क्यान्सर भयो भन्दैमा मर्नुपर्दैन ‘अहिले सबैखाले क्यान्सरको उपचार स्वदेशमै सम्भव छ’



 

भगवती तिमल्सिना

[email protected]

वरिष्ठ प्रसूति विशेषज्ञ डा. कस्तुरी मल्ल आफैं चिकित्सक भए पनि स्तन क्यान्सर कसरी पत्ता लगाउने भन्ने थाहै थिएन भन्नुहुन्छ। १८ वर्षअघि उहाँले आफूलाई स्तन क्यान्सर भएको थाहा पाउन आफैंले दिएको एकमहिने तालिमले सिकायो। ‘जति बेला क्यान्सरको तालिम दिने जिम्मेवारी पाएँ र एक महिनाका लागि सामग्री तयार पार्ने क्रममा स्तन क्यान्सरबारेमा पनि पढें र तयार गरें। व्यावहारिकरूपमा क्यान्सर के हो भन्ने ज्ञान थिएन।

म आफैं डाक्टर भएर पनि आफ्नो स्तन आफैंले जाँच्ने थाहा थिएन। जति बेला म प्रशिक्षक भएँ बल्ल थाहा भयो। एक महिनाको तालिम सकेको अन्तिम दिनमा स्तन क्यान्सरको विषय थियो। आफूले सिकाएको स्तन क्यानसरका विषयमा गम्भीर भएर सोचें र आफ्नै स्तन तालिम दिए जस्तै गरी सुस्त गतिमा छामें। स्तनमा यताउता चल्ने सानो गाँठो फेला पारें।

क्यान्सरकै तालिम सकेर फर्केको दिन आफ्नै स्तनमा शंकास्पद डल्लो भेटियो। श्रीमान् पनि आँखारोग विशेषज्ञ चिकित्सक नै हुनुभएकाले उहाँलाई देखाएँ उहाँले कतै ठोक्कियो होला भनेर सामान्य प्रतिक्रिया दिनुभयो। मेरो मनमा भित्रभित्रै शंका उत्पन्न भइसकेको थियो।

म आफैं चिकित्सक भएका कारण तत्काल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गएर डा. प्रकाश सायमीलाई देखाए र उहाँले भनेअनुसार रगत परीक्षणका लागि दिएँ। बेलुकासम्म रिपोर्ट आउँछ अनि खबर गरौंला भनिएको थियो खबर आएन, मेरो मनमा झन खुल्दुली भयो। आफैंले फोन गरें डा. सायमीले रिपोट भन्न अनकनाउनुभयो।

मैले जे–जस्तो भए पनि भन्नुस् भनें। उहाँले क्यान्सरको शङ्का लाग्यो थप परीक्षण गरांै भन्नुभयो। डा. सायमीले परीक्षण गरी त्रिवि शिक्षण अस्पतालमा नै शल्यक्रिया गर्ने तयारी गर्नुभएको थियो। मैले एकपटक टाटा अस्पतालमा देखाउने निधो गरें। त्यतिञ्जेल नेपालमा क्यानसर भनेको भयानक रोग हो लागेपछि निको हुन्न भन्ने त्रास थियो।

जब म टाटा अस्पताल भारतमा पुगें। मलाई महिलाको सौन्दर्यको एउटा महत्वपूर्ण भाग भनेको स्तन हो त्यो नै काट्नुपर्ने भो भन्ने चिन्ता लागेको थियो। त्यहाँका चिकित्सकहरूले नेपालकै रिपोर्टको आधारमा तिमी एकदम छिटो आइपुग्यौ तिम्रो स्तन काट्नुपर्दैन भित्रको लम्स (डल्लो) मात्र निकाले पुग्छ भनें। म निकै खुसी भएँ।

