शालिकमा पूर्वप्रअ एवं शिक्षासेवी हरिशंकर



शारदाभक्त श्रेष्ठ 
पूर्वप्रअ एवं विद्यालय व्यवस्थापन समिति अध्यक्ष
(वि.व्य.स.का अध्यक्ष तथा पूर्वप्रअ)
काठमाडौंको गणबहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा कात्तिक २ गतेको सोही विद्यालयका पूर्वप्रधानाध्यापक हरिशंकर श्रेष्ठको शालिक अनावरण भएको छ। वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले लो पूर्वप्रअ श्रेष्ठको शालिक अनावरण गर्नुभएको हो।


जोशीले पूर्वप्रअ श्रेष्ठको शिक्षा क्षेत्रमा लामो समयसम्म भएको निःस्वार्थ सेवा र योगदानको प्रशंसा गर्दै ‘हरिशंकर’ नामको अर्थलाई विस्तृत ढंगले स्पष्ट पार्नुभएको थियो। शालिक अनावरण कार्यक्रमको आयोजना नेपाल आदर्श पूर्वविद्यार्थी परिवारबाट भएको हो।

शालिक अनावरण कार्यक्रममा सोही विद्यालयका पूर्वविद्यार्थी तथा सभासद् एवं न्यायाधिश सपना मल्ल, सिद्धार्थ वनस्थलीका प्रिन्सिपल लक्ष्मण राजवंशी, प्रभात माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक नाति महर्जन, काठमाडौं विश्वविद्यालयका सहायक डीन तथा पूर्वविद्यार्थी डा. विमप्रसाद श्रेष्ठ, वडा अध्यक्ष चिनीकाजी महर्जन एवं अन्य प्रतिष्ठित गन्यमान्यको बाक्लो उपस्थिति रहेको थियो। 

सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्वप्रधानाध्यापक शारदाभक्त श्रेष्ठ र वर्तमान प्रधानाध्यापक लक्ष्मण रञ्जितले हरिशंकर श्रेष्ठले उक्त विद्यालयको शैक्षिक गुणस्तर र चौतर्फी विकासका लागि दिनुभएको योगदानको स्मरण गर्दै उहाँको मार्गनिर्देशनलाई सधैं पछ्याउनुपर्ने बताउनुभएको थियो।

विसं २०१२ साल साउन २२ गतेदेखि नेपाल आदर्श विद्यालयमा शिक्षकका रूपमा प्रवेश गर्नु भई त्यसको ६ महिनापछि अर्थात् माघ २२ देखि प्रधानाध्यापकका रूपमा काम गर्नुभएको थियो। श्रेष्ठले शिक्षकको कार्यभार सम्हाल्दा नेपाल आदर्श विद्यालय म्यादी मिडिल स्कुल थियो। उक्त विद्यालय संस्थापक कृष्णहरि मूलको इन्द्रचोक तढंचोकस्थित घरको ४/५ वटा छिँडी तथा बगैंचामा निर्मित ३/४ वटा टहरामा विद्यालय सञ्चालित थियो। हरिशंकरकै कार्यकालमा विद्यालयलाई क्रमशः निम्नमाध्यमिक तथा माध्यमिक विद्यालयको सरकारी मान्यता प्राप्त भएको थियो। उहाँकै अथक प्रयासले विद्यालयका शिक्षक र कर्मचारीको नियमित तलब एवं विसं २०२० वैशाखदेखि नै सञ्चयकोष काट्ने व्यवस्थाको शुरू भएको थियो

सोही विद्यालयबाट हालै अवकाश प्राप्त गर्नुभएका भूतपूर्व प्रधानाध्यापक वरुणप्रसाद वैद्यले आफू पनि हरिशंकर श्रेष्ठकै विद्यार्थी भएको स्मरण गर्दै मर्यादा क्रममा कनिष्ठ रहे पनि उहाँले आफूलाई प्रधानाध्यापक बनाउनुभएको बताउनुभएको थियो।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको थियो। जोशीले हरिशंकरका धर्मपत्नी रत्नदेवी श्रेष्ठलाई दोसल्ला ओढाएर, सम्मानपत्र र नगदसहित सम्मान गर्नुभएको थियो। पूर्वविद्यार्थी परिवारका अध्यक्ष करुणा शाक्यले उक्त शालिक बनाउन ५ हजार र सोभन्दा बढी आर्थिक सहयोग प्रदान गर्ने पूर्वविद्यार्थीलगायतलाई मायाको चिनो स्वरूप सरस्वतीको मूर्ति र खादा ओढाएर सम्मान गर्नुभएको थियो।

