झन् कुरूप बन्दै राजधानी



बढ्दो जनसंख्या, अव्यवस्थित सवारीसाधन र बिग्रे–भत्केको सडकका कारण राजधानी कुरूप बन्दै गइरहेको छ। नेताहरूले रेल ल्याउने, पानीजहाज ल्याउने जस्ता सपना सर्वसाधारणलाई बाँडेका हुन्छन्। यथार्थमा नेताका कुरा बोलीमा नै सीमित छ। राजनीतिक जन्जालमा यिनीहरू यति व्यस्त भइरहेका हुन्छन् कि कसैको सुझावका कुरा, लेख पढ्ने यिनीहरूलाई फुर्सद हुँदैन।

यिनीहरूलाई खाली आफ्नो सत्ता लम्ब्याउने र राजनीतिक कलहमा अल्झिराख्नमा नै आनन्द आउँछ। वास्तवमा भन्ने हो भने, यहाँ देश चलाउने भनौं वा नेताहरू भनौं, ज्यादै बाठा तथा धुर्त हुन्छन्। कारण आफ्नो फाइदाका लागि हरेक राजनीतिक सम्झौतामा एउटा न एउटा अंकुश लगाइराखेका हुन्छन्।

जसले गर्दा राजनीतिक कलह सधैँ लम्बिराखेको हुन्छ। यसको असर मुलुकलाई परिराखेको हुन्छ, जनतालाई सास्ती खेप्नुपर्ने बाध्यता कायमै रहन्छ। तर यिनीहरूलाई भने खासै असर परिराखेको हुँदैन। कारण यिनीहरू हरेक दृष्टिकोणले पहलमानजस्तै बलियो भइराखेका हुन्छन्।

मुलुकको विकास होस्, समृद्ध जीवनयापन गर्न पाऊँ, स्वस्थ जीवन बाँचौँ भन्ने चाहना कुनचहिँ नागरिकसँग नहोला र ? सर्वप्रथम राजधानीका कुरा गर्दा क्रसिङ ब्रिजहरूको मर्मत तथा रंगरोगन हुनु आवश्यक छ। फोहोर, जथाभावी पसलहरू अनि दुर्घटना आदिले गर्दा यो ठाउँको वातावरण नै नरमाइलो लाग्छ।

सरकारले छिटोभन्दा छिटो यसतर्फ ध्यान पुर्याउनु जरुरी छ। यसै सन्दर्भमा कुरा गर्दा, न्यूरोड गेट साइडमा पनि प्रायः दुर्घटना भइरहने हुँदा न्यूरोड ढोकालाई नै सानो क्रसिङ ब्रिज बनाइदिँदा हरतरफबाट सुविधा हुनेछ। तर यसको लागि सम्पदा तथा पुरानो सोचलाई छोडी बाटो काट्ने पुल सम्बन्धित निकायले बनाउनु जरुरी छ। अनि मात्र यहाँका दुर्घटनाहरू कम हुँदै जानेछन्।

अब त संघीयता आएको पनि धेरै भइसक्यो। अब त सातै वटा राजधानीको समग्र विकासमा ध्यान दिनुपर्ने हो। त्यसैले अब सरकारले राजधानीको विकास कसरी गर्ने हो भन्ने केन्द्रबाटै शुरू गर्न अत्यन्तै जरुरी छ। अन्यथा संघीयताको नखरा जनतालाई अपच हुनेछ, झुसिलो डकारजस्तै।

– सुनीता निरौला, एकान्तकुना, ललितपुर।

प्रतिक्रिया दिनुहोस्