नेपाल सर्वोत्कृष्ट



काठमाडौं, (नेस)।नेपालको ‘ध्वाँसे चितुवा’ संरक्षणसम्बन्धी प्रस्तावना विश्वभरमा उत्कृष्ट भोटका साथ प्रतियोगितामा प्रथम भएको छ। ‘प्रकृतिका साथीहरू’ नामक गैरसरकारी संस्थाको प्रस्तावनालाई ‘युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन’ले सर्वोत्कृष्ट घोषणा गरेको हो।

एसोसिएसन वन, वन्यजन्तु र पर्यावरणका क्षेत्रमा क्रियाशील युरोपेली संस्था हो। सर्वोत्कृष्ट भएपछि ‘प्रकृतिका साथीहरू’ले ३० हजार युरो अर्थात् करिब ३७ लाख ५० हजार रुपियाँ प्राप्त गर्नेछ।

सो रकम कास्कीको मादी गाउँपालिकाको सिक्लेस र ताङतिङ आसपासका क्षेत्रमा ध्वाँसे चितुवा संरक्षणका लागि खर्च गरिने प्रकृतिका साथीहरू संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिनुभयो।

क्यामेरा ट्र्यापिङका क्रममा तीन वर्षअघि सिक्लेस र ताङतिङ आसपासमा ध्वाँसे चितुवा फेला परेपछि यो जन्तुबारे चर्चा शुरू भएको उहाँले बताउनुभयो। ‘घना जंगलमा बस्ने तर दिउँसो विचरणमा ननिस्कने ध्वाँसे चितुवा राती मात्रै सक्रिय हुन्छ।

त्यसैले यसका बारेमा स्थानीय अनविज्ञ छन्, यसबारेको जानकारी र संरक्षणका लागि हामीले प्रस्ताव पेश गरेका थियौं।’ –आचार्यले भन्नुभयो। ध्वाँसे चितुवा विश्वव्यापी रूपमा संवेदनशील सूचीमा सूचीकृत छ भने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले संकटापन्नको सूचीमा समावेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्