खुद्रा पसलबाट पेट्रोल बिक्री सरोकारवाला निकाय मौन



नेपाल समाचारपत्र, जाजरकोट।जाजरकोट सदरमुकाम खलंगा बजारभित्र जथाभावी खुद्रा पसलका व्यापरीले डिजेल, पेट्रोल र ग्याँस बिक्री वितरण गरिरहेका छन्। खुद्रा पसलहरूमा इजाजत नलिएरै व्यपारीले डिजेल, पेट्रोल र ग्याँस बिक्री वितरण गर्ने गरेका छन्।

पेट्रोल पम्प नहुँदा जाजरकोट सदरमुकाममा यस्तो समस्या आएको हो। सरोकारवाला निकायले ध्यान नदिँदा स्थानीय व्यापारीले जथाभावीरूपमा जोखिम पूर्णरूपमा पेट्रोल डिजेल बिक्री वितरण गर्ने गरेका छन्। यस्तो लापरबाहीले एकातिर दुर्घटनाका जोखिम बढ्ने गरेको छ भने अर्कोतिर उपभोक्ता ठगिएका छन्।

लामो समयदेखि जाजरकोटमा पेट्रोल पम्प स्थापना गरी डिजेल पेट्रोल वितरण गर्ने भनेको पेट्रोल पम्प सञ्चालन नहुँदा खुद्रा पसलका व्यापारीले ड्रममा नेपालगन्जदेखि ढुवानी गरेर मिनिरल वाटरको बोटलबाट बिक्री वितरण गरेका छन् भने उपभोक्ताहरू चर्को मूल्य तिरेर प्रयोग गर्न बाध्य भएका छन्।

संवेदनशील वस्तु पेट्रोलियम पदार्थ राखेका वरपरका व्यापारीलगायत उपभोक्त कतिबेला आगलागी हुन्छ भन्नेमा त्रसित बनेका छन्।नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्रविक्रम शाहले संवेदनशील वस्तु पेट्रोल डिजेल यसरी जथाभावी सडक पेटीमा राखेर बिक्री वितरण गरे पनि सरोकारवाला निकाय मौन रहेको गुनासोे गर्नुभयो।

यससी बिना अनुमति राखिएका सामानको सरोकारवाला निकायले व्यवस्थापन गर्न नसके आमागी दिनमा समस्य निम्त्याउने संयोजक शाहको भनाइ रहेको छ।केही वर्षअगाडि शान्तिचौताराको बसपार्कमा पेट्रोलियम पदार्थ राखेको स्थानमा आगलागी हुँदा दुई जनाको अकालमै ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्