पर्यटन र कृषिमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह



नेपाल समाचारपत्र, काठमाडौं।अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निजी क्षेत्रमार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, शहरी पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गर्नुभएको छ।

विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ गभर्नरको प्लेनरी सेसनमा बोल्दै उहाँले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

उहाँ नेतृत्वको नेपाली प्रतिनिधिमण्डको अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षलगायतका उच्च पदाधिकारीहरूसँगको छलफलमा नेपालको अर्थतन्त्रको सम्भावनावारे चर्चा गर्दै निजी क्षेत्रलाई थप सवल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरूको विविधिकरण गर्नुपर्ने बताउँदै उहाँले पूर्वाधार विकासको लागि मध्यम तथा दीर्घकालीन अवधिको वित्त परिचालन गर्न निगमको ध्यानाकर्षण गराउनुभयो।

बैंकको ट्रेजरी हेर्ने उपाध्यक्षलगायतको उच्च पदाधिकारीहरसँगको भेटमा उहाँले नेपालको पुँजी बजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवश्यक भएको बताउँदै बचत र लगानीबीचको ठूलो अन्तर घटाउन विदेशी पुँजी परिचालन जरुरी भएको उल्लेख गर्नुभयो।

उहाँले दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागिता जनाउँदै सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ पक्ष, सवारी साधनको भारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानको स्तर, सवारी साधनको परीक्षण र यातायात क्षेत्रको नियमनजस्ता विषयमा ध्यान पुर्याउनुपर्ने बताउनुभयो।

अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय मुद्राकोष एसिया प्रशान्त विभागले आयोजना गरेको एक उच्चस्तरीय कार्यक्रममा सहभागी हँुदै दक्षिण एसियाली मुलुकहरूले जनसांख्यिक लाभ लिन थप रोजगारीको सिर्जना र श्रमको उत्पादकत्व बढाउन आवश्यक भएको बताउनुभएको थियो।

त्यस्तै एसियाली विकास बैंकका उपाध्यक्षलगायतका उच्चस्तरीय पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालको समग्र विकास प्रयासमा बैंकले गरेको सहयोगको समिक्षा गर्दै उहाँले आगामी वर्षमा बैंकसँगको सहयोग बिस्तारका सम्भावना र नेपाल सरकारको विकास प्राथमिकताको बारेमा चर्चा गर्नुभएको थियो।

अर्थमन्त्री डा. खतिवडाले बेलायती सहयोग संस्थाका स्थायी सचिवसँग पनि भेटवार्ता गर्नुभएको थियो। भेटका क्रममा उहाँले बेलायत सरकारको सहयोगमा सञ्चालित कार्यक्रमहरूको समिक्षा गर्दै आगामी दिनमा परिचालन हुने थप सहयोगका क्षेत्रमा चर्चा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्