दिनहुँ पक्रिँदै लागुऔषधका अभियुक्त,भारी मात्रामा लाघुऔषध बरामद



हेटौंडा, (नेस) ।
मकवानपुर प्रहरी लागुऔषध ओसारपसारविरुद्ध कडारुपमा उत्रिएको छ । यही क्रममा प्रत्येक दिनजसो अभियुक्तहरु पक्राउ पर्ने गरेका छन् ।

सोमबार बेलुका करिब ७ बजे हेटांैडा–१५, रातोमाटे चेकपोष्टस्थित इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) महानन्दप्रसाद कुर्मीको कमाण्डमा खटिएको टोलीले हेटांैडा बजारबाट बीरगञ्जतर्फ जाँदै गरेको ना. ५५ प ६०२५ नम्बर मोटरसाइकल चेक गर्दा मोटरसाइकल चालक पर्साको बहुद्रामाई नपा–१ बस्ने वर्ष ३८ का शम्भु साहकलवार र मोटरसाइकल पछाडि बसेका वडा–३ बस्ने वर्ष २६ का असलम देवानले कपडाको भोटोभित्र लुकाइराखेको गाँजा बरामद गरेको छ ।

शरीरमा फिट गरी माथिबाट ज्याकेट लगाएर लुकाइछिपाइ ल्याउँदै गरेको ४ केजी गाँजा फेला परेको हुँदा मोटरसाइकल तथा गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम उनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना तथा सवारीसाधन जफत हुने प्रावधान रहेको प्रहरी प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

मंगलबार विहान करिब ८ बजे सोही कार्यालयका प्रसनि लक्ष्मण थापामगरको कमाण्डमा खटिएको गस्ती टोलीले हेटौंडा–१५, कमाने भोर्लेमा शंकास्पद् अबस्थामा हिँडीरहेका सोही ठाउँ बस्ने वर्ष ३२ का रवीन्द्र गोलेको साथबाट गाँजासहित नाइट्रोसन–१० लेखिएको ११ पत्तामा १ सय १० पिस बरामद गरेको हो ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम उनलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपियाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्