ओलीको धोकेबाजी, निराश प्रचण्ड



यती बेला नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तनावमा देखिन्छन्। पार्टी एकतामा पार्टीकै अर्का अध्यक्ष केपी शर्मा ओली एवम् प्रधानमन्त्रीले आफूलाई धोकाको राजनीतिक खेल खेल्न लागेको पनि आरोप लगाउन शुरू गर्न थालेका छन्।

पार्टी एकताका बेला दुवै अध्यक्षले आलोपालो गरी सरकार चलाउने साझेदारी गरेका ओलीले आफ्ना गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गर्न थालेपछि प्रचण्ड निराश देखिन्छन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोख्ने गरेको गाइँगुइँ सुनिन्छ।

पार्टी एकता गर्दाको समझदारी कार्यान्वयन हुनेमा पूर्वमाओवादी पक्ष सशंकित भएको खबरहरू पनि पत्रपत्रिकामा छापिन थालेपछि पार्टीभित्रै पनि चियोचर्चो शुरू भएको छ। समझदारी कार्यान्वयन गर्ने समय नआउँदै त्यसलाई प्रचारमा ल्याइएको भन्दै पूर्वएमाले समूह पनि असन्तुष्ट देखिन्छ।

दुई अध्यक्ष मिलेर आलोपालो सरकार चलाउने सहमति गरेकोमा तत्कालीन एमालेका पक्षधरबाट त्यस्तो कुनै छाँटकाँट नदेखिएपछि प्रचण्डले सचिवालय सदस्यहरूसँग छलफलसमेत शुरू गर्न थालेको पनि खबर छापिएका छन्। दाहालले पोखरेलसँग भेटघाट गरेको दुई दिनपछि वामदेव गौतम पनि माधव नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका थिए।

नेपाल र गौतमबीच धोकाको राजनीति गर्न नहुने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ। भनिन्छ, एक खोरमा दुई सिंह कहिल्यै पनि अडिँदैनन्। अहिले यति बेला नेपालको राजनीतिमा यस्तै भएको छ।

नेपाली जनताले हेर्न बाँकी नै छ एक खोरमा दुई बाघ, त्यो पनि पाँच–पाँच वर्ष। त्यसैले अहिले राजनीतिक छलफलका दौरानमा यस्तो सुनिन्छ। के ओलीले प्रचण्डमाथि धोकाको राजनीति शुरू गर्न लागेका हुन् र ?

– विशाल थापा, धापासी, काठमाडौं।

 

प्रतिक्रिया दिनुहोस्