पोखराले जित्दा ललितपुर जितविहीन



नेपाल समाचारपत्र, काठमाडौं।महिला च्याम्पियन्स लिग टी २० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले सान्त्वना जित हात पार्दा ललितपुर फाल्कन जितविहीन बनेको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा पोखराले ललितपुरलाई ६ विकेटले हराएको हो।

यो दुबैको लिगमा अन्तिम खेल थियो। जसमा पोखराले बाजी मार्यो। पोखराले जितबाट प्रतियोगिता टुंग्यायो भने ललितपुर भने चारै खेलमा पराजित भयो। आज क्याट क्वीन्स काठमाडौं र विराटनगर टाइटन्सबीच फाइनलमा स्थान बनाउन खेल हुँदैछ।

ललितपुरले दिएको १ सय २३ रनको लक्ष्य पोखराले ४ विकेट गुमाएर १६ बल बाँकी राखेर भेटाएको हो। टोलीको जितमा कविता कुँवरको सानदार ब्याटिङ कारक बन्यो। मध्यक्रमकी ब्याटसवुमेन ४२ बलमा १० चौकाको सहयोगमा ६१ रन जोेडेर नटआउट रहिन्। उनले प्लेयर अफ द म्याच घोषित हुँदै ५ हजार नगद पुरस्कार पनि प्राप्त गरिन्।

तीन विकेट ५ रनका लागि गुमेपछि क्रिजमा आएकी कविताले विस्फोटक ब्याटिङ गरेकी थिइन्। उनले ३६ बलमै अर्धशतक पुरा गरेर विपक्षीलाई दवावमा राखेकी थिइन्। उनले विन्दु रावलसँग चौथो विकेटका लागि १ सय ६ रनको शतकीय साझेदारी गरेकी थिइन्। यो प्रतियोगितामा पहिलो शतकीय साझेदारी पनि हो। विन्दु ४० रन जोडेर नेरी थापाको बलमा आउट भएकी थिइन्।

बलिङतर्फ नेरी र ममता चौधरीले शुरुवाती ३ विकेट लिएर ललितपुरलाई आसा दिलाएका थिए। कप्तान नेरीले विपक्षीकी कप्तान सीता राना मगरलाई क्लिन बोल्ड गरेकी थिइन्। सीताले १ रन मात्रै बनाएकी थिइन्। अर्को ओभरमा ममता चौधरीले ओपनर अर्की ओपनर रेवती धामीलाई १ रनमै आउट गरेकी थिइन्।

यसपछि ममताले रेवती पोद्दारलाई आफ्नै बलमा क्याच आउट गरेर पवेलियन फर्काएकी थिइन्। रेवती शून्यमा आउट हुँदा पोखरा ४.२ ओभरमा ५ रन बनाएर अप्ठयारो अवस्थामा पुगेको थियो। तर यसपछि भने कविता र विन्दुको जोडीलाई अंकुश लगाउन नसक्दा ललितपुरले हार बेहोर्नु परेको थियो।

यसअघि ललितपुरले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय २२ रन जोडेको थियो। टोलीका लागि ममता चौधरी ५२ रन बनाएर नटआउट रहिन्। उनले ५१ बलमा ७ चौका प्रहार गरेकी थिइन्। उनीपछि कविता जोशीले ३१ रन र सम्झना खड्काले १० रनको योगदान दिए। अन्यले भने दोहोरो अंक छुन सकेनन्।

प्रतिक्रिया दिनुहोस्