मकै र सिमी पाकेपछि गाँजा नष्ट



नेपाल समाचारपत्र, जाजरकोट।जाजरकोट कुशे गाउँपालिका–५ पाँचकाटियामा स्थानीयले लगाएको गाँजा (भाँगो) खेती नेपाल प्रहरीले नष्ट गरेको छ। प्रहरी चौकी नजिकैको जग्गामा उम्रिएको गाँजाको खेती पाँचकाटिया प्रहरीले नष्ट गरेको हो।

नेपालको कानुनले बन्देज गरेको अवैध लागूऔषध मानिएको कच्चा पदार्थ चरेस निर्माण गर्ने गाँजा खेती नेपाल प्रहरी र स्थानीयहरूको संयुक्त सहभागितामा नष्ट गरिएको हो।
स्थानीय जनकबहादुर खड्काले खेती गरेको दुई रोपनी जग्गामा मकै र सिमी खेतीसँगै आफै उम्रिएको गाँजा खेती प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो।

केही वर्ष पहिलादेखि पदमबहादुर खत्रीको दुई रोपनी जग्गामा स्थानीय जनकबहादुर खड्काले अँधिया खेती लगाउँदै आएका थिए। जनकबहादुर खड्काले लगाएको मकै र सिमी खेतीले नदेखिएको गाँजा मकै र सिमी पाकिसकेपछि देखिएको हो।

गाँजा खेती प्रहरी र स्थानीयको संयुक्त पहलमा प्रहरी चौकी पाँचकाटियाका प्रहरी सहायक निरीक्षक जोरासिंह खड्काको नेतृत्वको टोलीले गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले पुष्टि गरेको छ।

अवैध लागूऔषधका रूपमा रहेको चरेस उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ गाँजा खेती गर्ने गराउने कार्यमा रोक लगाउँदै आएको नेपाल प्रहरीले गाँजा खेती नष्ट गरेपछि स्थानीय खुसी भएका छन्। स्थानीयको सहयोगमा प्रहरी चौकीको सेवा क्षेत्रभित्र रहेको गाँजा खेती नष्ट गर्न सकिएकाले शान्ति सुरक्षा कायम गर्न हौसला प्रदान गरेको जाजरकोट प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्