वरिष्ठ मूर्तिकार राजकुमार महर्जनले पूर्वप्रअ श्रेष्ठको शालिक निर्माण गर्नुभएको थियो। कार्यक्रममा मूर्तिकार महर्जनलाई मायाको चिनो प्रदान गरिएको थियो। शालिक निर्माण कार्यक्रम सम्पन्न गर्न डेढ सयभन्दा बढी पूर्वविद्यार्थी र शिक्षाप्रेमीले आर्थिक सहयोग प्रदान गरेका थिए।

पूर्वविद्यार्थी तथा वरिष्ठ पत्रकार सुरेश मानन्धरले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजसेवी तथा पूर्वविद्यार्थी र शिक्षक–शिक्षिका एवं कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो।

हरिशंकर श्रेष्ठको परिवारबाट धन्यवाद ज्ञापन गर्ने क्रममा श्रेष्ठकै ज्येष्ठ पुत्र पूर्वविद्यार्थी एवं विश्व निकेतन माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक ओमशंकर श्रेष्ठले सो विद्यालयको शैक्षिकस्तरलाई प्रोत्साहित गर्न आमा रत्नदेवीको नाममा २ लाख रुपियाँ राशीको अक्षयकोष स्थापना गरिएको घोषणा गर्नुभएको थियो।

अक्षयकोषको रकमबाट प्रत्येक वर्ष कक्षा नौ मा सबैभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई ‘हरिशंकर श्रेष्ठ’ पदकसहित नगद पुरस्कार दिइने भएको छ। पूर्वविद्यार्थी श्रेष्ठले आफूले अध्ययन गर्दा २ हजारभन्दा बढी विद्यार्थी रहेको स्मरण गर्दै विद्यालयको गुणस्तरीयताको प्रमाण नै त्यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्याले झल्काउने तथा हरेक शिक्षकको मूल्यांकन सरकारीस्तरमा भन्दा उनका आफ्नै विद्यार्थीबाट हुने बताउनुभएको थियो।

उहाँले विद्यालय व्यवस्थापन समिति र पूर्वविद्यार्थी परिवारलाई हरिशंकरको शालिक निर्माण गरी उहाँप्रति श्रद्धा र सम्मान प्रकट गरेकोमा आफ्नो परिवारको तर्फबाट धन्यवाद दिनुभएको थियो। विद्यालयको थप शैक्षिक उत्थान र विकासका लागि पूर्वविद्यार्थीहरूले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान र सहयोग गर्दै जानुपर्ने उहाँको धारणा थियो।

पूर्वप्रअ हरिशंकर श्रेष्ठको जन्म विसं १९९१ साल कात्तिक २ गते काठमाडौंको एक मध्यमवर्गीय व्यापारी परिवारमा भएको थियो। चन्द्रमान श्रेष्ठ तथा श्रीमती कलशकुमारी श्रेष्ठको कनिष्ठ सुपुत्र श्रेष्ठ भक्तपुरको दरबार स्क्वायरस्थित पचपन्नेझ्याल सामुन्ने मूलघर रहेको उहाँको परिवार व्यापारको सिलसिलामा चिसापानीगढीको भीमफेदीमा बसोबास गरिरहेको थियो।

श्रेष्ठको शिक्षादीक्षा काठमाडौंको दरबार हाईस्कुलमा भएको थियो। उहाँले पटना विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गर्नुभएको थियो। ‘अंग्रेजी भाषालाई विदेशी भाषाका रूपमा प्रशिक्षण’ नामक अंग्रेजी भाषासम्बन्धी तालिम लिनुभएको थियो उहाँले।

विसं २०३० सालमा काठमाडौंमा नयाँ शिक्षा योजना लागू भएपछि उहाँले एकवर्षे बीएड गर्नुभएको थियो।उहाँका समकालीन साथीहरू दलगत राजनीतिमा सक्रियतापूर्वक लाग्नुभए तापनि उहाँ कुनै पनि दलमा संलग्न नभई स्वतन्त्र भई आजीवन रहनुभएको थियो।

आफ्नो परिवारको व्यापारिक पृष्ठभूमिलाई छोडेर शिक्षण पेसा अँगाल्नुभयो। विसं २०१२ साल साउन २२ गतेदेखि नेपाल आदर्श विद्यालयमा शिक्षकका रूपमा प्रवेश गर्नु भई त्यसको ६ महिनापछि अर्थात् माघ २२ देखि प्रधानाध्यापकका रूपमा काम गर्नुभएको थियो।

