कालो लेदो बग्ने बागमतीमा सफा पानी



 

नेपाल समाचारपत्र, काठमाडौं।

दशकौंदेखि बागमती नदीमा लेदोसहितको पानी बागिरहेको छ। घर, कार्यालय, होटल, कल–कारखानालगायतबाट निस्केका अप्रशोधित फोहोर पानीयुक्त ढल सीधै नदीमा मिसाउनाले यस्तो भएको हो। नदीछेउ पर्ने बित्तिकै दुर्गन्धले नाक–मुख एकसाथ छोप्नुपर्ने अवस्था छ। बागमतीको पानी सफा बनाउन विभिन्न कोशिस गरिरहेको छ तर पनि चाहेको जस्तो काम हुन सकिरहेको छैन।

केही वर्षदेखि सप्ताहव्यापीरूपमा बागमती सफा गर्ने अभियानदेखि बागमतीको संरचना निर्माण र बगैंचा निर्माणसम्मको काम भइरहेको छ। विभिन्न संघ–संस्थाको सहयोग र सहकार्यमा बागमतीलाई संरचनागतरूपमा सौन्दर्य बनाउन खोजिएको छ। बागमती किनारको विभिन्न स्थानमा पार्कहरूसमेत निर्माण गरी सुन्दर बनाइरहेको छ।

तर, नदीमा बग्ने लेदो र दुर्गन्धमा भने कमी आउन सकेको छैन। लेदो र ढल पानी सीधै नदीमा नहाली प्रशोधन गरेर मात्रै हाल्ने गरी काम पनि भइरहेको छ। ढलको पानी सीधै नदीमा नमिसाई प्रशोधन गरेपछि मात्रै नदीमा हाल्दा नदीमा सफा र लेदोरहित पानी बग्ने जनाइएको छ।

गुह्येश्वरीलगायत काठमाडौं उपत्यकाको विभिन्न स्थानमा फोहोर ढल पानी प्रशोधन गर्न प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। आयोजना कार्यान्वयन निर्देशनालयले एसियाली विकास बैंकको सहयोगमा फोहोरपानी प्रशोधन केन्द्र बनाइरहेको छ।

यी प्रशोधन केन्द्रमा फोहोरपानी जम्मा भई प्रशोधन गरेर बागमती नदीमा छोड्ने योजना निर्देशनालयको रहेको निर्देशनालयका कार्यकारी आयोजना निर्देशक भोजविक्रम थापाले बताउनुभयो। प्रशोधन गरिएको पानी केही सुधारिएको हुने उहाँले दाबी गर्नुभयो।

गुह्येश्वरीसहित सल्लाघारी, कोड्कु र धोबीघाटमा यस्तै प्रशोधन केन्द्र निर्माण भइरहेको छ। गुह्येश्वरीमा भने पहिलाको प्रशोधन केन्द्रलाई थप अभिवृद्धि गर्ने गरी काम अन्तिम चरणमा पुगेको जनाइएको छ।

प्रशोधन केन्द्रबाट नदीमा सफा र गन्धरहित पानी बगाउने योजना छ। गुह्येश्वरीमा पुरानो प्रशोधन केन्द्र २६ करोड लिटर क्षमताको र नयाँ बनिरहेको ६ करोड ८० लाख लिटर गरी दैनिक ३२ करोड ८० करोड लिटर क्षमताको हुने जनाइएको छ। यो अन्तिम चरणमा पुगेको जनाइएको छ।

त्यस्तै सल्लाघारीमा १४ करोड लिटर, बालकुमारीमा १७ करोड र धोबीघाटमा ३७ करोड लिटर पानी दैनिक प्रशोधन गर्ने योजना छ। त्यसैअनुसार काम भइरहेको जनाएको छ।
गुह्येश्वरीमा प्रशोधन केन्द्रको काम आयोजनाको ९५ प्रतिशत सम्पन्न भइसकेको छ। अत्याधुनिक प्रविधिबाट बन्ने यस योजना तीन महिनाभित्र सम्पन्न हुने निर्देशनालय कार्यकारी आयोजना निर्देशक थापाले बताउनुभयो।

उक्त केन्द्रले गोकर्णदेखि गुहेश्वरीसम्मको ढल प्रशोधन गर्नेछ। यसका लागि २ अर्ब ५५ करोड रुपियाँ लागत रहेको छ भने यसको निर्माणको ठेक्का भारतीय कम्पनी भा टेक वाबाग लिमिटेडले पाएर काम गरिररहेको छ। केन्द्रबाट प्रशोधन भएको पानी पिउन योग्य नभए पनि नुहाउनसम्म हुने जनाइएको छ। प्रशोधन गरिएको पानी विश्व स्वास्थ्य महासंघको मापदण्डअनुसार कृषि प्रयोजनका लागि प्रयोग गर्नसमेत सकिनेछ।

लेदोबाट कम्पोस्ट मल

फोहोर पानी प्रशोधन केन्द्रमा पानीमा बगेर आएको फोहोर तथा लेदो संकलन गर्ने प्रविधि रहेने जनाइएको छ।

दैनिक ७ टन लेदो जम्मा हुने अनुमान गरिएको छ। यसरी जम्मा भएको लेदोबाट प्रतिदिन ७ टन कम्पोस्ट मल निस्कनेछ।यसरी निस्किएको मल अन्नबाली तथा तरकारी खेतीका लागि उपयुक्त हुने जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्