हिजोआजका कुरा अब फिल्ममा



करिब २५ वर्षअघि नेपाल टेलिभिजनबाट प्रसारण शुरू भई वर्षौंसम्म चलेको हास्य टेलिशृंखला हिजोआजका कुरा अब फिल्ममा आउने भएको छ। सन्तोष पन्त निर्देशित उक्त शृंखला टेलिभिजनमा ७ सय ७६ भाग प्रसारण भएको थियो। ठूलो पर्दाको फिल्म भने सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्दै छन्। उनले यसअघि दर्जनौं वृत्तचित्र र विज्ञापन फिल्म बनाएका छन्।

४ परिवारको ५ कथामा बन्ने फिल्ममा नेपालीको विदेश जाने लहर थपिएपछि हुने उत्साह, उमंग र योसँगै आउने कठिनाइलाई हास्यास्पदरूपमा प्रस्तुत गरिने र हिजोआजका कुराका दर्शकलाई लक्षित गर्दै फिल्म निर्माण गरिने निर्देशक साकारले बताए।

फिल्म निर्माण घोषणा कार्यक्रममा बोल्दै साकारले भने– ‘टेलिभिजनमा हिजोआजका कुरा सिरियल बन्द भएपछि अधिकांश दर्शकले बुबासँग हिजोआजका कुरा अब कहिले हेर्न पाइन्छ भनेर प्रश्न गरिरहेकाले ठूलो पर्दामा फिल्म निर्माण गर्न लागेका हौं।

यहीबीच हामीले एकदिन फिल्म बनाऔं भन्ने सल्लाह गर्यौं र एक वर्ष स्क्रिप्टमा पनि बितायौं, फिल्मको हिरोहिरोइन भनेको नै सन्तोष पन्त र रमा थपलिया हुनुहुन्छ।’ फिल्मका कथाकार तथा मुख्य अभिनेता सन्तोष पन्तले आफूले २०४२ सालतिर नेपाल टेलिभिजनका तत्कालीन महाप्रबन्धक नीर शाहको सल्लाहमा हिजोआजका कुरा बनाएको स्मरण गर्दै सुनाए– ‘त्यति बेला नीर शाहले तपाईं पनि एउटा कार्यक्रम बनाउनुस् भन्नुभयो।

त्यो बेला मलाई निर्देशनका बारेमा केही पनि थाहा थिएन। काम गर्दै जाँदा धेरै कुरा सिकियो। मध्यमवर्गका मानिसको सामाजिक कथा पस्किन थालेपछि यो लोकप्रिय हँुदै गयो।’ पन्तले गुनासे गरे– ‘पहिला हिजोआजका कुरा खेलेर अहिले स्टार बनेका कलाकारलाई पनि यो फिल्ममा खेल्न अफर गरेका थियाँं। तर, उहाँहरूको आ–आफ्नो टिम रहेछ। काम गर्न मान्नुभएन।’

फिल्मकी कलाकार रमा थपलियाले हिजोआजका कुरा बन्द भएपछि परिवार छुटिएको जस्तो आभाष भए पनि फेरि ठूलो पर्दामा फिल्म बन्न लाग्दा परिवार जोडिएको महशुस भएको बताइन्। ‘मैले धेरै फिल्म, टेलिफिल्म तथा विज्ञापनमा काम गरें। तर, म चिनिएको भनेको हिजोआजका कुराबाटै हो। दर्शकले हाम्रो जोडीलाई रुचाइदिनुभयो माया गरिदिनुभयो।’ –रमाले भनिन्।

नायिका ऋचा शर्माले हिजोआजका कुरामा आफ्नो बुबाको सम्झना जोडिएको बताउँदै भनिन्– ‘हिजोआजको कुरासँगै मेरो बुबाको याद जोडिएको छ। उहाँ जहिले पनि शुक्रबार बिहानैदेखि हिजोआजका कुरा हेर्नुपर्छ भनेर बस्नुहुन्थ्यो।’ –उनले भनिन्।

फिल्मका सहनिर्माता बैकुण्ठप्रसाद उपाध्याय (अशोक) ले आफू हिजोआजका कुराको पारखी भएकाले ठूलो पर्दाको फिल्ममा लगानी गर्न पाउँदा खुसी भएको बताए। छठपछि सुटिङ फ्लोरमा जाने फिल्ममा हर्कुलस बस्नेतको संगीत र रवि सायमीको छायांकन रहनेछ।

 

प्रतिक्रिया दिनुहोस्