श्रेष्ठले शिक्षकको कार्यभार सम्हाल्दा नेपाल आदर्श विद्यालय म्यादी मिडिल स्कुल थियो। उक्त विद्यालय संस्थापक कृष्णहरि मूलको इन्द्रचोक तढंचोकस्थित घरको ४/५ वटा छिँडी तथा बगैंचामा निर्मित ३/४ वटा टहरामा विद्यालय सञ्चालित थियो।

हरिशंकरकै कार्यकालमा विद्यालयलाई क्रमशः निम्नमाध्यमिक तथा माध्यमिक विद्यालयको सरकारी मान्यता प्राप्त भएको थियो। उहाँकै अथक प्रयासले विद्यालयका शिक्षक र  कर्मचारीको नियमित तलब एवं विसं २०२० वैशाखदेखि नै सञ्चयकोष काट्ने व्यवस्थाको शुरू भएको थियो।

शिक्षकको अध्यापनमा भएको लगनशीलताबाट प्रभावित तत्कालीन नेपालका लागि भारतका राजदूत भगवान् सहाय तथा उहाँका प्रेस सहचारी डा. शिवमंगल ‘सुमन’ ले विद्यालयको भौतिक विकासका लागि पटक–पटक आर्थिक सहयोग  गर्नुभएको थियो।

उहाँहरूको आर्थिक सहायता र सो विद्यालयका शिक्षकको वचत कोषको रकमले २०१५ सालमा गणबहालमा दुईतले भवन खरिद गरी विद्यालय स्थानान्तरण गरिएको थियो। सोही वर्ष विद्यालयमा शिक्षा निर्देशक डा. तीर्थराज उप्रेतीको अध्यक्षतामा विद्यालयको पहिलो सञ्चालक समितिको गठन भएको थियो।

विद्यालयको परिवारको अथक मेहेनतका कारण विद्यार्थी संख्या बढ्दै गयो। विद्यार्थीको आम्दानीबाट हरेक वर्ष करिब ४/५ वर्षसम्म निरन्तर नजिकैका जग्गा अलि–अलि खरिद गरी उहाँले नयाँ भवन निर्माण गर्नुभएको थियो।कर्मयोगी श्रेष्ठले कहिले पनि कसैकहाँ निजी स्वार्थ पूर्ति गर्न भनसुन गर्न धाउनुभएन।

सधैं आफ्नै विद्यालयमा नियमित समयसम्म बस्नुहुन्थ्यो। सम्बन्धित कार्यालयहरूमा बैठकका लागि या सरसल्लाहका लागि बोलावट भएमा मात्र जानुहुन्थ्यो। उहाँ कार्यरत रहनुहुँदा तत्कालीन सरकारी निकायहरूबाट शिक्षकमा जागिर खुवाउन आउने अनावश्यक दबाबलाई विद्यालयको हितलाई ध्यानमा राख्नुपर्छ भनी त्यसलाई व्यवहारमा उतारी सधैं प्रतिकार गर्नुहुन्थ्यो।

अवकाशपछि सर्वसम्मतबाट थुप्रै वर्षसम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहनुभएको थियो। विब्यसको अध्यक्ष भएपछि उहाँले कुनै पनि राजनीतिक हस्तक्षेप र दबाबलाई वास्ता नगरी सोही विद्यालयका पूर्वविद्यार्थी नै प्रधानाध्याप बनाउँदै लाने नीति शुरू गर्नुभएको थियो।

त्यसको एकमात्र अर्थ विद्यालय हाँक्ने विद्यालयप्रति भावनात्मक सम्बन्ध भएको स्थानीय योग्य व्यक्ति नै हुनुपर्ने उहाँको दूरदर्शी धारणा थियो। उहाँले कहिल्यै पनि रकमलाई प्राथमिकता दिनुभएन।

यदि उहाँले पैसालाई मात्र प्राथमिकता दिनुभएको भए उहाँले २०१२ सालमा खोलिएको तत्कालीन शाही नेपाल वायुसेवा निगमको प्रशासनीक पदमा कार्यरत हुन जागिर खानुहुन्थ्यो। विद्यालयमा एक समयमा स्थान अभावको कारण बिहान र दिउँसो पूरा समय विद्यालयमा दुई सिफ्टमा कक्षा चलाइँदा उहाँ सधैं बिहान ६ बजेदेखि दिउँसो पूरा समय विद्यालयमा बस्नुहुन्थ्यो।