शल्यक्रियापछि केमो र रेडियो थेरापी गर्दासम्म म आफूले आफैंलाई क्यान्सरको बिरामी हुँ जस्तै लाग्दैन थियो। कारण म एक त आफैं चिकित्सक प्रसूति गृहको निर्देशक त्यसमा पनि मभित्र आत्मबल थियो। कामको व्यस्तता पनि उत्तिकै थियो। मैले ५ साइकल किमो नेपाल क्यान्सर अस्पतालका संस्थापक अध्यक्ष डा. सुदीप श्रेष्ठसँग लिएँ।

मलाई अहिले पनि क्यान्सर पेसेन्ट भन्छन् आफूलाई त्यस्तो लाग्दैन। क्यान्सर शुरूकै स्टेजमा पत्ता लाग्यो भने तत्काल उपचार गरे निको हुन्छ। क्यान्सर भयो भन्दैमा मर्नुपर्दैन। गुणस्तरीय निदान र हाम्रो प्रतिबद्धता भन्ने नारालाई सार्थक बनाउन पहिला जस्तो विदेश धाउनुपर्ने अवस्था पनि छैन।

अब त सबै खाले क्यान्सरको नेपालमै उपचार हुन्छ। ४० वर्ष नाघेपछि हरेक व्यक्तिले स्वास्थ्य परीक्षण गराई रोग लाग्नबाटै जोगिनुपर्छ। रोग लागेको छैन के जाँच्ने भनेर आफ्नो स्वास्थ्यलाई बेवास्ता गर्नुहुन्न रोग नलाग्दै परीक्षण गरी सुरक्षित बन्नुपर्छ।’ –डा. मल्ल भन्नुहुन्छ।

नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरका संस्थापक अध्यक्ष डा. सुदीप श्रेष्ठ भन्नुहुन्छ– ‘नेपालमा सबैखाले क्यान्सर उपचारका लागि एउटै छानामुनि सम्भव भइसकेको अवस्थामा समय–समयमा औषधि र उपकरणको अभाव हुन्छ। यस विषयमा नेपाल सरकारको ध्यान पुग्नु जरुरी छ। क्यान्सरको उपचार अब नेपालको काठमाडौंमा मात्र हैन जिल्ला–जिल्लामा हुनुपर्छ र राज्यले यस विषयमा विशेष ध्यान दिनुपर्छ र आम नेपालीले सरकारलाई घचघच्याउनुपर्छ।

पहिला क्यान्सर नो आइन्सर भन्ने थियो तर अहिले समयमै उपचार गरे ८० प्रतिशत बिरामीलाई निको हुन्छ। झन्डै ७० देखि ८० प्रतिशत बिरामी तेस्रो र चौथो स्टेजमा पुगेपछि मात्र आइपुग्छन्। उनीहरूको उपचार फरक किसिमको हुन्छ र समय लाग्छ।’

क्यान्सर लागेर निको भएका र उपचार गराइरहेका बिरामीका बीच भावना साटासाट गर्ने उद्देश्यले नेपाल क्यान्स अस्पताल एन्ड रिसर्च सेन्टरमा सुदीपा क्यान्सर सपोट्र्स ग्रुपले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले क्यान्सरलगायतको रोगको उपचारका लागि स्वदेशका अस्पताल नै उपयुक्त थलो भएको बताए।

स्तन क्यान्सरको जोखिमबारे सचेतना बढाउने उद्देश्यले अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रूपमा मनाउने क्रममा क्यान्सर विशेषज्ञ र क्यान्सर निको भएकाहरूले सो कुरा बताएका हुन्। अक्टोबरलाई स्तन क्यान्सरको पहिचान, निदान र रोकथाम गर्न सन्देश फैलाउने काम गरिन्छ।

‘स्वेदशमा उपचार गर्दा डाक्टरले बिरामीको पीडा बुझेर आफ्नै भाषामा उपचार गर्छन्, तर विदेशका डाक्टरले उपचार मात्रै गर्छन्’, नेपाल क्यान्सर सहयोग समूहका महासचिव शशांक शर्माले भने– ‘क्यान्सर औषधिले मात्रै निको हुँदैन, वैज्ञानिक र सामाजिक प्रभावले पनि ठूलो असर गर्छ।’

