतृत्वमा सत्ता बागडोर सम्हालेकाहरू सही सोच, सही चरित्र, सही कार्यशैली र सही कार्यदिशा बोकेर इमानको बाटोबाटै अघि बढ्न जरुरी छ। नत्र सत्ताको पासा अबको तीन वर्षपछि उल्टिन सक्ने विषयमा पनि तीनै तहका सरकारले हेक्का राख्नुपर्छ।

– सरोजराज पौडेल,
अर्जुनचौपारी, स्याङ्जा।

प्रतिक्रिया दिनुहोस्