के मुखले २० लाख पर्यटक बोलाएको हो ?



मुलुकमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितको महत्वाकांक्षी कार्यक्रम भ्रमण वर्ष २०२० घोषणा गरेको छ। साँच्चै सरकारले गरेको तामझाम हेर्दा लाग्छ, अब देशमा २० लाख हैन ४० लाख पर्यटक भित्रिँदै छन्। जब–जब सरकारले नयाँ–नयाँ कार्यक्रम घोषणा गर्छ, देशमा एउटा न एउटा विपत आइलाग्छ।

एकातिर विदेशी पर्यटक नेपाल ल्याउने योजना बनाइरहेको समयमा मधेसबाट फैलिएको डेंगु आतंक राजधानीलगायत देशभरका शहरमा फैलियो। राजधानीलगायत ठाउँमा लामखुट्टेले लाग्ने डेंगुको उपचारको लागि औषधि नभएको भन्ने हल्ला मच्चाउने काम पनि सामाजिक सञ्जाल र नयाँ–नयाँ खुलेका मिडियामा आतंक मच्चाउने शैलीमा आएपछि नेपाल आउने योजना बनाइरहेका विदेशी पर्यटकहरू आत्तिदै नेपाल नआउने निधो गरेको खबर पत्रपत्रिकामा देखिन थालेका छन्।

नेपालमा पर्यटक भित्र्याउने हो भने सबैभन्दा पहिले हामीले सडक चुस्त दुरुस्त बनाउनु जरुरी छ। अहिले हामी कतै जानुपर्ने भयो भने त्यो ठाउँमा कति समयमा पुग्न सकिन्छ भन्ने ठेगान छैन। पर्यटनको केन्द्र मानिने हाम्रो राजधानी काठमाडौंमै सडक अस्तव्यस्त छन्। जताततै खाल्डाखुल्डी छन्, न त ट्राफिक व्यवस्थापन नै गतिलो छ, जताततै बेथिति छ।

अहिलेसम्म सडकको खाल्डाखुल्डी पुर्नसमेत नसकेको सरकारले २० लाख पर्यटकलाई के देखाउन बोलाउने हो, थाहा छैन। हुन त यहाँ नकारात्मक कुरा उठाउन खोजेको हैन, अहिले हामीकहाँ भइरहेको कमी–कमजोरीलाई उठाउन खोजेको मात्रै हो। नेपाल साँच्चै विश्वलाई नै लोभ्याउने पर्यटनको केन्द्र हो भन्दा कसैको पनि दुई मत हुँदैन।

पर्यटन भित्र्याउने प्रमुख कुरा पूर्वाधार नै हो, नेपालले यहाँ घुम्न आउने पर्यटकलाई सबै खालको पूर्वाधार हामी कहाँ छ, सडक राम्रो छ, व्यवस्थित छ, खाने, बस्ने होटल तथा लजमा सबै सेवा–सुविधा सम्पन्न छ भन्ने सूचना प्रवाह गर्न सक्नुपर्छ।

त्यस्तै नेपालको जुनसुकै ठाउँमा जान, आउन सकिन्छ, शान्ति सुरक्षाको राम्रो प्रबन्ध छ भन्ने विश्वास जबसम्म दिलाउन सक्दैनौं तबसम्म हामीले मात्रै नाराको भरमा यो वर्ष यति लाख पर्यटक भित्र्याउने भनेर पुग्दैन।

अहिले मुलुकको अवस्था गम्भीर छ। ठाउँ–ठाउँमा सडक हिलाम्मे छ, दर्जनौं सवारीसाधन हिलोमा फसेर कन्तबिजोग छ। यस्तो समयमा सरकारले पर्यटन वर्ष घोषणा गरेर काठमाडौंमा ठूलो भाषण छाँटिरहेको छ। काठमाडौंको सडक घाम लाग्यो भने धुलाम्मे हुन्छ, कोठाबाट कामको लागि हिँडेको मान्छे धूलोले गर्दा चिन्न मुस्किल पर्छ।

माक्स नलगाईकन कतै हिँड्न मिल्दैन तर सरकार प्रमुख प्रधानमन्त्री केपी ओलीले माक्स लगाउने सरकार विरोधी हो भनेर भाषण नै गरिसकेको अवस्था छ। नेपाल भ्रमणमा छिमेकी मुलुक चीनका शक्तिशाली राष्ट्रपति सी जिन पिङ आइसकेका छन्।

हाम्रो नेताहरू दर्जनौं पटक विदेश सयर गर्छन्। त्यहाँ भएको विकास हेरेर के कुरा सिक्छन् ? त्यो नै अहिलेसम्म थाहा हुन सकेको छैन। अहिले मात्रै भएको सडक खनेर खाल्डाखुल्डी पार्ने अनि फेरि पुर्ने, त्योभन्दा अरू केही काम भएको छैन। भएको सडक उधारेर पर्यटन वर्ष मनाउने जुन काम अहिले सरकारले गर्दै छ, त्यो नै सबैभन्दा गलत हो भन्ने लाग्छ।

– प्रताप न्यौपाने,
सातदोबाटो, ललितपुर।

 

प्रतिक्रिया दिनुहोस्