सम्भावना बोकेको मेरो प्यारो सुदूर



विकासको दृष्टिकोणले सुदूरपश्चिम धेरै पछाडि परेको छ। २५ लाख ५२ हजारभन्दा बढी जनसंख्या रहेको यस प्रदेशमा २५ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनि छन्। ताराले देखेको पर्यटन र जडीबुटी प्रयोग गर्न सक्यो भने यस क्षेत्रमा उन्नति हुन समय लाग्दैन।

यस क्षेत्रमा रहेका तालहरूमा कैलाली जिल्ला घोडाघोडी ताल विश्व सम्पदा सूचीमा सूचीकृत सीमसार क्षेत्रको रूपमा परिचित हुनुका साथै धार्मिक दृष्टिकोणले समेत प्रशिद्ध छ।
कञ्चनपुर जिल्लामा रहेको झिलमिला ताल, बेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताल आदि छन् भने डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको बीचमा रहेको खप्तडताल यस क्षेत्रको प्रमुख पर्यटकीय आकर्षणको रूपमा रहेको छ।

यातायातका सुविधाबाट वञ्चित रहेको यस क्षेत्रमा यातायातको लागि सडक सञ्जाल पुर्याउन सके जनताको आर्थिक उन्नति हुनुका साथै पर्यटनको विकास हुने पक्का छ। विभिन्न परम्पराबाट चिरपरिचित सुदूरपश्चिममा धार्मिक पर्यटनको हिसाबले धेरै सम्भावना बोकेको ठाउँ पनि हो।

यस क्षेत्रका बडिमालिका, खप्तड बाबा, त्रिरपुरासुन्दरी, उग्रतारा, भागेश्वर, घण्टेश्वर, बैजनाथ, शैलेश्वरी, गोदावरीलगाएत धार्मिक पर्यटनको सम्भावना बोकेका ठाउँ हुन्। खप्तड, बूढीनन्दा देवी, शुक्लाफाँटा, सुर्मासरोवर ताल, महाभारत पर्वत, पाताल भूमेश्वर, घोडाघोडी ताल, अजयमेरुकोट, आलीताल, बेतकोट, व्यास हिमाल, सैपाल हिमाल, बडिमालिका, अपी हिमाल, रामारोशन क्षेत्र, दोधाराचाँदनी झोलुंगे पुल, कर्णाली पुल आदि यस क्षेत्रका प्रमुख पर्यटक स्थल हुन्।

गरिबीको दलदलमा फसेको सुदूरपश्चिमका अधिकांश युवाहरू भारतको विभिन्न ठाउँमा चौकीदारीलगायत होटलमा काम गर्न जाने गरेको पुरानै इतिहास हो। तर, हाम्रो प्यारो सुदूरपश्चिम यसबाट छुट्कारा पाउन सकेको छैन।

आफैं स्वावलम्बी बन्ने र कुनै कुरामा परनिर्भरता हुनु हुँदैन भन्ने त गरिन्छ तर जंगबहादुरको जस्तो काम गरी जनतालाई आत्मनिर्भर बनाउन सक्नुनै आमजनताको अपेक्षा हो। हाम्रो सुदूरपश्चिमको जति व्याख्या गरे पनि त्यति नै प्यारो लाग्छ।

पर्यटन र जडीबुटीलाई जनताको आर्थिक उन्नतिको बाटो मान्ने हो भने हामी कति धनी हुन्थ्यौँ होला। सरकारले यहाँका युवाहरूलाई जडीबुटी खेती गर्न प्रोत्साहन गरी भारतलगायत अन्य मुलुक जाने चलन रोक्न सके मात्र समृद्धिको बाटो अपनाउन सकिन्छ। सुदूरपश्चिमको विकासका लागि विदेश भ्रमणमा जानेहरूले कुनै चिनो र प्रविधि ल्याउन सकेनन्।

अरूको विकास र सम्पन्नता हेरेर रमाउने हामी सुदूरपश्चिमेलीलाई आफ्नै ठाउँको विकास हेर्ने रहर छ। पर्यटन, जडीबुटी, जलविद्युत्को सम्भावना देख्दा देख्दै पनि हामी किन यति धेरै पछाडि ? त्यसैले सरकारले पर्यटन, जडीबुटी, जलविद्युत्लाई एकैसाथ उपयोग गरी आफ्नै युवाहरूलाई रोजगारी दिन सके गरिबीको रेखामुनि रहेका जनतालाई माथि उकास्न सकिन्थ्यो कि ? यो मेरो मात्र सपना होइन, आमसुदूरको सपना हो।

– लालकृष्ण विष्ट, महेन्द्रनगर।

प्रतिक्रिया दिनुहोस्