फुट्यो देउवाको बोली



कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाको बोली बुझिन्न भन्नेहरू धेरै छन्। यस्तै चर्चा लामो समयदेखि हुँदै आएको छ। देउवालाई आलोचना गर्नेहरू उनको बोलीलाई व्यङ्ग्यवाँण बनाउने गर्छन्–बनाउँदै आएका छन्।

भन्छन्–‘केही गरी देउवाले बोल्या बुझ्या भए मारिदिनु।’ उनको बोली र बिग्रिएको रेडियो भन्नेहरू कति छन् कति।उनै देउवाले शुक्रबार भक्तपुरमा बोल्या कुरो सबैले प्रस्टै बुझेपछि धरहरा तीनछक पर्या छ।

कार्यक्रममा उपस्थित कांग्रेसका नेता कार्यकर्ता भन्दा कार्यक्रममै सहभागी नभएका सत्तारूढ दलका नेता कार्यकर्ताले देउवाको बोली प्र्रस्टै बुझेपछि छक्क नपर्ने कुरै भएन।

‘१२ वर्षअघिको रौतहट बम विस्फोटमा हाम्रा नेता मोहम्मद अफताफ आलम पक्राउ पर्नु कांग्रेसमाथिको षड्यन्त्र हो, हामीमाथिको प्रहार हो,’ देउवाले यति मात्रै के बोल्या थिए सबैले प्रस्टै बुझ्यौं भन्छन् बा।

अस्ती दशैंअघिको एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले पनि देउवालाई कटाक्ष गर्दै ‘उहाँले बोलेकै बुझिन्न’ भन्या कुरो धरहराले बिर्सिया छैन।

शुक्रबारको आफ्नो बोली सबैले बुझेसी देउवा स्वयं पनि तीनछक पर्या छन् भन्या। आफ्नै बोलीले बेस्सरी थिचेर तीनछक परेसी बोलीको खण्डन गर्दै उनले शनिबार भने– ‘मैले त्यति प्रस्ट कहाँ बोल्या छु र?’

 

प्रतिक्रिया दिनुहोस्