अराजकताको राजनीति अन्त्य गरौं



सत्ता र शक्ति कति अन्धो ? कति निर्दयी हुन्छ ? यसको चरम पराकाष्ठा कुन तहसम्म पुग्छ ? अनि, सत्ता या राजनीतिक दल र तिनका नेताहरूका हामी नागरिक कुन हदसम्म अन्धभक्त बनिरहन्छौं ? यसको पछिल्लो भयानक उदाहरण पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद अफ्ताव आलम र इँटा भट्टीमा जिउँदै जलाएको प्रकरण र महरा बलात्कार प्रकरणले देखाएको छ।

यसले राजनीतिभित्रको अपराधीकरण र अपराधभित्र गरिने राजनीति दुवैलाई उदांगो बनाइदिएको छ। जसका कारण राजनीतिमा कहाली लाग्दो घटनाले तरंग उत्पन्न भएको छ। नेपाली समाजमा प्रचलित ‘पाप धुरीबाट कराउँछ,’ भन्ने उक्तिलाई सत्य नजिक उभ्याएको छ।

१२ वर्षअगाडि बम विस्फोट गराएको र २२ जनाको इँटाभट्टामा पोलेर हत्या गरेको अभियोग सांसद आलममाथि छ। आलम २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट कांग्रेस उम्मेदवारका हैसियतमा विजयी भएका थिए।

सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलम यस्तो बेला पक्राउ परे, जुन बेलामा यो मुलुकका पाँचजना मात्र सम्माननीयमध्ये एक संघीय संसद्का सभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन्। उनी मात्र होइन, फरक–फरक काण्ड र प्रकरणमा अरू ठूला भीआईपी सांसदहरू पनि पक्राउ परेका छन् र सांसदबाट निलम्बित भएका छन्।

अहिले प्रहरीले यो गम्भीर जघन्य नरसंहार घटनाको अनुसन्धान गरिरहेको छ। दैनिकजसो नयाँ–नयाँ कुनै दन्त्यकथाको जस्तो लाग्ने तथ्यहरू मिडियाले एकपछि अर्को क्रमशः सार्वजनिक गरिरहेका छन्। अर्कोतर्फ यस्तो जघन्य अपराधको आरोपमा पक्राउ पर्दा पनि सांसद आलमका पक्षमा उनका कार्यकर्ताले आन्दोलन गरिरहेका छन्।

सडक चोकमा टायर बालिरहेका छन्। पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले समेत विपक्षी नेतालाई फसाउने षड्यन्त्र भनेर नीच टिप्पणी गरेर आलम बचाउका पक्षमा उभ्याएका छन्। यद्यपि, कांग्रेस पार्टीकै युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्माहरूले भने निष्पक्ष अनुसन्धान गर्नुपर्ने तर्क पेस गरिरहेका छन्।

एकादेशको जस्तो कथा लाग्ने यो घटना देशभित्रकै रौतहटमा भएको विषयमा सन्देह रहेन। १२ वर्षसम्म दबिएर रहेका आवाज एकपछि अर्को क्रमशः तथ्यका रूपमा बाहिर आइरहेका छन् र आउनुपर्छ। अब यो घटनाको अनुसन्धानमा कुनै दबाब र प्रभाव रहनुहुन्न। यद्यपि, प्रहरीले यस घटनालाई यति सुझबुझ र संवेदनशीलताका साथ अघि बढाएर पक्राउको अवस्थासम्म ल्याएको छ।

यहाँसम्म ल्याउनु पनि प्रहरीको आधाभन्दा बढी सफलता हो। अब यस घटनाको अनुसन्धानलाई टुंगोमा पुर्याएर प्रहरीले राजनीतिको नाममा हुने अपराधीकरण र अपराधीकरणको नाममा हुने राजीतीकरण दुवै यो देशमा सम्भव र सफल छैनन्। यसले सरकारको छवि, विधिको शासनलाई मात्र बल पुग्दैन, प्रहरीको समेत गिर्दो साख र मनोबल बढाउने निश्चित छ।

– केदार गिरी,

बालुवाटार, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्