पकेट संविधान देखेर क्रेताविक्रेता दुवै दंग



ईश्वरराज ढकाल, काठमाडौं।नेपालको संविधान, २०७२ लाई आम नेपालीको हातहातमा पुर्याउन सरकारले पहिलो पटक सानो साइजमा ‘पकेट संविधान’ प्रकाशित गरेको छ। सर्वोच्च अदालत, विभिन्न मन्त्रालय र सरोकारवालालगायत अधिकांश निकायले पकेट संविधान प्रकाशित गर्न आग्रह गरेपछि कानुन किताब व्यवस्था विभागले पकेट संविधान प्रकाशित गरेको हो।

यसअघि संविधान जारी भएलगत्तै विभागले निःशुल्क वितरण गर्ने गरी २० हजार प्रति प्रकाशित गरेको थियो।‘पकेटमा बोक्न मिल्ने गरी सानो आकारमा पकेट संविधान प्रकाशित गरेका हौं।’ –विभागका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले भन्नुभयो। विभागले दुई हजार प्रति छपाइ गरेको छ।

संविधान जारी भएलगत्तै सरकारले देशको संविधान सबै नेपालीको हात–हातमा पुर्याउने घोषणा गरेको थियो। सोहीअनुसार पकेट संविधान प्रकाशित गरेको विभागको भनाइ छ। पकेट संविधान प्रकाशित गरेपछि सो संविधान खरिद गर्ने ग्राहकको संख्या ह्वात्तै बढेको बताइएको छ।

सो संविधान विभागमा सूचीकृत भएका विक्रेताले मात्रै बिक्री गर्न पाउने व्यवस्था छ।विभागले सो संविधान ठूलो आकारको पुस्तकजस्तै १ सय ३० रुपियाँमै बिक्री गरिरहेको छ। ठूलो आकारको संविधान १ सय ८१ पेजको छ भने सानो ३ सय ६० पेजको छ।

विभागका अनुसार संविधान जारी भएपछि हालसम्म १२ संस्करणसम्म प्रकाशित भइसकेको छ। ‘हालसम्म करिब १ लाख प्रति प्रकाशित गरिसकेका छौं।’ –विभागका स्टोरकिपर रवीन्द्र थापाले नेपाल समाचारपत्रलाई बताउनुभयो।

२०७२ असोज १ गते तयार भएको संविधान असोज ३ गते संविधानसभाबाट पारित भएको थियो। ६ सय १ जना संविधान सभा सभासद्ले सो संविधान निर्माण गरेका थिए। संविधान सभाको दोस्रो संविधान सभाले २०७२ साल भदौ ३० गते दुईतिहाइभन्दा बढी मतले पारित गरेको थियो। यस संविधानमा ३५ भाग ३ सय ८ धारा र ९ वटा अनुसूची रहेका छन्।

प्रतिक्रिया दिनुहोस्