अटोलाई ‘टाइमपास’ बनाउँदै चालक



हेटौंडा, (नेस) ।

केही दिनअघिको कुरा हो, मञ्जला थापा हेटौंडा बजारबाट अटो चढेर एचआईडीतर्फ लाग्नुभयो । बजार क्षेत्र र एचआईडीबीच बाटोमा उहाँले त्रासको सामना गर्नुप¥यो ।

कुरा थियो, अटोको हुइँकाइ । तर, अटोचालकको भने वृद्ध । थापाले त्यो हुइँकाइसँगै चालकलाई उमेर सोध्नसमेत भ्याउनुभयो । उहाँको उमेर बताइयो–६५ वर्ष । थापाले सोध्नुभयो–तपार्इंले यत्तिको उमेरमा किन अटो चलाउनु भएको ? जवाफ थियो–यसो टाइमपास । घरमा केही काम हुँदैन, त्यसैले अलिअलि कमाइ हुने र आफूलाई समय कटाउन पनि सजिलो हुने उहाँले निर्धक्क जवाफ फर्काउनुभयो ।

हेटौंडा बजारमा हाल अटोको ठूलै भिड लाग्ने गरेको छ । करिब दुई हजारको हाराहारीमा रहेका अटो हेटौंडा बजारमा गुड्दै आएका छन् ।

बढ्दो सवारी चापसँगै दुर्घटना पनि बढ्दै गएको छ । अटो उत्तिकै दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सरकारले सवारी चलाउन लाइसेन्स प्राप्त गर्न उमेर हद तोकेको छ । तर, यहाँ भने उमेर हदको विचारै गरिन्न ।

हाल हेटौंडा बजारमा अधिकांश अटोचालकले अटोलाई ‘टाइमपास’ का रुपमा लिने गरेको पाइएको छ । १५ वर्षदेखि ६५ वर्ष उमेरसम्मले अटो चलाउँदै आएको प्रहरीको आशंका छ ।

हेटौंडा बजारमा अधिकांश लाइसेन्स नभएका अटो कारबाहीमा परिरहेको दिनप्रतिदिन सुन्दै आएका छौं । उमेर नपुग्दै चलाउने र उमेर पुगे पनि कागजपत्रबिना चलाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अटोले नियम मिच्ने कामहरु गरेको ट्राफिक प्रहरीको दाबी छ । उमेरमा अपरिपक्वताका कारण अटो बेस्सरी हुइँकाउने तथा जथाभावी ओभरटेक गर्ने गरिएका कारण दुर्घटना हुने गरेको छ । अज्ञानताकै कारणले कति अटो चालककले साइडलाइट बाल्न नजान्ने, बाले पनि गलत साइडको बाल्ने, पार्किङ अव्यबस्थितरुपमा गर्ने तथा धेरै गलत कामहरु अटोचालकले गर्ने गरेको प्रहरीको भनाइ छ ।

चालु आर्थिक वर्षमा तीन वटा अटो दुर्घटनमा परेको ट्राफिक प्रहरी काशी थापामगरले जानकारी गराउनुभयो । अन्य सामान्य दुर्घटना भने दिनमा चारदेखि सात वटासम्म हुने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार अधिकांश अटो चालकले तीव्रगतिमा सवारी चलाउने गरेका कारण दुर्घटना हुने गरेको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा एक हजार आठ सय १० वटा अटो कारबाहीमा परेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । तीमध्ये ७५ प्रतिशत अटोचालकले लाइसेन्सबिना तथा लापबाही गरी सवारी चलाएको ट्राफिक प्रहरी थापामगरले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले सवारीसाधनलाई थप ब्यवस्थित गर्ने बताएको थियो । हेटौंडामा अटो/मयुरीहरुलाई थप ब्यवस्थापन गर्न लागिएको मेयर हरिबहादुर महतले एक सार्वजनिक कार्यक्रममा उद्घोष गर्नुभएको थियो ।

अटोका कारण बजार क्षेत्र अस्तव्यस्त भएपछि मुख्य बजार क्षेत्रमा अटो÷मयुरीलाई प्रवेश नदिने तयारी थालिएको उपमहानगर मेयर महतले बताउनुभएको थियो । अटो÷मयुरीलाई हेटौंडा सीमा चोकदेखि पिपलबोटसम्म, राप्तिरोडमा यति ड्रग हाउससम्म विशेषगरी बुद्धचोकमा आउन नदिने गरी तयारी थालिएको मेयर महतले उक्त कार्यक्रममा भन्नुभएको थियो ।

‘अटो÷मयुरी धेरै भएकाले यसको ब्यवस्थापन गर्न लागिएको हो,’ उहाँले भन्नुभएको । थियो । सबै अटो÷मयुरीलाई तोकिएको कागजपत्रसहित उपमहानगरपालिकामा स्टिकर लिन आह्वान भएसँगै व्यबस्थापन गर्न लागिएको थियो ।

हेटौंडाका साना सवारी व्यवसायीले क्षमताभन्दा बढी विद्युतीय रिक्सा तथा अटो आयात भइरहँदा पार्किङमा समस्या भइरहेको छ । व्यबस्थित पार्किङ माग गर्दै त्यसलाई व्यबस्थित गर्नुपर्ने माग गरेका हुन् ।

तीनपांग्रे अटो तथा रिक्सा संयुक्त संघर्ष समितिले ६ बुँदे माग राख्दै जिल्लामा तीनपांग्रे सवारीसाधनको एकिन संख्या संकलन गरी थप आयात गर्न रोक लगाउनुपर्ने बताएको छ । समितिले सन्तुलित भाडादर कायम गर्न, तीनपांग्रे सवारीलाई मुख्य राजमार्ग प्रवेशमा रोक लगाउने सरकारी निर्णय खारेज गर्न, मौखिक र कार्यदक्षताका आधारमा लाइसेन्स प्रदान गर्ने व्यबस्था गर्न तथा गैरकानुनीरुपमा सञ्चालनमा रहेका सवारीसाधन छानबिन गरी कारबाही गर्न माग गरेको थियो ।

तीनपांग्रे साधन आवश्यकताभन्दा धेरै आयात हँुदा बजार अस्तव्यस्त भएकाले त्यसको आयात रोक्नुपर्ने बताइएको छ । वैज्ञानिकढंगबाट पार्किङ व्यबस्था मिलाउन हेटौंडा उपमहानगरपालिकासँग आग्रह गरिए पनि त्यसो हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्