लेबनानमा प्रदर्शन रोक्न आर्थिक सुधार प्याकेज



बेरुत, (एजेन्सी)।वर्षौंपछि पहिलोपटक भएके सबैभन्दा ठूलो विरोध प्रदर्शन साम्य पार्ने उद्देश्यले लेबनानको गठबन्धन सरकारले आर्थिक सुधार प्याकेजलाई अनुमोदन गर्ने अनुमान गरिएको छ। यस नयाँ आर्थिक प्रस्तावमा उच्च पदस्थ अधिकारीहरूको तलब आधा पार्ने तथा नयाँ कर हटाउने जस्ता बुँदा उल्लेखित छन्।

आम हड्तालको आह्वान भएयता जनताले पाँचौं दिनको प्रदर्शनको तयारी गरिरहेका बेला सरकारले यो कदम चाल्न लागेको हो। दशौं हजार जनता भ्रष्टाचार र आर्थिक कडाई नीतिविरुद्ध आक्रोश पोख्न सडकमा उत्रेका छन्। लेबनानको अर्थतन्त्र न्यून वृद्धि र उच्च ऋणबाट पीडित रहेको छ।

नयाँ प्रस्तावितमध्ये एक ह्वाट्स याप र अन्य मेसेज सर्भिसअन्तर्गत गरिने भ्वाइस कलमाथि लगाइने भनिएको कर गत बिहीबार नै फिर्ता लिइएको थियो। प्रदर्शनका कारण शहरहरू ठप्प हुनुका सथै बिजुली आपूर्ति बन्द भएको छ।

गत शुक्रबार नै प्रधानमन्त्री साद हारिरीले आफ्नो गठबन्धन सरकारलाई राजनीतिक संकट टार्नका लागि ७२ घन्टाभित्र आर्थिक सुधार कार्यक्रमका ेअनुमोदन गर्न आग्रह गरेका थिए। साथै उनले यदि सो कदम नउठाइएको खण्डमा आफूले पदबाट राजीनामा दिने संकेतसमेत दिएका थिए।

यसैअनुरूप मन्त्रीहरु निजामति कर्मचारीको तलब ५० प्रतिशतले घटाउन सहमत हुनाका साथै तिनीहरूले बैंकहरूलाई ३ अर्ब ३० करोड अमेरिकी डलर योगदान दिन अनुरोध गरेका छन्।

साथै दूर सञ्चार तथा विद्युत् प्रशारण निकायहरूलाई पनि निजीकरणमा लाने भएको छ। यसैबीच सरकारको नयाँ योजनामा नयाँ अनुगमन तथा पारदर्शी निकायहरू स्थापना गर्ने कुरा पनि उल्लेखित छन्।

प्रतिक्रिया दिनुहोस्