सुदिप्त ब्रेस्ट क्यान्सर सर्भाइभर मिटको अवसरमा अस्पतालका वरिष्ठ स्तन तथा आन्द्राको क्यान्सर विशेषज्ञ डा. कपेन्द्र शेखर अमात्यले स्तन क्यान्सरबाट हुन सक्ने मृत्युबाट बच्नका लागि समयमै रोग पत्ता लगाउने र विशेषज्ञबाट उपचार गराउनुपर्ने बताउनुभयो। नेपालमा स्तन क्यान्सरलगायत विभिन्न क्यान्सरका रोगीको संख्या बढ्दै गएको बताउँदै बढ्नुका कारणबारे पत्ता लगाउन भने सरकारले समयमै अनुसन्धान गर्नुपर्ने बताउनुभयो।

‘अन्य चिकित्सकको दाँजोमा अंकोलोजिस्ट र बिरामीको सम्बन्ध पारिवारिक हुन्छ र बिरामीबाट पनि चिकित्सकले धेरै कुरा सिकिन्छ। स्तन क्यान्सर भएका बिरामीको शल्यक्रियाका क्रममा स्तन काट्दा सौन्दर्य नै जान्छ भन्ने थाहै थिएन। जब उहाँहरूले भावना साटासाट गर्दा थाहा भयो त्यसपछि कृत्रिम स्तन राख्ने सोचको विकास भयो।

सै गरी स्तन क्यान्सर समयमै उपचार गरे निको हुन्छ भन्ने सन्देश मिडियाले घर–घरमा पुर्याएकै कारण विगतमा ४ देखि ५ सेन्टिमिटर लामो गिर्खाले भरिए पछि मात्र स्तन परीक्षण गराउँथे भने अहिले २ सेन्टिमिटर हुँदा नै आइपुग्छन् र समयमै उपचार भई निको हुन्छन्।

यसको श्रेय मिडियालाई जान्छ।’ –डा. अमात्य भन्नुहुन्छ। काठमाडौं, भक्तपुर र ललितपुरमा बढी स्तन क्यान्सरका बिरामी रहेको अनुसन्धानबाट देखापरेको पनि डा. अमात्यले जानकारी गराउनुभयो।

नेपाल क्यान्सर सहयोग समूहकी कार्यक्रम संयोजक स्वरूपा श्रेष्ठले क्यान्सरविरुद्ध सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा आफूलाई क्यान्सर भएर निको भए तापनि अन्य क्यान्सर रोगीका लागि सहयोग गर्दै आएकी सुनीता चापागाईं र रोज श्रेष्ठका साथै डा. कस्तुरी मल्ललाई स्वरूपा श्रेष्ठले सम्मान गर्नुभयो भने स्तन लगायत अन्य क्यान्सर रोगको उपचार गरी निको भएका र उपचारका क्रममा रहेका क्यान्सर रोगीलाई खादा लगाएर सम्मान गरिएको थियो।

सोही अवसरमा जटिलरूपमा उपचार गराइरहेका बिरामीको सहयोगका लागि आर्थिक सहयोग संकलन गरी सोही अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी शोभा ओलीलाई उपचार सहयोगस्वरूप ३० हजार रुपियाँ संकलन गरी हस्तान्तरण

गरिएको थियो। कार्यक्रममा समूहका कोषाध्यक्ष गणेशभक्त श्रेष्ठले सहयोगी हात र सहयोगले प्राप्त जीवनमाथि प्रकाश पार्नुभएको थियो। सोही अवसरमा स्तन क्यान्सर सचेतना अभियानलाई व्यापक बनाउन नेपाल क्यान्सर अस्पताल परिसरमा द्विप प्रज्ज्वल गरिएको थियो भने उनीहरूलाई सहभागी गराई कात्तिक ८ गते शनिबार खोकनामा हाइकिंग आयोजना गर्न लागिएको समेत
जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्