सो बापत उहाँले कहिल्यै थप पारिश्रमिक लिनुभएन। श्रीमद् भागवत् गीताको कथनअनुसार कर्ममा विश्वास गर्ने तर फलको आशा नगर्ने उहाँ विभिन्न समयमा शिक्षकको हकहितका लागि खोलिएका तत्कालीन समयको एकमात्र नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्लास्तरीय र केन्द्रीय पदाधिकारी भई शिक्षक संगठनको विभिन्न अधिवेशनलाई सफलतापूर्वक सञ्चालन गर्न सक्रियतापूर्वक लाग्नुभएको थियो।

उहाँको शैक्षिक योगदानको कदर गर्दै नेपाल सरकारले उमेर हदबन्दीका कारण अवकाश हुनुपर्ने अवस्थामा दुई वर्ष सेवा थप गरेको थियो। उनका सात छोराछोरी र बुहारीहरू राष्ट्रलाई आवश्यक झन्डै सबै जनशक्तिका रूपमा तयार छन्।तिनीहरू डाक्टर, इन्जिनियर, पत्रकार, प्रशासक, शिक्षक, साहित्यकार आदि पेसामा कार्यरत छन्। ८१ वर्षको उमेरका विसं २०७२ असार ३१ गते उहाँको स्वर्गारोहण भएको थियो।

यस विद्यालयले महानगर सन्ध्याकालीन दैनिक, नेपाल समाचारपत्र दैनिक, सिने पत्रिका कामना र पारिवारिक खुराक साधना (हाल स्वास्थ्य डाइजेस्ट) पत्रिका प्रकाशन गर्दै आएको नेपालको प्रतिष्ठित प्रकाशन समूह कामना न्यूज पब्लिेकेसन्स्का संस्थापक, प्रकाशक तथा प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठ, प्रतिष्ठित उद्योगपति दीपक मल्होत्रा, साःख व्यापारी समूहका सदस्यहरू, राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू राजुमान तुलाधर, इन्द्रमान तुलाधर, मुकुन्द सिंह, अन्तर्राष्ट्रियस्तरका कराँते तथा फुल कन्ट्याक्ट कराँते खेलाडी केदारमान स्थापित र तीन पटकसम्म राष्ट्रिय बलिङ च्याम्पियन बनेका नीलेन्द्र माली तथा मुक्ति एन्ड रिभाइभल ब्यान्डका चर्चित गायक मुक्ति शाक्यलगायत अन्य विभिन्न क्षेत्रमा विशिष्ट ओहदामा पुग्न सफल विद्यार्थी उत्पादन गर्न सफल भएको थियो।

‘चार दशकसम्म निरन्तर प्रधानाध्यापकको हैसियतले निःस्वार्थ भावनाका साथ सेवा पुर्याउनु भएकै कारणले उहाँलाई सम्मान र कदर गर्ने विषयमा लामो छलफलपछि यो योजनालाई हामीले साकार रूप दिएका हौं।’ –पूर्वविद्यार्थी परिवारका उपाध्यक्ष केदारमान स्थापितले शालिक निर्माण कार्यक्रमको योजनाबारे बताउनुभयो।

श्रेष्ठले पाउनुभएकोपुरस्कार तथा सम्मान
  •  विसं २०३१ ‘शुभराज्याभिषेक पदक’
  •  विसं २०३८ सातौं राष्ट्रिय शिक्षा दिवसको प्रशंसापत्र
  •  विसं २०४६ राष्ट्रिय शिक्षा पुरस्कार (राष्ट्रिय शिक्षा समिति)
  •  विसं २०५० दीर्घसेवा पदक (नेपाल आदर्श मावि)
  •  विसं २०५२ आदरपत्र (नेपाल आदर्श मावि)
  •  विसं २०५७ सम्मानपत्र (नेपाल आदर्श माविको स्वर्ण जयन्ती)
  •  विसं २०५९ स्व. जनकनाथ प्याकुरेल स्मृति पदक तथा प्रशंसापत्र (कन्या माध्यमिक  विद्यालय, लैनचोर)
  •  विसं २०६६ गुरूपूर्णिमा सम्मानपत्र (बाल नमुना मावि, बालुवाटार)
  •  विसं २०६७ नेपाल आदर्श स्काउट रूप सम्मानपत्र (नेपाल आदर्श मावि)
  •  विसं २०६८ प्रअ ईश्वरराज अर्याल पुरस्कार (पद्मोदय मावि)
प्रतिक्रिया दिनुहोस्